सञ्चारकर्मीको सुरक्षामा सरकार दृढ

काठमाडौं, २९ चैत । प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकका आमसञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारहरुको सुरक्षाका लागि सरकार दृढ रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री भट्टराईले पत्रकारहरुको सुरक्षाप्रति आफू अत्यन्तै चिन्तित रहेको बताए ।

पत्रकार पौडेलको हत्यामा संलग्नको पहिचान भइसकेको भन्दै भट्टराईले चाँडै कानूनको दायरामा ल्याई कडा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सञ्चारजगतमाथिको आक्रमण कुनैपनि हालतमा सह्य र क्षम्य नहुने समेत बताए ।

महासङ्घका अध्यक्ष शिव गाउँलेले पत्रकार पौडेलको हत्यारालाई सार्वजनिक गर्न सरकारी पहलमा ढिलाई भइरहेकोमा प्रधानमन्त्री भट्टराईको ध्यानाकर्षण गराए ।

उनले नियोजित हत्याको वास्तविकता लुकाउने र अपराधीसम्म पुग्न नसक्नुले आशङ्का उब्जाएको बताए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष गाउँले, पूर्वसभापति धर्मेन्द्र झा, महासचिव ओम शर्मा, विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया