मुलुक छामेका दुई युवा

‘जे नहोस् भन्यो त्यही भइदिनु, जे होस् भनी चितायो त्यो कहिल्यै नभइदिनु ।’ लामो जिन्दगीका भोगाइलाई टुक्र्याएर गर्न सकिने परिभाषाभित्र ‘आशाविपरीत’ का यी परिणति पनि एउटा पक्ष बन्न सक्लान् । चढ्दो उमेरका युवा पत्रकारद्वय नवराज र नारायण भट्टराईको आकांक्षामा यस्तै नियति दोहोरिएको छ ।
मुलुकमा बढेको हिंसा, हत्या, अस्थिरता र असमानताले मन आक्रान्त भएपछि यी पत्रकारद्वय २०६५ कात्तिक २ गतेदेखि ‘यस्तो नहोस्’ भन्ने कामनामा जुटे । ‘पे्रस स्वतन्त्रता एवं सकारात्मक पत्रकारिताका लागि विश्वभ्रमण’को नारा लिएर देशदर्शनमा निस्किए । विडम्बना † केही दिनअघि मात्रै झापाका पत्रकार यादव पौडेलको हत्या गरियो । पौडेलको हत्याले मुलुकमा लोकतन्त्रको ‘घाटी’ सुरक्षित छैन भन्ने प्रमाणित गरिदियो ।
भोजपुरको च्यांग्रे–५ मा ०३९ पुस १६ मा जन्मिएका नवराज र तिवारीभन्ज्याङ–३ मा ०४० वैशाख १६ मा जन्मिएका नारायणप्रसादको मनोकांक्षा शान्तिकामी थियो । उनीहरूले ०६५ कात्तिक २ गते ‘विश्वमा प्रेस स्वतन्त्रता, प्राथमिकतामा सकारात्मक पत्रकारिता’ नारा लिएर विश्वभ्रमणका लागि गृहजिल्ला भोजपुरबाट पाइला उचालेका थिए ।
‘प्रेस स्वतन्त्रतासम्बन्धी घटना एकपछि अर्को भइरहे, सञ्चारको पहुच सुगममा मात्रै देखियो, पिछडिएका क्षेत्र र ठाउको अवस्था समेटिनुपर्छ भन्ने लाग्यो,’ अभियन्ताद्वय भट्टराईले भने, ‘हाम्रो मनोकांक्षा जनताकेन्द्रित पत्रकारिता, आशा, उत्साह, उमंगको खोज थियो ।’ मुलुकमा स्वतन्त्र पत्रकारिताले मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुन पे्रसमाथिको आक्रमण रोकिनुपर्छ भन्ने मनसाय उनीहरूको थियो । झापाका पत्रकार पौडेलको निर्मम हत्या भने उनीहरूको मनोकांक्षाको ठीक विपरीत भइदिएको छ ।
भोजपुर, उदयपुर, झापा हुदै कपिलवस्तु पुगेका उनीहरूको पहिलो नेपाल भ्रमणको यात्रा ०६६ असार १४ गते कर्णाली, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुमसम्म पुगिसकेको थियो । किताबमा पढिएको र नक्सामा देखिएको नेपालको वास्तविक तस्बिर ‘अर्कै  रहेको’ उनीहरूले पाए । ‘मिडिया राजधानीकेन्द्रित देखियो । गाउको कथा गाउमै दमित रहेछ’, भट्टराई बन्धुले भने । उनीहरू नाताले भाइभाइका छोरा हुन् । व्यवहारले सानैदेखिका साथी ।
उनीहरूको युवा मन त्यति बेला अचम्मित भयो, जति बेला प्रकृतिको अनुपम चमत्कार देखे । भने, ‘हामी जब दैलेखको पञ्चकोसीक्षेत्रमा पर्ने ‘नाभिस्थान’ पुग्यौ आश्चर्यले हैरानै भयौ ।’ भट्टराईद्वयले दैलेखको मन्दिरमा बलिरहेको ज्वालाको बयान गर्न तछाडमछाड नै गर्न खोजे– ‘ओहो † नेपाल त गजबै रहेछ । पञ्चकोसीको मन्दिरमा बलिरहेको ज्वाला साच्चै प्राकृतिक रहेछ । त्यही ज्वालाले रुद्रावती खोलामा पानीका भुल्का भुलुक्क उम्लिरहेको दृश्य पत्याइनसक्नुको छ’
किताबमा पढेको र पाकाबाट सुनेको भन्दा पनि सुन्दर र सम्पन्न पाएछन् उनीहरूले नेपाललाई । भने– ‘हामी नेपालीले नै नेपाल नदेखेका र नचिनेका रहेछौ । हामीलाई अमेरिकामा के छ भन्ने थाहा छ तर नेपालको नेपालगन्जमा के छ भन्ने ज्ञान छैन, जर्मनीको उदाहरण दिन्छौ“ तर जनकपुर चिन्दैनौ ।’ आङ्खना तर्कलाई पुष्टि गर्दै नवराजले भने, ‘डडेल्धुराको एउटा रेडियोले हाम्रो अन्तर्वार्ता लियो, वार्ताकारले हामीलाई ‘भोजपुरको मान्छे भोजपुरी भाषामा सन्देश दिनुस् न’ भने, यस घटनाले हामीले नेपाल नै नचिनेको पुष्टि गर्दैन र ?’
जहिले पनि अभाव, अन्याय, गरिबी, रूढिवादी भनेर चिने चिनाइएको सुदूर र मध्यपश्चिमका गाउ“बेसीमा त्योभन्दा बढी जडिबुटी, प्रकृति, जैविक विविधता, भाषा, संस्कृति, स्रोत र सम्भावना पर्खिएर बसेको उनीहरूले देखे– ‘त्यहाको हिमाल, यार्सागुम्बा, खप्तड, से–फोक्सन्डो, घोडाघोडी, तिलिचो, अपी, सैपालको सदुपयोग गर्न सके यो क्षेत्रले पर्यटकीय क्षेत्रको ‘लिड’ गर्न सक्छ ।’
समाज माथि नउठ्नुको झर्रो उदाहरण पनि उनीहरूले देखे र भोगे– समाजले अगाल्दै आएको अन्धाधुन्द आधुनिकताले नेपाली गाउपिच्छे रहेका फरक रीतिरिवाज लोप हुदै गएको छ । ‘कपी आधुनिकताले नेपाली सभ्यता नास भइरहेको छ’, उनीहरूले दाबी गरे, ‘गाउमा अझै अतिथि देवो भवः को भावना जीवितै रहेछ । तर, शिक्षाको समान पहुच छैन । पढेलेखेकाहरूले पनि वास्ता नगरिदिदा गाउ बिरक्तिएको छ ।’
नेपाल भ्रमणमा जीवनका सात सय ३० दिन बिताएका नारायण र नवराजले यसलाई रहर मात्रै बनाएनन् । एउटा गतिलो उपलब्धिका रूपमा आम नेपालीलाई पस्किएका छन् । उनीहरूले भ्रमणमा देखेका नेपालका पर्यटकीय क्षेत्र, देशको जनजीवन, पत्रकार र पत्रकारिताको अवस्था, जनताको नजरमा पत्रकारिता र पर्यटन, त्यसप्रतिका गुनासा, आशा, जिल्लाको संक्षिप्त चिनारीलगायत समाजका अग्रणी व्यक्तिको अभिव्यक्तिलाई समेटेर चार सय ८२ मा थप १८ पृष्ठको तथ्यपरक पुस्तक प्रकाशन गरेका छन्– ‘नेपाल भ्रमणका ७३० दिन’ । यही पुस्तकको बिक्री–वितरणबाट हुने आम्दानीले उनीहरू आगामी जुलाईदेखि भारत हुदै सार्क, एसिया, युरोप भएर विश्वभ्रमण गर्दै छन् ।

प्रतिक्रिया