चोभार डाँडामा नायक–नायिकाको चर्काचर्की

काठमाडौं, २२ वैशाख । राजधानीनजिकैको चोभार डाँडो । त्यहाँको डरलाग्दो भीरमा मानिसको बाक्लै भिड थियो बिहीबार । कोही यताउति दौडिरहेका कोही सिरियस मुडमा मोबाइलमा गफ गरिरहेका । टाढाबाट देख्दा कुनै ठूलै घटना भएजस्तो ।

भीडको केन्द्रविन्दु रहेछन्– एकजोडी केटाकेटी । जो गज्जबले डिस्कस गरिरहेछन् । शब्दहरू सुन्दा प्रस्टिन्थ्यो– मामिला प्रेमको हो । केटो भन्दै थियो, ‘म तिमीबिना बाँच्न सक्दिनँ ।’ केटी जवाफ फर्काउँदै थिई, ‘मैले तिमीलाई कहिलै पनि माया गरेकी छैनँ, तिमी त मेरो मिल्ने साथी मात्र हौँ ।’ उनीहरूको डिस्कसले झनै उग्र रूप लिँदै छ । केटो एक्कासि गर्जिन्छ, ‘तिमी मेरी हुन सकिनौ भने अरू कसैको पनि हुन दिन्नँ ।’ केटो केटीलाई च्याप्प समातेर भिरबाट फाल्न तयार भइसक्यो । रमिता हेरिरहेका मान्छे बचाउने सुरसारै गर्दैनन्, कोहीकोही त आवाज ननिकाली हाँसिरहेका पो छन् । कतैबाट आवाज आयो, केटीलाई भिरबाट फाल्न आँटेको केटालाई उसलाई छोडिदियो, उसको आवेश अब शान्त भइसक्यो, अनुहार उज्यालो छ । केटी पनि मुसुक्क हाँस्दै सामान्य अवस्थामा आइसकी ।
प्रसंग हो– चलचित्र प्ले गल्र्सको । निर्देशक विजयविक्रम बस्नेत बिहीबार चोभारमा सोही चलचित्रका लागि एक्सन–कट गरिरहेका थिए । ती केटाकेटी थिए, नायक यदुसुदन कुँवर र नायिका पेसला कटुवाल ।
‘आफ्नी प्रेमिकाले अर्कैसँग बिहे गर्न लागेको थाहा पाएपछि केटाले अन्तिमचोटि भेट्न बोलाउँछ । त्यही भेटमा आफ्नो नभए कसैको हुन दिन्नँ भन्दै भिरबाट फाल्न खोज्छ,’ उक्त दृश्यको चलचित्रसँग सम्बन्ध सुनाउँदै निर्देशक बस्नेतले प्रस्ट्याए । यसपछि के हुन्छ त ? ‘अहँ, भन्दिनँ, मेरो चलचित्रको सस्पेन्स भनेकै यसपछाडिको सिन हो, अहिल्यै खोल्यो भने मजा आउँदैन ।’ विजयले उत्सुकता बढाइदिए । ‘केटा फेर्दै हिँड्ने धनी बाउकी एक्ली छोरीको भूमिका निर्वाह गरेकी छु,’ पेसलाले भनिन्, ‘चलचित्रको टाइटलअनुसार मै हुँ प्ले गर्ल ।’
टाइटलअनुसार चलचित्रमा हटसिन पनि निकै होलाजस्तो छ नि ? उनले सुनाइन्, ‘होइन–होइन, नाम मात्रै त्यस्तो हो, विषयवस्तु त पूरै पारिवारिक नै हो ।’ नायक यदुचाहिँ वास्तविक माया गरेकी प्रेमिकाले युज गरेर पछि छाडिदिने केटाको भूमिका निर्वाह गरेको सुनाउ भन्दै थिए ।
इलाम, झापा, सर्लाही, धरान हुँदै चलचित्र युनिट छायांकनका लागि काडमाडौं छिरेको हो । छायांकन अन्तिम चरणमा पुगेको निर्माता समीरकुमार खड्काले बताए । उनले भने, ‘३० दिनको छायांकन सेड्युल राखिए पनि २६ दिनमै सकिएलाजस्तो छ ।’ विकास चौधरीको संगीत रहेको सो चलचित्रमा द्वन्द्व राजुजंग थापाको छ भने छायांकन लोकचन्द्र थापाले गरेका छन् । साउन–भदौतिर चलचित्र रिलिज गर्ने लक्ष्य रहेको निर्देशक बस्नेत बताउँछन् ।

प्रतिक्रिया