रंगीन मोनिका

ग्ल्यामर भनेको के हो ? प्रश्न खस्न नपाउँदै हल्का लजाइन् मोनिका दाहाल । अनि, फोटोसुटका लागि तयारी पोजमा रहेकी उनले बौद्धिकता देखाइन्, ‘ग्ल्यामर भनेको आकर्षण हो, जुन हरेक मान्छेमा हुन आवश्यक छ ।’ आकर्षक मान्छेले नै सबैको ध्यान खिच्न सक्छ ।’ टेलिचलचित्र चेतनाबाट कलायात्रा अगाडि बढाएकी उनले कलाकारिताको रंगीन मार्गमा केही दूरी पार गरिसकेकी छन् । अनि, सँगसँगै बढिरहेको छ उनको शैक्षिक अध्ययन पनि । चेतनादेखि यो अवस्थासम्म आइपुग्दा रुद्राक्ष, वर्षाद, धर्मयुद्ध, नाइट क्विनजस्ता चलचित्र उनका उपलब्धि हुन् ।
बाटोमा हिँड्दा कसैकसैले आफूलाई ‘क्या च्वाँक’ भनेको पनि सुनेकी रहिछन् उनले । त्यस्तो सुन्दा मख्ख पर्ने यी सुन्दरी ‘सेक्स’ लाई भगवानले दिएको अमूल्य उपहार ठान्दिरहिछन् । फेरि लजाउँदै सुनाइन्, ‘साथीहरूसँग बसेर मोबाइलमा सेक्स मुभी हेरेकी छु ।’ तर, उनले अहिलेसम्म सेक्सको अनुभवचाहिँ लिएकी छैनन् रे † किन त ? उनी लजाइरहेकै छिन्, ‘म त बिहेपछि मात्रै त्यस्तो अनुभव लिने हो ।’ कलाकारिता उनको सोख हो तर यसमा मात्रै लागेर जीवननिर्वाह गर्न सकिएलाजस्तो चाहिँ उनलाई पनि लाग्दो रहेनछ । ‘काम पाए पनि चलचित्र क्षेत्रमा आर्थिक शोषण हुँदो रहेछ, त्यसैले जीविका चलाउनै गाह्रो,’ भन्छिन्, ‘त्यसका लागि अरू नै व्यवसाय अँगाल्नुपर्ला जस्तो छ ।’ राम्रो केटा पाए घरजम गर्ने विचार पनि बनाउँदै गरेकी मोनिका चलचित्रमा अभिनयका अलावा साथीसँगी अनि परिवारसँग घुम्न मन पराउँदिरहिछन् ।

प्रतिक्रिया