डिआइजी सापलाई ललिताको घोचपेच

बग्गीखानास्थित ट्राफिक प्रहरी कार्यालयको एउटा सरकारी क्वार्टर । भान्छाको संरचना उति व्यवस्थित देखिँदैन, तैपनि त्यसलाई सकेसम्म चिटिक्क बनाउने प्रयास गरिरहन्छिन् ललिता राई । पति डिआइजी गणेश राईका साथ यहीँ बस्छिन् उनी । प्रहरी परिवार महिला संघकी महासचिव उनी सफा अनि चिटिक्क भान्छाकी पारखी हुन् । बिहान नित्यकर्म सकाएर आफैं भान्सामा प्रवेश गर्छिन् । आफूले गर्नुपर्ने काम सकेपछि केही काम सहयोगीलाई पनि अह्राउँछिन् ।
भान्सामा काम गर्न उनलाई आनन्द लाग्छ रे ! सुनाइन्- ‘अरूको भर पर्न मन लाग्दैन, सकेसम्म आफैं पकाउन पाए हुन्थ्यो ।’ कुकिङ उनको सोख, त्यसैले आफूले पकाएको नमीठो नहुने बताउँदै थिइन् । सुनाउँछिन्- ‘मलाई सबै कुरा पकाउन आउँछ, मटन झनै मीठो बनाउने भए पनि हिजोआज हाम्रो भान्छामा पाग्दैन, माछा र बंगुर नै बढी पाक्छ ।’ खाना स्वस्थ हुनुपर्छ भन्नेमा आफू अत्यन्तै सचेत रहेको सुनाउँदै थिइन् । यद्यपि श्रीमान् र उनीबीचको रुचि भने केही फरक रहेछ । श्रीमान् मीठो खोज्दा रहेछन् तर एकदम सादा, चिल्लोपिरो नभएको । ललितालाई चाहिँ अमिलो-पिरोले जिब्रो फड्कार्नुपर्ने ।
छुट्टी अनि फुर्सदको समयमा आलुपराठा, ममजस्ता फरक परिकार पनि तयार हुन्छन् बग्गीखानाभित्रको यो सरकारी क्वार्टरमा । ब्रेकफास्ट खाइहाल्ने बानी रहेनछ ललितालाई, श्रीमान् र छोराछोरीका लागि चाहिँ तयार पारिदिन्छिन् । घरमा आफन्तको जमघट हुँदा पनि उनकै सीप चल्छ भान्सामा । काटकुटबाहेकका काममा अरूको सहयोगको अपेक्षा नै गर्दिनन् रे ! ‘पाहुनालाई आफ्नै हातले पकाएर खुवाउन पाउँदा रमाइलो लाग्छ’ -उनले सन्तुष्टि सुनाइन् । ललिताको रोजाइमा दूधको चिया बढीजसो पर्छ । सेलरोटीचाहिँ उनले अहिलेसम्म पनि बनाउन जानेकी रहिनछिन् ।
भान्सामा काम गर्ने क्रममा उनका हातका चुरासहित अर्को कुरा पनि बज्दो रहेछ- म्युजिक । आनन्दले म्युजिक बजाउँदै भाँडा, तरकारी, चुलो सुमसुम्याउँदै गर्दा उनलाई अलिकति पनि बोरिङ अनुभूति हुँदैन । कहिलेकाहीँ त श्रीमान्ले पकाएको पनि आफू खान पाए हुन्थ्योजस्तो लाग्दो रहेछ ललितालाई तर डिआइजी साहेबलाई पकाउने नाममा चियाबाहेक केही पनि आउँदो रहेनछ । आफ्नी दिदीलाई भिनाजुले पकाउनमा सहयोग गरेको देख्दा ललितालाई पनि श्रीमान्ले पकाएको खान रहर नलाग्ने त कहाँ हो रहेछ र ? तर, कहाँ पाउनु, एक त श्रीमान् पकाउने मामिलामा जिरो, त्यसमाथि सडक  विस्तार अभियानको बेफुर्सदी । मौका मिलाएर छेड हान्न भ्याइहालिन्- ‘अब त इच्छा पनि गर्दिनँ, जहिल्यै आफ्नै धुनमा मस्त, हाम्रो इच्छा बुझ्ने फुर्सद भए पो !’
उनलाई आफूले पकाएको परिवारले खुसी भएर खाइदिए हुन्थ्यो जस्तो लाग्छ । यस मामिलामा चाहिँ खोजेजस्तै रहेछन् श्रीमान् । असन्तुष्टि कहिल्यै जनाउँदैनन् । सादा र सरल खाना खुरुखुरु खाएर उठ्छन् । त्यसो त छोरी पनि खाना पकाउने मामिलामा कुशलै रहिछन्, उनले पकाएको मीठो लाग्दो रहेछ ललितालाई ।
रोजाइको परिकार बनाउनुपरे छोरी आफैं भान्छामा छिर्दी रहिछन् । छोराछोरीको रोजाइमा पास्ता, नुडल्सजस्ता खाना पर्दा रहेछन् । यो भान्सामा कहिल्यै नछुट्ने अर्को परिकार हो, हरियो साग । त्यो ललिताकै रोजाइ । सुनाइन्- ‘सागविनाको भान्सा नै अधुरो लाग्छ ।’ भाँडामा उनलाई मन पर्ने चरेस र काँस हुन् तर यो क्वार्टरमा त्यति उपलब्ध छैनन् । ‘घरमा त सबै काँसकै भाँडा प्रयोग हुन्छन्’ -भनिन् । पति भान्साका सामानचाहिँ यसो कहिलेकाहीँ किनेर ल्याइदिन्छन् कि ? ‘अहँ’, ललिताले फेरि पनि छेड हान्न भ्याइन्- ‘सँगै घुम्न गएका बेला बाटैमा देखेर आज यो किनेर लैजाऊँ न त भन्दा सहमति पाउनुसम्मको सहयोग छ ।’ तुरुन्तै असल अनि कुशल गृहिणीको भाषा बोलिन् ललिताले- ‘तर, गुनासो पनि छैन । म आफैंलाई पनि भान्साको काम मेरै हो जस्तो लाग्छ ।’
उनले बुझेकी छन्- पति कार्यालयको तनाबमा हुन्छन् । जिम्मेवारी ठूलो छ । घरको तनाब पतिलाई दिनै हुँदैन । सँगै बसिरहेका डिआइजी साप’ मुसुमुसु मुस्काए अनि ललितालाई फुक्र्याए- ‘घर बाहिर जाँदा यहाँको खाना निकै मिस गर्छु  ।’ त्यसो त स्वाद फेर्न परिवारै रेस्टुरेन्टतिर पनि जान्छ, छोराछोरीको आग्रहमा । रेस्टुरेन्टमा कुनै खाना मन परे सोधिहाल्दी रहिछन्- यो कसरी बनाउने । ‘यसै गरेर मैले थुप्रै परिकार बनाउन सिकेकी छु’ -उनले सुनाइन् ।

प्रतिक्रिया