स्लिम नै सेक्सी

सामान्यतया जिरो साइजले स्लिम र सेक्सी युवतीलाई जनाउछ । मोडलिङ र फिल्मी करिअर बनाउनेका लागि सबैभन्दा बढी चासोको विषय हो, जिरो साइज । यसका लागि के–के मात्र गर्दैनन् युवती– डाइटिङ, फास्टिङ, एक्सरसाइज आदि–आदि । युवती मात्र होइन, युवक पनि मोटो हुन चाहदैनन् । स्लिम बन्ने लहर युवामा पनि छ ।
प्रविधि पनि अहिले युवतीको फिगरभन्दा बाहिर छैन । प्रविधि हाम्रो शरीरभन्दा छरितो बनिसक्यो । यो पनि जिरो साइजमा ढल्दै छ । ल्यापटप होस्, नोटबुक, ट्याब्लेट होस् वा मोबाइल अथवा पेनड्राइभ नै किन नहोस्, ग्याजेट्समा पनि युवा वर्गको रोजाइ हुन थालेको छ– स्लिम ।
‘स्लिम नै सेक्सी । खल्तीमा राखेको पत्तै हुदैन । चलाउन पनि छुट्टै मजा’ –न्युरोडको ताम्राकार कम्प्लेक्समा मोबाइल छानिरहेका अरुणिमा कलेजका प्रदीप पौडेलले भने । स्लिम भए पनि सुविधामा कमी छैन । मोबाइल मात्र होइन, मोबाइल आकारको भिडियो क्यामेरा, पकेट प्रोजेक्टर, पातला ल्यापटप, भित्तामै टपक्क टा“सिने एलसिडी टेलिभजन सबै उपभोग्य प्रविधि स्लिम हुने होडमा छन् । आइफोन उत्पादक एप्पलदेखि सामसुङका स्मार्ट फोनसम्म साइज घटाउने प्रतिस्पर्धामा लागेका छन् ।
युवाको यही चाहनालाई ख्याल गर्दै विभिन्न कम्पनीले ग्याजेट्सको साइज स्लिम बनाउन थालेका छन् । स्लिम सेटको माग बढेपछि बिक्रेताले पनि यस्तै सेट बढी ल्याउन थालेका छन् ।
आइप्याड, ट्याब्लेट तथा म्याकबुक एयरजस्ता अल्ट्राबुकले डिभाइसलाई पातलो बनाउने चलन प्रारम्भ गरे । सन् २०१२ मा पनि यस्ता पातला डिभाइसको निर्माणमा जोड दिने विभिन्न कम्पनीले घोषणा गरिसकेका छन् । डेल कम्पनीले अहिलेसम्मकै स्लिम दाबी गर्दै ९.९९ एमएम मोटाइको ल्यापटप उत्पादन गरेको छ । सामसुङले हालै मात्र विश्वकै सबैभन्दा पातलो भएको दाबीसहित नया“ नोटबुक सार्वजनिक गरेको छ । कम्पनीका अनुसार १५ इन्चको नोटबुक करिब एक किलो तौलको छ । यसको मोटाइ १२ दशमलव नौ मिलिमिटर छ । आधा इन्च पातलो मोबाइल बजारमा आइसकेको छ ।

प्रतिक्रिया