भारत चीनमा बढी असमानता

काठमाडौं, ३० चैत । एसियाली मुलुकमा भइरहेको तीव्र आर्थिक विकासका कारण धनी र गरिबबीचको असमानता बढ्ने एक प्रतिवेदनले प्रक्षेपण गरेको छ । एसियाली विकास बैंक -एडिबी) ले चीन, भारत लगायतका मुलुकमा असमानता बढ्ने चेतावनी दिएको हो । बैंकले जारी गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०१२ मा एसियाली मुलुकको असमानता दर औसत ३८ अंकमाथि पुग्नेछ । यद्यपि एसियाको औसत गरिबी दर भने ल्याटिन अमेरिकी र अपिकी मुलुकको भन्दा कम छ । प्रतिवेदनका अनुसार अन्य क्षेत्रमा गरिबीको अन्तर घटे पनि एसियामा भने बढ्दो अवस्थामा छ । तीव्र आर्थिक वृद्धिदर भएका भएका छिमेकी मुलुक चीन र भारतमा असमानताको वृद्धिदर व्यापक रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ । धनी र  गरिबबीचको अन्तर कम गर्न यी मुलुकलाई लामो समय लाग्ने प्रतिवेदनमा उल्लेख छ ।
चीनमा धनी-गरिबबीचको अन्तर मापन गरिने मापक सन् १९९० मा ३२ रहेकामा यो बढेर सन् २०१० मा ४३ पुगेको थियो । यही अवधिमा भारतमा पनि असमानता दर अघिल्लो वर्षको ३३ बाट बढेर ३७ पुगेको थियो ।  ‘एसियाको द्रुततर विकासले धनी र गरिबबीचको दूरी फराकिलो बनाएर दशौं लाख जनतालाई पछाडि पार्दै जानु ठूलो चुनौती हो ।’ प्रतिवेदनले भनेको छ । २० वर्षमा धनी र गरिबबीचको असमानता स्थिर रहेको भए २४ करोड जनता गरिबीबाट मुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया