सरकारी क्वाटरबाट चोरीका सामान बरामद

वीरगन्ज, २८ चैत । पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालका कर्मचारी बस्ने सरकारी क्वार्टरबाट प्रहरीले चोरीका सामान बरामद गरेको छ  ।

लुकाएर राखिएका चोरीका सामान गोप्य सूचनाका आधारमा प्रहरीले आज अस्पतालको क्वाटरमा छापा मारेर बरामद गरेको हो । बरामद सूर्या र शीखर चुरोटको बजार मूल्य करिब पाँच लाख रुपियाँ पर्ने प्रहरी अनुमान छ ।

चोरीका सामान फेला परेको क्वाटरमा अस्पतालका अहेब रामइश्वर राम बस्दै आएका छन् । अहेब राम फरार भएपछि प्रहरीले उनकी पत्नी शुकन्तला देवीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुजनराज जोशीले बताए ।

करिब एक महिना अघि बीरगन्जको श्रीपुरस्थित एक गोदामबाट करिब १५ लाख रुपियाँ मूल्य बराबरको सूर्या र शीखर चुरोट चोरी भएको थियो ।

यसैबीच, बीरगन्ज पथलैया सडक खण्ड अन्तर्गत पर्साको परवानिपुरस्थित अमृत घिउ उद्योग अगाडि आज बिहान अज्ञात समूहले गोली प्रहार गरे एक युवकलाई घाइते बनाएको छ । गोली प्रहारबाट बीरगन्ज, छपकैयाका ३० वर्षीय चुन्नु आलम भन्ने नूर आलम घाइते भएका छन् ।

आलमको पेट र पाखुरामा गोली लागेको छ । बाराको रामपुर टोकनीस्थित डाबर नेपालमा कबाडीको ठेक्काको काम गर्ने आलम ना ७ प ३१६५ नम्बरको मोटरसाइकलमा बीरगन्ज तर्फ आउदै गरेको अवस्थामा बिहान ११ बजे आक्रमणमा परेका हुन् ।

मोटरसाइकलमा रहेका दुइ जना अपरिचित व्याक्तिले आलम माथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया