‘वैद्य पक्षका कारण प्रतिक्रान्तिको खतरा’

काठमाडौं, २०  वैशाख । एकीकृत (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघमा आबद्ध मजदुरले मंगलबार अन्तर्राष्ट्रिय मजदुर दिवस छुट्टाछुट्टै मनाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल समूहले खुलामञ्चमा र उपाध्यक्ष मोहन वैद्य समूहले वसन्तपुरमा कार्यक्रम गरी मजदुर दिवस मनाएका हुन् ।  मुलुकका प्रमुख सहरमा समेत दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए ।
खुलामञ्चको कार्यक्रममा अध्यक्ष दाहाल प्रमुख अतिथि थिए भने वसन्तपुरमा भएको कार्यक्रममा उपाध्यक्ष वैद्य र महासचिव रामबहदुर थापा । वैद्य पक्षले निकालेको र्‍यालीमा दाहालविरुद्ध चर्को नाराबाजी भएको थियो । दाहालले भने खुलामञ्चबाट पार्टी एकताको आह्वान गरेका थिए । उनले वैद्य पक्षका गतिविधिले अहिलेसम्म भएका आन्दोलनका उपलब्धि गुम्ने र प्रतिक्रान्तिलाई सहयोग पुग्ने बताए । पार्टी मिलेर जानुको विकल्प नरहेको भन्दै उनले भने, ‘पार्टीभित्र बहस र अन्तरसंघर्ष हुनु स्वाभाविक हो । तर, उहाँहरूको गतिविधिले प्रतिक्रान्ति निम्तिने खतरा छ ।’
वसन्तपुरको कार्यक्रममा वैद्य पक्षले दाहालले ‘जनसेना’ बुझाएर क्रान्तिप्रति गद्दारी गरेको आरोप लगाए । दाहालले भने नेपाली सेनाले परिवर्तनलाई आत्मसात गरेकाले ऊ माओवादीको मित्रशक्ति भएको बताए । ‘आत्मसमर्पण गरेको होइन, नेपाली सेनाले गणतन्त्र आत्मसात गरेपछि ऊ मित्रशक्ति भएको छ,’ उनले भने, ‘त्यसैले समायोजनमा लचकता अपनाएका हौँ ।’
वैद्य पक्षले मजदुरविरोधी सम्झौता गर्ने र यथास्थितिवादका पृष्ठपोषक देखिएकाले दाहाल पक्षसँग संयुक्त कार्यक्रम गर्न नसकिएको बताएको छ । वैद्य पक्षका मजदुर संगठनका संयोजक बद्री बजगाईंले मजदुरविरोधी ११ बुँदे सम्झौताकारी शक्तिहरूसँग संयुक्त कार्यक्रम गर्न नसकिएको बताए । ‘गत चैतमा सरकारसँग भएको ११ बुँदे मजदुरविरोधी सम्झौतालाई गल्ती नस्विकारेसम्म संयुक्त कार्यक्रम हुन सक्दैन,’ बजगाईंले सौर्यसँग भने ।

प्रतिक्रिया