मत-विमत

जल्दै छ सुदूरपश्चिम

सौर्य अनलाइन २०६९ वैशाख २२ गते २:०२ मा प्रकाशित

त्यहीँका जनजातिलाई उचालेर जनताको आवाजलाई दबाउन सकिन्छ भन्ने बुझेकैले सुदूरपश्चिमका जनताको आवाजलाई केन्द्रीय नेताले भुसुनाको भुनभुन जति पनि ठानेनन् । यसअघि चितवनवासीको आवाजलाई पनि यसैगरी दबाउन नेताहरूले भित्रभित्रै कोसिस नगरेका होइनन् । नेताहरूले उल्क्याएकै भरमा चितवनका जनजाति जनभावनाविरुद्ध नउचालिएकाले मात्र चितवनका जनताको आवाज सुन्न केन्द्रीय नेताहरू बाध्य भएका हुन् । लेखराज भट्ट, शेरबहादुर देउवा र भीम रावलबाहेक सुदूरपश्चिमका अधिकांश नेता विभाजित गर्ने, भिडाउने र आफू भाले हुने खेलमा लागेका रहेछन् । नेपाल नागरिक समाज, कैलालीका धर्मराज पाठकले भने, ‘यी नेता आन्दोलनकारी जनताछेउ पुगेका बेलामा तपाईंहरूले जति आन्दोलन चर्काउनुहुन्छ त्यति संघीयताको खाकामा सुदूरपश्चिमलाई अखण्ड राख्न हामीलाई सजिलो हुन्छ भनी तताउँदा रहेछन् । जनजाति भन्नेहरूबीच पुग्दा कैलाली र कञ्चनपुरलाई नछाड्नोस् है, अब भोलिका दिनमा तपाईंहरूले नै राज गर्ने हो भन्दारहेछन् ।’ ‘डिभाइड एन्ड रल’ ब्रिटिसहरूको पुरानो ‘ट्याक्टिस’ हो । नेपाली जनताको चेतनास्तर अठारौँ शताब्दीको भएकाले हाम्रा नेताले त्यही थोत्रो नीति यहाँ प्रयोग गरिरहेछन् ।
नेपालका नेताको द्वैध चरित्र अचम्मको छ । जनताको भावनालाई कुल्चेर जनताकै नाममा शासन गर्छन् । जनताले ‘स्थानीय निकायलाई सक्षम बनाऊँ र अधिकार थपौँ’ भनेका थिए तर नेताहरूले भइराखेको अधिकारसमेत घटाउने गरी संविधान बनाउन लागे । सम्पूर्ण अभिलेख, इतिहास र प्रमाणले बाहुन, क्षत्री यो देशका १ नम्बर आदिवासी हुन् भनिरहेछन्, तर ‘अन्य’मा मिल्काइएका छन् । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक (मिथिला राज्य संघर्ष समितिका संयोजक) परमेश्वर कापडी भन्नुहुन्छ, ‘त्यसबेला पनि मिथिलाकै लागि आन्दोलनमा उत्रिएका थियौँ तर नेताहरूले एक मधेस एक प्रदेशतिर लगे । तराईमा जबर्जस्ती हिन्दी भाषा लाद्न खोजे । मैथिली, भोजपुरी, अवधी हाम्रा मातृभाषा हुन् । हिन्दी यहाँ कसको मातृभाषा हो ? कुन गाउँमा हिन्दी बोलिन्छ ? नेताहरूले मधेस–मधेस भन्दै ‘भाँडमा जाओस् मिथिला’ भन्न थाले ।’ मिथिला राज्यका लागि शान्तिपूर्ण धर्नामा बसेका मिथिलावासीलाई लक्षित गरेर बम विस्फोट गराए । मिथिलावासीको भावना कुल्चेर एक मधेस एक प्रदेश भन्ने र हिन्दी भाषा लाद्न खोज्नेहरूले नै बम विस्फोट गराएको हो भनेर सबैले अनुमान गरेका छन् ।
पपुलिस्ट राजनीति र दाउपेचको खेल कति चर्को छ भने आफ्नो राजनीतिक स्वार्थमा असर पर्ने भयो भने आगोजत्तिकै पोल्ने सत्य भए पनि सर्लक्कै पन्छाउँछन् । केही महिनाअघि त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागले ‘जातीयता र संघीयता’ को विषयमा बृहत् गोष्ठी गरेको थियो । करिब–करिब सबैजसोले जातीय राज्य बनाउनु हुँदैन भनेकाले त्यो सेमिनारको प्रतिवेदनलाई लुकाउन लगाइयो । नेकपा एमालेको प्रतिनिधि परिषद्को सम्मेलनमा ११ समूहमध्ये १० समूहले सर्वसम्मतिबाटै जातीय राज्यको विरोध गरेको थियो । त्यस्तो सर्वसम्मत निर्णयलाई समेत एमाले नेतृत्वले गुपचुप राखेको छ । जनवरी २०१० को एउटा बैठकमा सभासद् लक्की शेर्पाले शेर्पा र भोटे जातिका लागि छुट्टै राज्य हुनुपर्छ भनी राखेको प्रस्तावलाई सबैले स्वीकार गरे । तर, त्यही बैठकमा काभ्रे पूर्व र ओखलढुंगा पश्चिमको बेल्टमा बसोबास गर्ने कोइच, थामी, बाहिङ, हायु, जेरो, सुरेल, तिलुङ, जिरेल र बाम्बुले जातका लागि सभासद् शान्ति जिरेलले अलग्गै राज्यको माग राख्दा कसैले सुनेन । यसको कारण एउटै थियो, शेर्पा र भोटेहरू संगठित र एकढिक्का भएर आएकाले उनीहरूभित्र फुट पार्न सम्भव थिएन । तर, शान्ति जिरेलले प्रस्ताव गरेको बेल्टका ती जाति संगठित भइनसक्दै फुटको बीउ रोपिसकिएको थियो ।
त्यस्तै बाहुनलाई ‘अन्य’मा मिल्काइदिनाको कारण पनि त्यही हो । बाहुनहरू दम्भी, अहंकारी र आत्मकेन्द्रित जात हुन् । यिनीहरू सधैँ ‘एक्लेवीर’ हुन खोज्छन् । एउटा पण्डितले अर्को पण्डितलाई देख्न त के नामसमेत सुन्न चाहँदैन । एउटा बाहुनले अर्को बाहुनलाई बाहुनको नजरले हेरेको आजसम्म कहीँ देखिएको छैन । टिम कल्चर नभएकाले यिनीहरू एकढिक्का हुनु त परै जाओस् संगठित हुन पनि सक्दैनन् । यो कमजोरी बुझेरै बाहुनलाई ‘अन्य’तिर मिल्काइदिएका हुन् । नत्र त आजभन्दा १५४७ वर्षअघि राजा मानदेवले लेखाएको चाँगुनारायणको स्तम्भलेख, विसं. ६६२ मा शिवदेव र अंशुवर्माले लेखाएका लेलेका अभिलेख, नरेन्द्रदेवले लेखाएका अनन्तलिंगेश्वरको अभिलेख र लिच्छवी राजाहरूले गरिदिएका सनदपत्रहरूमा समेत प्रस्टसँग उल्लेख भएका बाहुन आदिवासी सूचीको १ नम्बरमा परिसक्थे । असंगठित भएकै कारणले यी प्रमाण संकलन गरेर माग राख्न, दबाब दिन र घचघच्याउन यिनीहरूले सकेनन् । भित्रभित्रै फुट पार्न सकिने भएकैले सुदूरपश्चिमका जनताको आवाज र मिथिलावासीको अनुरोधलाई हाम्रा नेताले लत्याएर पिठ्यूँ फर्काएका हुन् । सुदूरपश्चिमका फुटपरस्तहरूलाई हात लिएर जसरी त्यहाँका जनताको भावनालाई कुल्चन नेताहरू सफल भए, चितवनमा पनि फुटपरस्त फेला परेको भए चितवनको आवाजलाई यसैगरी दबाइदिन्थे । संगठित नभएकैले दनुवारलाई स्थान दिएनन् । सुरेल, कुसुन्डाहरू लोपोन्मुख छन्, तिनीहरूका लागि कस्सिएर बोलिदिने प्रभावशाली शक्ति नभएकाले राज्यको ध्यानाकर्षण भएन । तराईका चमार, झाँगड, मेचे, कोचे, ताजपुरिया, सन्थालहरू न्यून चेतना र असंगठित भएकैले राज्यको नजरबाट ओझेल परे ।
ताम्सालिङ भन्नासाथ भीमबहादुर तामाङ भन्नुहुन्छ, ‘त्यो ताम्सालिङ भन्ने क्षेत्रको मान्छे मै हुँ तर मसँग ताम्सालिङको कुरा नगर्नुहोस् । जातीय र साम्प्रदायिक नारा दिएर नेता भएका धेरैलाई हामीले हेरेका छौँ । तिनीहरू शक्तिको नजिक–नजिक आएपछि जुर्मुराएका छन् । तिनीहरूले हिजो के राजनीतिक योगदान र बलिदान दिए त ? ३० वर्षे पञ्चायतकालमा चुँसम्म बोलेनन्, राजभक्त भएर बसे । तिनीहरू नै जातीय र साम्प्रदायिक विद्वेष फैलाएर आज नेता भएका छन् ।’ एउटा खारिएका नेताको परिपक्व विचार यस्तो छ भने २१ गते बिहीबार बिहान उज्यालो एफएमले सुदूरपश्चिमका जनताले हाम्रो यति राज्य हुनुपर्छ भनी राखेको मागमा तपाईंहरू किन विरोध गर्नुहुन्छ भनी प्रश्न गर्दा सभासद् रेण्ु चन्दले ‘कैलाली र कञ्चनपुर थारूलाई दिने भनेर हामीले पहिल्यै वचन दिइसकेका छौँ’ भन्नुभयो । स्थानीय जनताको भावना, चाहना र आवाजलाई किचमिच गरेर कसले कसलाई दिने र जनतालाई सधैँका लागि धर्धरी रुवाएर कसले के प्राप्त गर्ने होला, जबर्जस्ती गरेर कैलाली र कञ्चनपुर कुनै एउटा जात विशेषले पायो नै भने पनि यी असंख्य जनताको आँसुमा मुछिएको राज्यले कसलाई कति फलिफाप गर्ला, यसतर्फ कसैले सोचेको देखिँदैन ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय