कास्की र टीआइएलाई बास्केटबलमा सफलता

काठमाडौं, चैत २७ गते । ‘मोतीदेवी श्रेष्ठ स्मृतिकप’ दोस्रो नेकोस राष्ट्रव्यापी खुला महिला बास्केटबल प्रतियोगिताको दोस्रो दिन सोमबारको खेलमा कास्की र टिआइएले जित हात पारेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा भएको खेलमा कास्कीले चितवनलाई ३०-६ को फराकिलो अन्तरले हरायो । विजयी टिमका लागि सोनिया लिम्बूले ८ स्कोर गरिन् ।
चौथो क्वार्टरमा २-२ को बराबरी खेलेको कास्कीले अन्यमा भने अग्रता लिएको थियो । कास्कीले पहिलोमा ८-०, दोस्रोमा ४-१ र तेस्रोमा १६-३ अंक जोडयो ।
नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा टिआइएले सुनसरीमाथि ४९-४६ को कठिन जित हात पार्‍यो । टिआइएको जितमा उपमा पोखरेलले १४ अंक योगदान गरिन् । उता सुनसरीकी कृति मित्तलले सर्वाधिक १९ स्कोर गरे पनि जितका लागि पर्याप्त  भएन ।
तेस्रो क्वार्टरको समाप्तिसम्म सुनसरी समग्रमा ८ अंकले अगाडि थियो । तेस्रो क्वार्टरको खेल सकिँदा स्कोर ३५-२७ को स्थितिमा सुनसरीको पक्षमा थियो । त्यो स्थितिलाई उल्टयाउँदै टिआइएले चौथो क्वार्टर २२-११ ले कब्जा गर्‍यो र खेल समग्रमा ३ अंकले जित्यो । टिआइएले पहिलोमा १०-११, दोस्रोमा ९-८ र तेस्रोमा ८-१६ को प्रदर्शन गरेको थियो ।
जितसँगै कास्की समूह ‘बी’ तथा टिआइए समूह ‘ए’को विजेता हुँदै क्वार्टरफाइनलमा पुगे । पराजित टोली पनि आ-आफ्नो समूहको उपविजेताका हैसियतले अन्तिम आठमा पुगे । मंगलबार क्वार्टरफाइनलका चारै खेल हुनेछन् ।

प्रतिक्रिया