वर्षैभरि ग्ल्यामरस इन्दिरा

काठमाडौं, २३ चैत । विक्रम संवत्को एउटा वर्ष सकिन आँट्दै छ । पात्रो फेरिने समयमा कलाकारहरू विशेष व्यस्त हुन्छन् । गाउन, नाच्न अनि अभिनय गर्न जान्नेहरूको भाउ आकासिन्छ यो अवधिमा । पुरानो वर्षका दुःखपीडा बिर्साउन अनि नयाँ वर्षलाई खुसी बोकेर आउन आग्रह गर्दै आयोजना गरिने स्टेज प्रोग्रामको भिड बाक्लै हुन्छ । ‘चलेका’ हरूलाई त भ्याइ-नभ्याइ हुन्छ नै, ‘अलि-अलि चलेकाहरू’ ले पनि गतिलै आर्थिक जोहो गर्ने प्लेटर्फम भेट्टाउँछन् । गायिका इन्दिरा जोशीलाई भने संवत् २०६८ पूरै व्यस्तताको वर्ष बनेछ । भर्खरै उनले सांगीतिक यात्राका क्रममा उपत्यकाबाहिरको माहोल तताइन् । सुनाइन्, ‘धनगढी, नेपालगन्ज, दाङ, बुटवल, पोखरासम्मका कार्यक्रम भ्याइयो ।’ अन्य आमनेपालीजस्तै उनी पर्खिरहेकी छन् वर्ष २०६९ लाई । अनि, उनलाई चाहिँ पर्खिरहेछन्, त्यसको पूर्वसन्ध्यामा आयोजना हुने अनेक कन्सर्टहरू ।
वर्ष २०६७ भरि निकै चर्चामा रहिन् यी कलिली गायिका । पछिल्लो एल्बमको शीर्ष गीत ‘रातो घाँगारा’ ले वर्षैभरिका स्टेज कार्यक्रममा व्यस्त बनाइरह्यो । १ वैशाखका लागि वीरगन्ज र २ गते नेपालगन्जमा उनको सेड्युल ‘प्याक’ भइसकेको रहेछ । काठमाडौंमा रहने फुर्सदै रहेनछ । यही व्यस्तताबीच वर्ष २०६८ भरिको आफ्नो करियरको समीक्षा पनि गर्न भ्याइन् उनले, ‘वर्ष ०६८ को अहिलेसम्मको अवधिमा एक सय पाँचवटा भन्दा बढी स्टेज कार्यक्रम भ्याइछु ।’ यो संख्याभित्र उनले विदेशमा गरेका स्टेज प्रस्तुति पनि पर्छन् । सबैभन्दा बढीचाहिँ कुन प्रस्तुतिबाट कमाइन् त ? ‘कुबेतको कार्यक्रममा,’ उनले भनिन्, ‘एउटै कार्यक्रमको एक लाख १५ हजार लिएकी थिएँ ।’ त्यसबाहेक ब्रुनाइबाट पनि राम्रै आम्दानी गरिछन् । कार्यक्रम बढी हुने भएकाले समग्रमा चाहिँ नेपालभित्रकै आम्दानीले जित्ने उनले सुनाइन् । ‘नेपालमै पनि एउटा ब्यान्डमार्फत स्टेज पर्फरमेन्स गर्दा ७५ हजार पाएकी थिएँ,’ उनले हिसाबकिताब गरिन् ।
आखिर यो वर्ष किन यति धेरै पत्याए त उनलाई दर्शक र आयोजकले । ‘०६८ को सुरुमै रातो घाँगारा बोलको गीतको म्युजिक भिडियो निकालेकी थिएँ । एल्बम बेचेर आम्दानी गर्न सकिँदैन, त्यसैले म्युजिक भिडियो प्रभावशाली बनाएर त्यसैका आधारमा सबैको ध्यानाकर्षण गर्ने हो, यसैले स्टेज प्रोग्रामको पनि बाटो खोलिरहेको हुन्छ ।’ उनले थपिन्, ‘त्यसैका लागि मैले त्यो म्युजिक भिडियोलाई सकेजति ग्ल्यामरस बनाएकी छु, स्टेजमा पनि माहोल तताउन त्यस्तै ग्ल्यामरस खुबीको त आवश्यकता पर्छ नि !’
यो नयाँ वर्षमा उनी नयाँ एल्बम निकाल्दै छिन् त ? ‘एल्बम निकाल्नुभन्दा म्युजिक भिडियो बनाउनमै ध्यान दिनुपर्ला जस्तो छ, पुरानै एल्बमको अर्को गीतको आकर्षक भिडियो बनाउनुपर्ला,’ उनले भनिन् । वर्षभरिको आफ्नो क्रेजलाई हेरेर नयाँ वर्षको सुरुमा सेलिबि्रटीहरू आफ्नो ‘पारिश्रमिक’ बढाउने सुरसार गर्छन् । इन्दिराचाहिँ के गर्लिन् त ? ‘आफ्नो डिमान्ड दर्शक-श्रोतामा कत्तिको छ, त्यसलाई मध्यनजर गर्ने हो । यस वर्षदेखि म पनि अलिकति अझै बढाउनुपर्ला जस्तो छ ।’ उनको आकर्षक शारीरिक बान्की अनि त्यस्तै प्रस्तुतिका कारण उनका ‘अदा’ मा नलट्ठिने युवा सायदै होलान् । कतिले प्रेमप्रस्ताव राख्ने सोचे होलान्, कतिले राखिसके पनि होलान् । वर्ष २०६९ मा बिहे गर्न योजना छ त ? यी गायन-यौवनाले सुनाइन्, ‘भर्खर २४ वर्ष त पुग्दै छु, त्यसका लागि त अझै धेरै बाँकी छ ।’

प्रतिक्रिया