“नेपाली हस्तकलासँग बेरोजगारी घटाउने सामथ्र्य छ”


अहिलेसम्म मैले जीवनका २२ वर्ष मात्रै पार गरेकी छु । शैक्षिक हिसाबले साइन्स र आमसञ्चार अध्ययन गरेकी हुँ । दिल्लीको नोयडा फिल्मसिटीस्थित ‘एसिया स्कुल अफ मिडिया स्टडिज’ कलेजबाट आमसञ्चारमा डिप्लोमा गरेँ । हाल साउथ एसिया फाउन्डेसनमा विकास अधिकृतका रूपमा कार्यरत छु । हाम्रै संस्थाले नेपालको राजधानी काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत हस्तकला महोत्सव’ सम्पन्न गर्न यहाँ आएकी हुँ । यही संस्थाले नेपालमा पहिलोपटक वैधानिकता लिएर काम गरिरहेको छ ।
जीवनको कलिलो उमेरमै मैले एउटा सम्भावना देखे, भोगेकी छु । हाम्रो संस्थाले नेपाल पर्यटन बोर्ड, भारतीय राजदूतावास र गोवा सरकारको सहयोगमा पहिलोपटक यहाँ
(नेपालमा) हस्तकला प्रदर्शनी आयोजना गरेको हो । संस्थाले भारतका विभिन्न सहरमा गर्ने यस्ता कार्यक्रमलाई सफलता दिन मैले अहोरात्र काम गरेकी छु । यी सबै जिम्मेवारी र यसपटक नेपालमा आयोजित कार्यक्रमले मेरो मनमा ठूलो आशाको सञ्चार गराइदिएको छ । मैले यहाँका मन्दिर, देवलहरूमा ‘उड आर्ट’ देखेँ, जो विश्वमै अद्वितीय छन् । यहाँको हाते कागजमा प्रचूर सम्भावना रहेछ । बाँस र बेतका सामग्रीले मलाई साह्रै लोभ्याए ।
यो देखिरहँदा यहाँको शिक्षानीति कस्तो छ मलाई थाहा छैन । तर, शिक्षामा ‘हस्तकला’लाई समावेश गर्न सकिए नेपालको आधा बेरोजगारी हटेर जानेमा भने शंका छैन । धर्म, संस्कार, संस्कृति र लवाइखवाइका हिसाबले नेपाल र भारतबीच धेरै समानता छ । यो समानतालाई अझै सुमधुरतामा परिणत गर्ने हो भने यहाँ र त्यहाँको कल्चरल ‘क्रस’ गरेर हामी दुवै देशका युवा पुस्तालाई स्वरोजगार बनाउन सक्छौँ । नेपालको हाते कागजमा मिथिला आर्ट मिसाउन सक्ने हो भने कथामा तेस्रो आयामको विकास हुनेछ । यहाँको काष्ठकलालाई भारतको स्रोतसाधन प्रयोग गरेर उद्योगका रूपमा विकास गर्ने हो भने हामी विश्वसमुदायलाई बजारका रूपमा विस्तार गर्न सक्नेछौँ । साउथ एसिया फाउन्डेसन नेपालमा दर्ता भएको संस्था भएकाले हामी यी र यस्ता ‘कल्चर डेभलपमेन्ट’का कार्यक्रममा सघाउन सक्छौँ । यसको फाइदा दुवै देशका समुदायले उठाउन सकेमा सैद्धान्तिक शिक्षालाई हामी रोजगारमूलक बनाउन सक्छौँ ।
आज नेपाल–भारत मात्र होइन, विश्वसमुदायकै युवा कामको खोजीमा छन् । नेपाली र भारतीय युवा एक अर्थमा भाग्यमानी छौँ, किनभने हाम्रा पूर्वजले तमामौँ हस्तकलाका उपाय र विद्या हामीसामु छाडेर जानुभएको छ । तर, ती अहिले लोप हुने अवस्थामा छन् । भारतमा निर्मित पन्जाबी ‘फुलकारी’, राजस्थानी कुर्ती, उडेनबक्स, बनारसी साडी, जुट ज्वेलरी, दिल्लीको पोट्रीका सौखिन नेपालमा धेरै रहेछन् । यी सबै कलामा नेपाली कालिगढी मिसाउन सके यसको ठूलो मार्केट भारत त हुन्छ नै, विश्वमै बजार विस्तार हुन सक्छ । नेपालका मौलिक सारंगी, चित्रकला, भांग्राको उत्पादन, हाते कागजमा कलात्मकता दिन सके यही नै रोजगारको गतिलो माध्यम बन्न सक्ने मैले देखेकी छु ।
आज नेपाल र भारतको नयाँ पुस्तामा कलाकारिताप्रतिको रुचि कम हुँदै गएको छ । यसो हुनुमा दुवै देशको शिक्षानीति ठीक छैन कि भन्ने लाग्छ । कलाकारिता र हस्तकलालाई सम्मान, अवसर र तालिम दिलाउन सकियो भने यो क्षेत्र उर्वर हुनेछ । यही उद्देश्यले साउथ एसिया फाउन्डेसनको सक्रियतामा हामीले दिल्लीका सरकारी केन्द्रीय विद्यालयमा ‘पोट्री’ शिक्षा अनिवार्य गराउँदै छौँ । यहाँका विद्यालयमा पनि ‘पोट्री’लाई अनिवार्य शिक्षाका रूपमा लागू गर्न सकियो भने यो व्यावहारिक शिक्षा मात्र हुने छैन, हाम्रो मौलिक पहिचानलाई समेत युगौँसम्म दिगो र जीवित राख्नेछ । रोजगारीको राम्रो अवसर बन्नेछ ।
नेपालका आर्ट क्षेत्रमा लागेका तमामौँ दिग्गज छन्, उनीहरूको सम्मान र अवस्था के छ ? मलाई त्यति ज्ञान छैन । तर, यस्ता प्रतिभालाई राज्यले उचित सम्मान र अवसर प्रदान गर्ने हो भने उनीहरूले यही आर्टले मुलुकलाई रोजगारी र पहिचानको ठूलो माध्यम दिलाउने पक्का छ ।
साउथ एसिया फाउन्डेसन अहिले भारतका हरेक गाउँमा लुकेको कल्चरलाई उजागर गर्न लागिपरेको छ । एउटा गाउँको कल्चर अर्को गाउँमा पुर्‍याउनाले जति फाइदा हुन्छ, धेरै कुराले समानता रहेको नेपाल–भारतको कलाकारितालाई क्रस गर्न सकियो भने त्योभन्दा बढी नयाँ सम्भावना उजागर हुन्छ भनेर हाम्रो संस्था सहकार्यमा जुटेको छ । नेपालको कलाकारितालाई भारतमा विस्तार गर्ने र त्यहाँको कलालाई यहाँ भित्र्याउने साँघुका रूपमा काम गर्नु नै संस्थाको उद्देश्य हो । हस्तकलामा रुचि भएका जो–कसैलाई थप उत्साह र अवसर प्रदान गर्न सकियोस् भनेर हामी प्रयासरत छौँ । यसमा दुवै देशका सरकारले पनि अग्रसरता देखाए आपसी संस्कृति विस्तारका साथै आम्दानीका बाटा पनि खुल्दै जानेछन् ।
प्रस्तुति : शिवराज योगी

प्रतिक्रिया