इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, २२ वैशाख । वैदेशिक रोजगारीका लागि नेपाली कामदारको आकर्षक गन्तव्य इजरायलमा कामदार पठाउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । अन्य मुलुकभन्दा बढी पारिश्रमिक र राम्रो सेवासुविधा हुने भएकाले सरकारले इजरायलमा नेपाली कामदार पठाउने वातावरण बनाउन थालेको हो ।
इजरायलको ६४औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारीका लागि विधिसम्मत तरिकाबाट इजरायललाई खुलाउनुपर्ने र यसका लागि आवश्यक पहल भइरहेको बताए । इजरायल नेपाली कामदारका लागि आकर्षक मुलुकका रूपमा रहेकाले पनि त्यहाँ कामदार पठाउन पहल भइरहेको उनको भनाइ छ ।
इजरायलमा कामदारका लागि तालिम दिन सूचीकृत भएका सस्था २३ वटा पुगेका छन् । अहिलेसम्म इजरायलमा गएर नेपाली कामदारले कुनै दु:खकष्ट भोग्नु नपरेको भट्टराईको तर्क छ । नेपाली कामदार इजरायल पठाउनका लागि सरकारले स्वीकृत भने दिइसकेको छैन ।
इजरायलमा गएर ‘केएर गिभर’ का लागि भाषागत तालिम, अभिमुखीकरण तालिमको लागि विभागले व्यवस्था गरेको छ । वैदेशिक रोजगार प्रर्वद्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले इजरायलका रोजगारदाताले नेपाली कामदारको प्रशंसा गरेको भन्दै इजरायलप्रति नेपाली कामदारको माग पनि बढिरहेको बताए । सरकारले सहज रूपमा कामदार पठाउन नसकेकाले भारतबाट नेपाली कामदार इजरायल जाने क्रम बढेको उनको भनाइ छ ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता एवं सदस्य मोहना अन्सारीले विदेशमा जाने नेपाली महिला कामदारहरू यौन शोषण तथा घरेलु हिंसामा परिरहको भन्दै त्यसतर्फ सरोकारवालाहरू सचेत हुनुपर्ने बताइन् । अधिकांश वैदेशिक रोजगारीमा गएका महिलाको अभिलेख नै नरहने गरेको भन्दै उनले सरकारले महिला कामदारहरूका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
इजरायलका लागि नेपाली राजदूत प्रल्हाद प्रसाँइले नेपालीका लागि इजरायल सुरक्षित गन्तव्यका रूपमा रहेको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले सरकारले नेपाली कामदारका लागि सहज रूपमा इजरायल जाने बाटो फुकाउनुपर्नेमा जोड दिए । इजरायल सरकारले भिसा शुल्क तथा अन्य शुल्क नि:शुल्क गरे म्यानपावर कम्पनीले दुई सय डलरमा नेपाली कामदार पठाउन तयार रहेको उनको भनाइ छ ।

प्रतिक्रिया