पाण्डेको ‘लू’ लोकार्पित

काठमाडौ , २५ चैत । लेखक एवम् उपन्यासकार नयनराज पाण्डेको नवीन उपन्यास लू शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ । साहित्यकार जगदीश घिमिरे, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, उपन्यासकार बुद्धिसागर र युग पाठकले सामूहिक रूपमा उक्त पुस्तक लोकार्पण गरेका हुन् ।
साहित्यकार घिमिरेले धेरै मानिसको पीडालाई वास्तविक रूपमा प्रस्ट्याउन सक्ने उपन्यास यो नै पहिलो भएको चर्चा गरे । उनले भने-  ‘उपन्यासमा ६० भन्दा बढी पात्रले हाम्रै सामाजिक परिवेशका यथार्थ बोलेका छन्, लाग्छ- यसभित्र हामी आफैं समावेश भएका छौं ।’ घिमिरेले ‘लू’ शीर्षकमार्फत दक्षिणतिरबाट आउने तातो हावाका कारण सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका पीडा विम्बात्मक एवम् यथार्थ रुपमा उजागर भएको बताए । सीमाविद्  श्रेष्ठले ६० हेक्टरभन्दा बढी नेपाली भूमि विदेशीले अतिक्रमण गरेको र रातारात नेपाली सीमास्तम्भ सारिएको कुरालाई उपन्यासले वास्तविकताको परिधिभित्र प्रस्तुत गरेको औंल्याए । बुद्धिसागर र  पाठकले पनि उपन्यासबारे समीक्षात्मक टिप्पणी गरेका थिए । यसअघि लेखक पाण्डेको उपन्यास उलारले निकै चर्चा कमाएको थियो । लू उनको पाँचौं उपन्यास हो ।

प्रतिक्रिया