सुनसरी र प्राइम सेमिफाइनलमा

काठमाडौ, २८ चैत । सुनसरी र साविक विजेता प्राइम ‘मोतीदेवी श्रेष्ठ स्मृतिकप’ दोस्रो नेकोस राष्ट्रव्यापी खुला महिला बास्केटबल प्रतियोगिताको मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उक्त टिमसँगै टिआइए र पि्रमियर पनि अन्तिम चारमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुनसरीले अर्को मोफसल टिम कास्कीलाई ३९-३० ले पराजित गर्‍यो । सुनसरीको जितमा अञ्जना थापामगरले ११ अंक योगदान गरिन् ।
पहिलो क्वार्टरमा ७-२ को अग्रता लिएको सुनसरी दोस्रोमा ९-१३ ले पछि पर्‍यो । तेस्रोमा सुनसरीले १२-४ को महत्त्वपूर्ण अग्रता लिँदै जितको आधार खडा गरेको थियो । चौथोमा दुवै टिमले ११-११ को बराबरी खेले । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा प्राइमले मोर्गनमाथि ४८-३१ को जित रच्यो । प्राइमकी ज्ञानु गौचनले १३ स्कोर गरिन् । प्राइम सबै क्वार्टरमा अगाडि रहयो । प्राइमले पहिलोमा १३-४, दोस्रोमा १४-१०, तेस्रोमा ११-९ र चौथोमा १०-८ अंक जोडयो । शान्ति श्रेष्ठको १७ अंक सहयोगमा टिआइएले चितवनलाई ६५-१७ ले पाखा लगायो । टिआइए सबै क्वार्टरमा हाबी रहयो । एकपक्षीय खेलमा टिआइएले चितवनलाई पहिलोमा २४-७, दोस्रोमा १९-५, तेस्रोमा ८-१ र चौथोमा १४-४ अंकले निरीह तुल्यायो ।
पि्रमियर र नासाबीचको खेलमा पि्रमियर ४१-१४ ले सहजै विजयी भयो । पि्रमियरकी मृणालिनी श्रेष्ठले १४ अंक जोडिन् । पहिलो क्वार्टरमा पि्रमियर ३-६ ले पछि पर्‍यो । त्यसपछिको खेलमा फर्केको पि्रमियरले क्रमशः १३-२, १२-४ र १३-२ को अग्रता लिँदै जित सुनिश्चित गर्‍यो । सेमिफाइनल भिडन्त टिआइए र प्राइम तथा सुनसरी र पि्रमियरबीच बुधबार हुनेछ ।

प्रतिक्रिया