‘कोरियामा कामदार पठाउने प्रक्रिया गलत’


काठमाडौं, २१  वैशाख । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत कमानसिंह लामाले दक्षिण कोरियामा नेपाली कामदार पठाउने अहिलेको प्रक्रिया गलत भएकाले सुधार गर्नुपर्ने बताएका छन् ।
परीक्षामा उत्कृष्ट आधारमा पठाउँदा बढी शीक्षित जाने तर कोरियामा बढी काम गर्ने तल्लोस्तरको जनशक्ति आवश्यक रहेको भन्दै उनले तल्लोस्तरका जनशक्तिसमेत जाने गरी अहिलेको प्रक्रियामा परिवर्तन गर्नुपर्ने बताए । ‘काम गर्ने जनशक्ति गएन भनेर कोरियाका राजदूतलले मलाई गुनासोसमेत गरे,’ उनले भने ।  परीक्षाका आधारमा पठाउँदा बढी शीक्षित जाने भएकोले अहिलेको प्रक्रियामा परिवर्तन गरी शिक्षित र तल्लोस्तरका जनशक्तिका लागि छुट्टाछुट्टै प्रक्रिया र परीक्षा आवश्यक रहेकामा उनले जोड दिए ।
अहिले जाने अधिकांश शिक्षित र पढेलेखेका भएकाले उनीहरूले कोरियाले चाहेजस्तो कडा परिश्रम गर्न नसकेको भन्दै उनले तल्लोतहका श्रमिकलाई दक्षिण कोरिया पठाउनका लागि परीक्षा प्रक्रियामा सुधार गर्नुपर्ने बताए । कानुनी रूपमा जानपाउने व्यवस्था भए पनि अहिले दक्षिण कोरियामा २५ हजार नेपाली गैरकानुनी रहेको भन्दै उनले उनीहरूलाई निरुत्साहित गर्नतिर आफू क्रियाशील हुने बताए ।
२२ वैशाखमा दक्षिण कोरिया जान लागेका लामाले रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने बताउँदै आफूले देशको हितअनुरूप काम गर्ने बताए । जलविद्युत् क्षेत्रका निजी प्रवद्र्धकहरूले लामाको सम्मानमा राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले जलविद्युत् आयोजनाका लागि कोरियाली सरकारको लगानी प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा निजी प्रवद्र्धकहरूका तर्फबाट राजेन्द्रप्रसाद तिवारीले स–साना आयोजना बनाउन नेपालका नीजि प्रवद्र्धकहरु तयार रहेपनि ठूला आयोजनाका लागि लगानी भित्र्याउनका लागि पहल गरिदिन लामालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया