बन्दुकमोह हटाउन नाटक

काठमाडौं, २७ चैत । १२ वर्षे एक बालकको हातमा बन्दुक छ । उसले आफ्नी घरबेटी, छिमेकी र शिक्षकलाई गोली हान्छ । उनीहरूलाई लाग्छ- यी तीनजनाले उसका आमाबाबालाई साह्रै सताएका छन् । केही बेरमै बालक झसङ्ग झस्कन्छ । खासमा उसले सपना देखेको हुन्छ । यो सपनाले कुनै पनि सिनेमाले बालबालिकाको मनोविज्ञानमा पार्ने प्रभावलाई प्रस्ट्याइरहेको हुन्छ ।
सिनेमामा उसले देखेको छ- गुन्डाहरूसँग बदला लिन गुन्डाले यस्तै गोली चलाउँछ, गुन्डाहरूलाई सखाप पार्छ । त्यो बालकलाई पनि बन्दुक मन पर्न थाल्छ अनि बाबाआमासँग त्यस्तै बन्दुक किनिदिन करकर गरिरहन्छ ।
एक दिन उसले देख्छ- घरमा बन्दुक भिरेका छापामारहरू आउँछन् । उसका बुबा र दिदीलाई गोली हानेर ढलाउँछन् । आमा र अर्की दिदी भावविह्वल भएर रुन-कराउन थाल्छन् । त्यो बालकले बुझ्छ- बन्दुकले त परिवारै तहसनहस पो पार्दो रहेछ । अब बन्दुकसँग उसलाई तीव्र घृणा छ । बुबाआमालाई बन्दुक किनिदिन करकर गरेकोमा पछुतो छ । भुइँमा अचल भएर ढलिरहेका बुबाअगाडि गएर बिलौना गर्न थाल्छ, ‘बुबा ! उठ्नुस् न । अब म कहिल्यै बन्दुक माग्दिनँ नि !’ नभन्दै बुबा जुरुक्क उठ्छन् । रोइरहेका आमा र दिदी उसलाई हेर्दै हाँस्न थाल्छन् । यो सब नाटक हुन्छ- त्यो बालकको मनबाट बन्दुकको चाहना मेटाउने । बन्दुक शीर्षक नाटकभित्रका यी नाटकीय घटनाले सोमबार पर्यटन बोर्डको मञ्च ढाके ।
प्रसङ्ग हो अचेल नाट्य समूहको चौथो वाषिर्कोत्सवका अवसरमा प्रदर्शित नाटकहरूको । समूहले सोमबारै भष्मासुर र गरिबको मृगतृष्णा शीर्षकका नाटक मञ्चन गराएको थियो । यी नाटकमा रूपेश मगर, रेखा कार्की, सोनम प्याकुरेल, दीप विष्ट, सम्झना अधिकारी, सागर हुमागाईं, नवराज खड्कालगायतले अभिनय गरेका छन् । बन्दुकको निर्देशन अजित अर्यालले गरेका हुन् भने लेखन बद्री लामाको हो ।

प्रतिक्रिया