कागको जस्तै चेष्टा हुनु, बकुल्लाको जस्तै ध्यान हुनु, कुकुरको जस्तै निद्रा हुनु अनि थोरै खानु र घर छोड्नुजस्ता कुरालाई विद्यार्थीका आदर्श गुणका रूपमा लिइन्थ्यो कुनै बेला । समयको बदलावसँगै विद्यार्थीका यी आदर्श गुण र व्यवहारको समीकरण उति मिल्दो बनेन । जमानाले कोल्टे फेरे पनि आदर्शको महत्त्व आफ्नै हुन्छ । व्यवहारमा रूपान्तरित भएपछि मात्र त्यसले मूर्तता पाउँछ । अहिलेका विद्यार्थीको होस्टेल लाइफ भने उपर्युक्त गुणहरूसँग केही हदसम्म मिल्न खोज्छ । ठीक समयमा ठीक काम गरेर तालिकाबद्ध हुनुपर्छ होस्टेलका विद्यार्थीले । अनि त्यहीँ आफ्ना उद्देश्य पूरा गर्न घोत्लिनु त छँदै छ ।
कक्षा ११ को विज्ञान संकायको परीक्षाको चटारोबीच भेटिए नयाँबानेश्वरस्थित लिभरपुल इन्टरनेसनल कलेजका होस्टेलवासी विद्यार्थी । त्यहाँ बस्नुको एउटै उद्देश्य छ उनीहरूको– ‘राम्रोसँग पढ्नु, राम्रो नम्बर ल्याउनु ।’ अनि पढ्नुको अर्को विकल्प पनि त छैन । होस्टेलबाहिरको बिन्दास लाइफ उनीहरूलाई मतलब लाग्ने कुरा पनि भएन । झापाको दमकदेखि पढ्नैलाई आएका १८ वर्षे विक्रान्तविक्रम खरेल भन्छन्, ‘परिवारसँग टाढिएर पढ्न थालेको दुई वर्ष भइसक्यो, पढ्नै परिहाल्यो नि ।’
होस्टेल बस्दा बुटवलकी १७ वर्षीया सृष्टि थापालाई परिवारको याद आउँदो रै’छ बेलाबेलामा । तर, त्यो याद कम गर्न होस्टलको वातावरणको सपोर्ट भने छ रे, एउटा पारिवारिक वातावरण । भन्छिन्– ‘टिचरदेखि साथीहरू सबै फेमिलियर हुनुहुन्छ ।’ पूर्व झापाका सुसन ढकालदेखि पश्चिम धनगढीका दीपेश चौधरीसम्म अटाएका छन् लिभरपुलको होस्टेलमा । सबै जना आ–आफ्नै पृष्ठभूमि अनि संस्कृतिमा रमाएर आएका । यहाँ पनि सबै मिलेर रमाएरै बसेका छन् । ‘सुरुसुरुमा त धनगढीको भाषा र लवज मैले बुझ्नै सकिनँ तर अहिले प्रोब्लम छैन’ –पूर्वी कुनो झापाका सुसनले सुनाए । बुटवलका सुरज श्रेष्ठ र सिन्धुलीका टीकादत्त पहाडी एकअर्काका संस्कृति र शैली बुझ्न पाएरै मख्ख छन् होस्टेलमा । ‘एक दिन बुटवलको एउटा साथीले टाउकाबाट बस आयो भन्यो, म त अलमल्लै परेँ । पछि थाहा भयो, उनीहरू बासनालाई बस भन्दा रहेछन्’ –टीकादत्तले हँसाए । उनीहरू आफ्नो होस्टेललाई ‘ग्लोबलाइजेसन’को विम्बको रूपमा लिँदा रहेछन् ।
गल्र्स होस्टेलचाहिँ ब्वाइज होस्टेलको तुलनामा स्वतन्त्र नभएको अनुभव सुनाउँदै थिइन्, झापाकी १६ वर्षीया पारु खड्का । ‘सानो सपिङका लागि बाहिरिनुपर्दा पनि खास ‘पर्मिसन’ लिएर मात्र निस्कनुपर्छ हामी त’ –उनले गुनासो सुनाइन् । गल्र्स होस्टेललाई कलेजको कम्पाउन्डमै बेरिएको रहेछ । उनीहरू त्यही कम्पाउन्डको अनुशासनभित्र बस्नुपर्छ । ‘हाम्रो समाजको नेचर नै त्यस्तै छ, यत्तिको ‘स्ट्रिक्ट’ सहनै परी गो नि’ –सृष्टिले चित्त बुझाइन् । ‘होस्टेलका केटा र केटी सँगै देख्दा पनि असहज लाग्छ सरहरूलाई’ –पारुको गुनासो पनि उस्तै छ । यद्यपि, उनीहरू सबैबीच राम्रो मित्रता रहेछ । अनि झगडाचाहिँ कत्तिको पर्ला त ? ‘हाम्रो झगडा नै परेको छैन,’ प्रश्न खस्न नपाउँदै उत्तर आयो । ‘केही मनमुटाब परिहाल्यो भने नि दुई घन्टा बोलिँदैन, तेस्रो घन्टामा त न्यास्रो लाग्छ अनि नबोलेर सुख †’ स्याङ्जाका सन्तोष अर्यालले सुनाए । मनोज बस्याल मुसुक्क मुस्काए ।
होस्टेलमा सबैले एउटै मेसमा खानुपर्छ । ‘सानो परिवारमा मीठो गरी खाएजस्तो त के हुन्थ्यो र सधैँ ?’, पारुले भनिन् । खानेकुरामा कहिलेकाहीँ हल्काफुल्का हुने ‘कम्प्लेन’लाई यी विद्यार्थीले सामान्य रूपमा लिए । होस्टेलमा अरूले बनाएको खाना खाँदाखाँदा हत्तू भएका यी विद्यार्थीलाई कहिलेकाहीँ आफैँ खाना बनाऊँ कि जस्तो मुड पनि चल्दो रहेछ । तर, कत्तिलाई खाना बनाउनै आउँदैन रे † ‘आ.. खाना बनाउन सिक्नलाई त टाइम पनि हुनपर्यो नि, पढेर नै फुर्सद हुन्न,’ पारुले अप्ठ्यारो सुनाइन् । कलेजमा राम्रो नतिजा ल्याउनेमा होस्टेलका विद्यार्थी नै अगाडि रहेछन् । ‘धेरै पढ्ने खालको विद्यार्थी होस्टेलमा आएको हो कि होस्टेलमा बसेर धेरै पढिएको हो, कन्फ्युजै हुन्छु म त,’ विक्रान्तले हँसाए । होस्टेलमा पढाइ मात्र होइन, बेलाबखत रमाइलो पनि चल्छ । कसैको बर्थडे पर्दा सरप्राइज पार्टी हुन्छ । चाडपर्वमा घरमा गरिनेजस्तै रमाइलो पनि । धनगढीमा मनाइने माघी र गौरादेखि काठमाडौंको घोडेजात्रासम्मको रमाइलो आफ्नै शैलीले मनाउँछन् यी विद्यार्थी ।
प्रतिक्रिया