आन्तरिक कारणले वर्गिकरणमा समस्या

कैलाली, ३० चैत । जनमुक्ति सेनोको कैलालीस्थित सातौं डिभिजनमा आज पनि लडाकुहरुको पुनःवर्गिकरण नहुने भएको छ ।

एकीकृत माओवादी र लडाकुबीचको आन्तरिक विवादका कारण पुनःवर्गिकरण सुरु हुन नसकेको हो । माओवादी लडाकु समायोजन तथा रेखदेख विशेष समितिका सदस्य तथा पुनःवर्गिकरणमा खट्टिएको टोलीका संयोजक गोपालसिंह बोहोराका अनुसार लडाकुहरुको आन्तरिक व्यवस्थापन मिल्न नसकेकोले स्वयच्छिक लगायतका काम सुरु हुन सकेको छैन ।

सातौं डिजिजनको मुख्य शिविर तालबन्द र सहायक शिविर लिस्नेगाम स्मृति ब्रिगेड बडैपुर तथा लोकेश स्मृति ब्रिगेड गोरंगेमा १७ सय ६२ जना लडाकुहरु छन् । त्यस मध्ये १ सय ११ जना महिला छन् ।

समायोजनको खाका स्पष्ट नभएको भन्दै सातौं डिभिजनका अधिकांश लडाकुहरु स्वेच्छिक अवकाश रोज्दै छन् । धेरै जसो लडाकुहरु स्वेच्छिक अवकाशमा जाने देखिएपछि कमाण्डरहरु समायोजनमा जानका लागि दवाव दिइरहेकाले विवाद भएको एक लडाकुले बताए ।

उनका अनुसार लडाकुका कमाण्डरहरुले सेना समायोजनमा जान लडाकुहरुलाई आग्रह गरिरहेका छन् । लडाकुहरुले सेना समायोजनमा जाँदा योग्यता कुनै कारण बस नेपाली सेनाले छनौट नगरेमा केही पनि नमिल्ने भन्दै अवकाश रोज्ने तयारीमा लागेका हुन् । लडाकुहरुले कमाण्डरको दवावका कारण असन्तुष्ट भएका छन् ।

सेना समायोजन रोजेका बडैपुर शिविरका बटालियन कमाण्डर नहकुल सञ्ज्यालले धेरै लडाकुुहरु कमाण्डरहरुको सेनामा जान योग्यताले नभ्याइरहेको बताए । बढैपुरकै प्लाटुन सहकमाण्डर गजेन्द्र रोकायाले सेनामा जान कमाण्डरहरुको कागजी प्रमाण नपुगेको बताए । उनले भने, ‘सेनामा जाँदा लडाकुको कमाण्डर रहेकाले सिपाही हुने र लडाकुको सिपाही रहेकाहरुले कमाण्डर हुने स्थिति रहेकाले धेरै जना अवकाश रोज्नुपर्ने स्थिति रहेको छ ।’

प्रतिक्रिया