‘तीन दल बैठकमा नेताहरुका आफ्नै अडान’

काठमाडौं, २६ चैत । प्रमुख तीन दलका बीच शान्ति प्रक्रिया र संविधानका बिवादित बिषयमा सहमति खोज्ने बिषयमा छलफल भएपनि आजपनि कुनै ठोस सहमति बिनै बैठक स्थगित भएको छ ।

सिंदरबारस्थित शान्ति तथा पुनः निर्माण मन्त्रालयमा आज बसेको तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकमा दलहरुको आ–आफ्नै अडानका कारण सहमति हुन नसकेको हो ।

सत्य निरुपण तथा मेल मिलाप आयोग एवं बेपत्ता छानविन आयोग गठनका विषयमा छलफल भएपनि त्यस बिषयमा समेत सहमति हुन नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । आयोगहरु गठनलाई अन्तिम रुप दिने भनिएपनि त्यस बिषयले समेत मूर्त रुप पाउन सकेन ।

दलहरुको भावना विपरित कानून मन्त्रालयको प्रस्तावित बिधेयक आएको भन्दै त्यसमा ठोस सहमति हुन नसकेको हो ।

प्रस्तावित विधेयकमा आन्तरिक छलफल र केही संशोधन गर्नुपर्ने भएका कारण पुनः अन्तिम निर्णयमा पुग्न नसकेको उपसभापति पौडेलले बताए ।

पौडेलका अनुसार कानून मन्त्रालयको प्रस्तावित बिधेयकमा ३ दलले नै संशोधनको आवश्यकता महसुस गरेका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, शान्ति र संविधान लगायतका बिषयमा समेत छलफल गरेका प्रमुख तीन दलले अर्को बैठकमा निकास खोज्ने जनाएका छन् ।

नयां संविधान निर्माणका क्रममा शासकीय स्वरुप, निर्वाचन प्रणली, न्याय प्रणाली, राज्य पुनसंरचना लगायतका बिषयमा बिवाद छ भने लडाकु समायोजनका दर्जा निर्धारण र महानिर्देशनालयमा लडाकुको प्रतिनिधित्वमा लगायतमा पनि बिवाद छ ।

तीन दलको बैठक बस्नु अघि दुई विपक्षी दल कांग्रेस र एमालेका नेताहरुवीच आन्तरिक छलफल समेत भएको थियो ।

प्रतिक्रिया