सहमतिअनुसार चुनाव घोषणा भएन

काठमाडौं, २८ चैत । विद्यार्थी संगठनसँगको बैठकमा त्रिविले सहमति जनाएअनुसार एक साताभित्र स्ववियु चुनाव घोषणा गर्न सकेन । त्रिविका पदाधिकारी र विद्यार्थी संघसंगठनका प्रतिनिधिबीच कसैलाई ‘इग्नोर’ नहुने गरी जेठ पहिलो साताका लागि चुनाव घोषणा गर्ने सहमति भए पनि ११ दिन बित्दासमेत घोषणा भएको छैन ।
विद्यार्थी संगठनबीच चुनाव प्रणालीबारे विवाद भएकाले दुई वर्षमा हुनुपर्ने चुनाव तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि अन्योलमै छ । विद्यार्थी नेता भने चुनाव हुन नसक्नामा त्रिवि दोषी रहेको आरोप लगाउँछन् ।
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले त्रिविका पदाधिकारी नालायक भएकाले चुनाव अन्योलमा परेको बताए । ‘विश्वविद्यालयका पदाधिकारीको कामै छैन,’ उनले भने, ‘हामीसँग जेठको ४/५ गते चुनाव गर्छौं भनेर उनीहरू चुनावकै विरुद्धमा लागेका छन् ।’ उनले केही विद्यार्थी संगठनले पनि अगाडि ‘चुनाव घोषणा गर’ भन्ने र पछाडि ‘कुनै हालतमा गर्नुहुन्न’ भन्ने दुईखाले कुरा गरेको आरोप लगाए ।
नेविसंघका अध्यक्ष्ा रञ्जित कर्ण पनि जेठको पहिलो साताका लागि चुनाव घोषणा गर्ने सहमति भए पनि त्रिविले घोषणा गर्न नसकेको बताउँछन् । ‘त्रिवि र सरकारबीच कुरा नमिलेर होला घोषणा नभएको,’ उनले आशंका व्यक्त गरे, ‘अब हामी मिलेर केही गर्नुपर्ला ।’
अनेरास्ववियु -क्रान्तिकारी) का अध्यक्ष हिमाल शर्माले दस दिनभित्र चुनाव घोषणा गर्ने सहमति गरिए पनि १४ जेठका कारण अन्योल भएको हुन सक्ने बताए । ‘१४ जेठका कारण अन्योल भएको हुन सक्छ,’ उनले भने, ‘कसैलाई इग्नोर नहुने गरी चुनाव घोषणा गर्ने सहमति भएको हो, त्यस्तो विधि त्रिविले अहिलेसम्म सार्वजनिक गर्न सकेन ।’
अनेरास्ववियु -क्रान्तिकारी)लगायतका संगठनले समानुपातिक र नेविसंघलगायत संगठनले प्रत्यक्ष प्रणालीबाट चुनाव गर्नुपर्ने अडान राख्दै आएका थिए । विद्यार्थी संगठनले चुनाव प्रणालीमा सहमति जुटाउन कार्यदलसमेत गठन गरेका थिए । सो कार्यदलले समेत प्रणाली यकिन गर्न सकेको थिएन । एउटा प्रणालीमा सहमति नजुटेपछि विकल्प दिएर कार्यदलले प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया