इस्लामावाद, २५ चैत । पाकिस्तान अधीनस्थ कास्मिरमा हिमस्खलनका कारण कम्तीमा सय पाकिस्तानी सैनिक पुरिएका छन् । पूर्वी काराकोरम पर्वतीय इलाकाको सियाचिन हिमनदीछेउ शनिबार हिमस्खलन भएको हो ।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल अतहर अब्बासले सेनाको एउटा शिविर भूस्खलनको चपेटामा परेको जानकारी दिए । कास्मिरको सुदूर पर्वतीय पहाडी इलाकाको सियाचिन क्षेत्रमा भारत र पाकिस्तानका हजारौ“ सैनिक तैनाथ छन् । भारत र पाकिस्तान अधीनस्थ कास्मिरको सीमा सियाचिनमा छुट्टिएकाले सुरक्षाका दृष्टिकोणले यो क्षेत्र ज्यादै संवेदनशील छ ।
केही सञ्चारमाध्यमले हिमस्खलनका कारण एक सय ३० सैनिक बरफमा पुरिएको जनाएका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भएको छैन । पुरिएका सैनिकको उद्धारका लागि पाकिस्तानी सेना सक्रिय भएको छ । यसका लागि हेलिकोप्टर र तालिमप्राप्त कुकुरलाई घटनास्थलमा पु¥याइएको छ ।
सियाचिन ग्लेस्यिरलाई विश्वकै सबैभन्दा उचाइमा रहेको युद्धभूमिका रुपमा चिनिन्छ । सो क्षेत्रको स्वामित्वसम्बन्धी विषय पाकिस्तान र भारतबीच विवादित बन्दै आएको छ । दुई देशका सैनिकबीच सो क्षेत्रमा पटक पटक भिडन्त भइसकेको छ तर भिडन्तमा परेर भन्दा बढी खराब मौसमका कारण त्यहा“ तैनाथ सैनिकको मृत्यु हुने गरेको बताइन्छ । (एजेन्सी)
प्रतिक्रिया