गलत सीमांकनले गाउँलेको उठिबास

विराटनगर, २२ वैशाख । हुलाकी मार्ग विस्तारका लागि गरिएको सीमांकनमा लापरबाही भएपछि केरौन गाविसका बासिन्दा समस्यामा परेका छन् । मोरङको रंगेलीदेखि उत्तर–पूर्व–पश्चिम राजमार्गलाई जोड्ने कानेपोखरी सडकखण्डको सीमांकनमा लापरबाही भएपछि एक दर्जन परिवारको घरजग्गा गुम्ने अवस्था आएको छ ।

स्थानीयवासी सोम अधिकारीले सीमांकन नसच्याए केरौन गाविसमा मात्रै एक दर्जन परिवारको जग्गा र घर मिचिने स्थिति आएको बताए । भौँसाबारी चौकमा खेतीयोग्य जमिनमा सडकका लागि एकतर्फी सीमांकन भएको पाइएको छ । ‘गलत सीमांकनले हाम्रो उठीबास हुने भयो,’ खेतमा गाडिएको किला देखाउँदै कुमार विकले भने । गाविस, मालपोत, सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर लिखित र मौखिक दुवै तरिकाले यसबारे जानकारी गराइसके पनि सीमांकन नसच्याइएको उनको भनाइ छ ।
हुलाकी सडक निर्माण आयोजनाको कार्यालय इटहरीका अनुसार अनुदानमा एक हजार पाँच सय ४० किलोमिटर सडक निर्माण गर्न काम थालिएको छ । जसमा मोरङ, झापा र सप्तरीमा पहिलो चरणमा सडक निर्माण हुँदै छ ।
सम्झौताअनुसार साबिकको बाटोबाट दुवैतर्फ ५०/५० फिट अपुग जग्गा अधिग्रहण गरिनुपर्छ । तर, त्यो नगरी प्राविधिकहरूले सीमांकन गर्दा एकतर्फी जग्गा मिचेको पाइएको केरौन गाविसका पूर्वअध्यक्ष भेषनाथ रिजालले बताए ।
पहुँचवालाले आफ्नो घरजग्गा जोगाउन प्राविधिकहरूको मिलेमतोमा गलत सीमांकन गराएको आरोप स्थानीय बासिन्दाको छ । ठेकेदार कम्पनी जेबिआर इन्फा कन्ट्रक्सनका हाइवे इन्जिनियर राजेश सिंह भने निर्देशनअनुसार आफूहरूले काम गरिरहेको दाबी गर्छन् । आयोजना कार्यालयले पहिले गलत भएकाले सच्याइएको जनाउँदै अहिले भने जग्गा नमिचिएको बताएको छ । उक्त सडक पहिलो चरणमा ६६ र दोस्रो चरणमा सय फिटको बनाउने योजना छ ।

प्रतिक्रिया