सट बिगार्दा निर्देशकको खप्की

चलचित्रका दृश्य सलल बग्छन् पर्दामा । कलाकारका क्रियाकलाप अनि संवाद विनाअवरोध बगिरहेका हुन्छन्, कथासँगै । निर्देशकले बुझेका हुन्छन्, दृश्यमा कुनै ‘जर्क’ वा अवरोध देखिए पैसा खर्चेर हलभित्र छिरेका दर्शकका आँखा बिझाउन थाल्छन् । भाषा, वर्णविन्यास वा आवाजको उतारचढाब र लय नमिलेका संवाद मात्रैले पनि दर्शकका कान टट्टाउन सक्छन्, यदि ती संवाद बिगारेर प्रस्तुत गरिनाको मर्मले पात्रको चरित्रसँग सामञ्जस्य राख्दैन भने ।
यस्ता ‘जर्क’ ले चलचित्रमा चर्लुम्म डुबिरहेका दर्शकको ध्यान भंग पारिदिन्छन् र ‘झुर’ भन्दै बाहिरिन बेर लगाउँदैनन् । यसकै लागि निर्देशकहरू एउटा मात्रै ‘सट’ का लागि विशेष मिहिनेत गरिरहेका हुन्छन् । चाहे जतिसुकै टेक लागोस्, पूर्णता नआएसम्म ‘ओके’ गर्दैनन् । चलचित्रमा यस्ता सट धेरै हुन्छन्, जहाँ कलाकार अनेकौँ टेक लगाइरहेका हुन्छन् । कहिले तनाबले त कहिले के नमिल्दा एक-वा दुई टेकमै सटलाई पूर्णता दिन सक्दैनन् । निर्देशकहरू हत्तू हुन्छन्, अनि कलाकारलाई हपार्छन् पनि बेलाबखत ।
पर्दामा सरर बगेको कथा अनि आफ्ना पि्रय कलाकारको अभिनयमा डुबिरहेका दर्शकले पर्दाभित्रका यी अप्ठ्यारा बुझेकै हुँदैनन् । पहिलोचोटि क्यामेराअगाडि उभिने क्रममा प्रायः सबै कलाकारलाई यस्तो अप्ठ्यारो अनुभूति भएको पाइन्छ । जुन सट अनि पलहरू उनीहरूलाई स्थापित भइसक्दाको अवस्थासम्म पनि अविस्मरणीय भएर रहन्छन् । आफूभन्दा स्टार कलाकारका साथ अभिनय गर्नुपर्दा भर्खरै आएका कलाकारले प्रायः यस्तो अप्ठ्यारो भोगेका हुन सक्छन् ।
नायक राजवल्लभ कोइराला यसमा सहमत छन् । उनले पनि पहिलो चलचित्र पर्खिबसेँमा यस्तो समस्या बेहोर्नु परेको थियो रे ! भन्छन्- ‘नृत्य र द्वन्द्वमा मेरो अनुभव नभएका कारण पहिलो सटमै गाह्रो परेको थियो, अहिले त्यस्तो अप्ठ्यारो हुँदैन ।’ उनका अनुसार नृत्यमा उनलाई सहज नलाग्ने स्टेप परेको थियो । भन्छन्- ‘विश्वमा मान्छेको सहजताअनुसारका स्टेप कम्पोज गरिन्छन्, हामीकहाँ नृत्यनिर्देशकको आफ्नै नियम हाबी हुँदा मलाई मात्र होइन, अरूलाई पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्छ ।’ सोही चलचित्रको दोस्रो सटमा उनले द्वन्द्वदृश्य गर्नुपरेछ । जुन काठमाडौं मलअगाडि खिचिएको थियो । भन्छन्- ‘त्यो सिनमा म दायाँबाट आएर बायाँतिर जानुपर्ने थियो । तर, दायाँबाट दायाँतिरै पो लागेछु, गिटारले मेरो टाउकामा चोटै लाग्यो । म त सबैका अगाडि नर्भसै पो भएँ ।’ उनका अनुसार त्यो गल्ती स्वाभाविकै पनि थियो रे- ‘मेरो ब्याकग्राउन्ड फाइटरको होइन, न त मैले मार्सल आर्ट नै सिकेको छु ।’
नायिका रेजिना उप्रेतीचाहिँ टेलिसिरियलमा लामै अनुभव लिएर आएका कारण चलचित्रका सटमा त्यति समस्या नआएको सुनाउँछिन् । चलचित्रअघि उनले चेतना सिरियलमा काम गरेकी थिइन् । उनको डेब्यु चलचित्रचाहिँ शिव रेग्मी निर्देशित आफ्नो मान्छे हो । भनिन्- ‘चलचित्रमा जमिसकेका कलाकारसँग अभिनय गर्नुपर्दा केही गाह्रो त भएको थियो, आँसुको भेल बगाउनुपर्ने सट समस्याजनक थिए । डाइलगमा चाहिँ कुनै समस्या परेन ।’ त्यसो भए चेतनामा चाहिँ उनले सजिलै गरिन् त ? सुनाउँछिन्- ‘निर्देशक लय संग्रौला दाइले दुई पन्नासम्मको डाइलग भन्न लगाउनुहुन्थ्यो, कण्ठ गर्नै आधा घन्टाभन्दा बढी लाग्थ्यो । सुरुसुरुमा त ती डाइलग नमिल्दा निक्कै गाली खानुपर्‍यो ।’
सिरियल किसरका रूपमा चिनिएका नायक मुकेश ढकालले पनि चलचित्रका लागि पहिलोचोटि किस सिन दिने क्रममा अपेक्षाभन्दा अलि बढी सट खाएछन् । निगरानी चलचित्रका लागि उनले नायिका अरुणिमा लम्सालसँग सो दृश्य दिनु थियो । ‘एउटै सिन दिनलाई आधा घन्टा लाग्यो, पाँचौं सटमा बल्ल ओके भयो, निर्देशकको हप्की सहनुपर्‍यो ।’ तेस्रो चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छको बेड सिन  पनि साह्रै गाह्रो भयो रे उनलाई ।
यो कस्तो माया होमा अभिनय गर्दा नन्दिता केसी चलचित्र क्षेत्रका लागि बिल्कुलै नयाँ थिइन् । उनी सम्भिmन्छिन्- ‘मेरो पहिलो सट बुटवलमा थियो । पहिलोचोटि क्यामेरा फेस गर्दै थिएँ, सुरुमा त जान्दै जानिनँ, निर्देशक साह्रै कराए । नरमाइलो त लागि नै हाल्छ, नर्भसै पो भएँछु । पछिका चलचित्रमा क्यामेरा फेस गर्न नजान्ने खोटचाहिँ दोहोरिन दिइनँ ।’ दोस्रो चलचित्र इन्द्रेणीमा त झन् पहिलो चलचित्रभन्दा पनि गाह्रो लागेछ उनलाई । ‘रेखा थापा, झरना थापा, रेजिना उप्रेती, सुमीना श्रेष्ठ, अरुणिमा लम्सालजस्ता चर्चित कलाकारसँग अभिनय गर्नुपर्दा अत्यासै लाग्यो नि !’ भन्छिन्- ‘त्यति बेला मात्र १८ वर्षकी थिएँ ।’

प्रतिक्रिया