क्रिकेटर भत्ता अन्योलमा

काठमाडौं, २२ वैशाख । सिनियर राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई भत्तास्वरूप मासिक पाँच हजार रुपियाँ दिने भनी नेपाल क्रिकेट संघ (क्यान) ले ६ महिनाअघि गरेको निर्णय बिहीबार मात्र कार्यान्वयन भयो तर कार्यान्वयन भएकै दिन अगाडि के हुन्छ भन्नेमा अन्योल देखिएको छ ।
अनुबन्ध गर्दाखेरि नै ६ महिनाका लागि भनिएका खेलाडीलाई राष्ट्रिय टोलीमा रहेको आधारमा सम्पूर्ण अवधिको रकम प्रदान गरिएको हो । गत मंसिरदेखि लागू हुने गरी भएको निर्णयअनुसार १४ सिनियर खेलाडी यसबाट लाभान्वित भएका हुन् ।
तर प्रत्येक महिना १४ सिनियर खेलाडीलाई तलब–भत्ता दिने भनी गरिएको निर्णय आगामी दिनमा कार्यान्वयन हुने/नहुनेमा शंका उत्पन्न भएको छ । ‘हाम्रो स्रोत साधनअनुसार सुरुमा ६ महिनाका लागि मात्र दिने निर्णय भएको हो,’ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भने, ‘आगामी दिनमा कसरी दिने भन्ने विषयमा अर्को निर्णय हुनेछ ।’ क्यानको गत १ मंसिरदेखि सुरु भएको जारी अनुबन्धन यही ३० वैशाखमा सकिंदै छ । खेलाडीले बिहीबार मात्र अनुबन्धनपत्रमा औपचारिक हस्ताक्षर गरेका थिए ।
क्यानले खेलाडी तलब–भत्तासम्बन्धी १८ चैतमा जारी गरेको निर्देशनअनुसार यो अनुबन्धन जुनसुकै बेला विनासर्त खारेज हुन सक्ने उल्लेख छ । त्यस्तै, तलब पाउने खेलाडीले क्यानको हितविपरीत कार्य गर्न नहुने, खेलमैदानमा अनुशासनहीन काम गर्न नहुने र त्यस्ता कार्यलाई प्रोत्साहन गर्न नहुने उल्लेख छ ।
क्यानले १ मंसिरदेखि भत्ता दिने निर्णय गरेयता एसिसी टी–ट्वान्टी प्रतियोगिता र आइसिसी टी–ट्वान्टी विश्वस्तरको छनोट गरी दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता भएका थिए । गत वर्षको डिसेम्बरमा एसिसी टी–ट्वान्टी र गत मार्चमा आइसिसी टी–ट्वान्टी विश्वस्तरको छनोट आयोजना भएको थियो ।
६ महिनाकै तलब पाउने खेलाडीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, पृथु बास्कोटा, वसन्त रेग्मी, सन्जम रेग्मी, मेहबुब आलम, अनिल मण्डल, प्रदीप ऐरी र अमृत भट्टराई रहे । आइसिसी टी–ट्वान्टी विश्वस्तरको छनोटमा पर्न असफल विनोद भण्डारी, सुभाष खकुरेल, विनोद दास र राहुलकुमार विश्वकर्माले पनि करिब चार महिनाको तलब पाए भने आइसिसी टी–ट्वान्टी विश्वकप छनोटमा मात्र टोलीमा परेका शक्ति गौचन, कृष्ण कार्की, परेष लोहनी र चन्द्र साउदले पनि करिब दुई महिनाको तलब पाए ।
क्यान अध्यक्ष्य टंक आङबुहाङले खेलाडीको मासिक भत्ता वृद्धिका लागि आगामी दिनमा पहल गरिने बताए । यसैबीच आइसिसी टी–ट्वान्टी विश्वकप छनोटमा सातांै स्थान हात पारेको नेपाली टोलीका सबै १४ खेलाडीलाई जनही १० हजार रुपियाँ पनि प्रदान गरिएको छ । यसमा दुई अफिसियलले पनि सो रकम पाए । त्यस्तै गत वर्ष आइसिसी यु–१९ विश्वकप छनोटमा नेपाललाई सफल बनाउने राष्ट्रिय टिमका खेलाडीलाई पनि जनही १० हजार रुपियाँ दिने निर्णय गरिएको छ । नेपालमा फुटबलमा मात्र नियमित राष्ट्रिय खेलाडीले मासिक भत्ता पाइरहेका छन् ।

क्रिकेट खेलाडी कल्याणकारी कोष स्थापना 

क्रिकेटरका लागि क्यानले बिहीबार खेलाडी कल्याणकारी कोष स्थापना गरेको छ । क्यान अध्यक्ष आङबुहाङले बिहीबार आयोजित अनुबन्धन कार्यक्रममा उक्त कोष उद्घाटन भएको औपचारिक घोषणा गरे । कोषमा १० लाख रुपियाँ रहेको क्यानले जनाएको छ । केही साताअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एक करोड रुपियाँभन्दा बढी रकमको खेलाडी कल्याणकारी कोषको स्थापना गरेको थियो ।
‘यो कोष खेलाडीको कल्याणमा केन्द्रित हुनेछ,’ क्यान अध्यक्ष आङबुहाङले भने, ‘खेलाडीको विकासका लागि क्यानले विभिन्न कार्यक्रम गरिरहेको छ । हामी अहिले अस्थायी क्रिकेट एकेडेमी बनाउने तयारी गरिराखेका छौं । त्यस्तै महिला र पुरुष खेलाडीका लागि छुट्टाछुट्टै बसको व्यवस्था पनि गर्दै छांै ।’
कार्यक्रममा राखेप सदस्य–सचिव युवराज लामाले यस वर्ष क्रिकेटलाई बजेटमा पहिलो प्राथमिकताको खेलअन्तर्गत राख्दै मैदान निर्माणमा केन्द्रित रहने जानकारी दिए । ‘जनसहभागिता ठूलो र पदक जित्न पनि सम्भावना भएकोले क्रिकेटलाई बजेटको पहिलो प्राथमिकतामा राख्यौं,’ उनले भने, ‘क्रिकेटमैदान निर्माण गर्न हाम्रो लगानी केन्द्रित हुनेछ ।’

प्रतिक्रिया