बीस निजी विद्यालय कारबाहीमा

इलाम, २५ चैत । अनुमति नलिई सञ्चालनमा रहेका इलामका २० निजी विद्यालय कारबाहीमा पर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयले शिक्षा कार्यालयले सिफारिस गरेर पठाएका यस्ता विद्यालय बन्दको कारबाही सुरु गरेको हो ।
कार्यालयले नगरपालिकामा रहेको समता शिक्षा निकेतनसहित विभिन्न गाविसमा कक्षा एकसम्मको पनि अनुमति सञ्चालन गरिएका विद्यालय बन्द गराउन लागेको हो । ‘ती विद्यालयलाई सूचना टास गरी पटकपटक बन्द गर्न ताकेता गर्‍यौ,’ शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले भने, ‘अटेर गरेकाले कारबाही गर्न सिफारिस गरेर प्रशासनमा पठाएका हौ ।’
२ चैतमा बसेको शिक्षा समितिको बैठकले यस्ता विद्यालयलाई नया विद्यार्थी भर्ना नगर्न भनिसकेको छ । यसअघि जिल्लामा अनुमतिविना सञ्चालित ७१ विद्यालयमध्ये केही विद्यालयले अनुमति प्राप्त गरी नियमित सञ्चालनमा रहेको र केहीलाई सूचना टास गरी बन्द गराइएको शिक्षा कार्यालयले जनाएको छ ।
तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका ६ विद्यालयलाई तत्काल नियमन गराउन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले दीपज्योति इङ्लिस बोर्डिङ स्कुल गोर्खे, तीनजुरे इङ्लिस बोर्डिङ स्कुल चमैता, इर्मोटल इङ्लिस बोर्डिङ स्कुल चुलाचुली, न्यु मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल पञ्चकन्या, हेरोहोल्ड इङ्लिस बोर्डिङ स्कुल फिक्कल र सिंहदेवी इङ्लिस बोर्डिङ स्कुल कोल्बुङलाई अनुमतिप्राप्त तहसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
‘अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयलाई अनुमतिप्राप्त तहसम्म मात्र सञ्चालन गर्न भनेका छौ, जिशिअ पौडेलले भने, ‘अटेर गरी अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरे अनुमतिसमेत रद्द गरिनेछ ।’
यसअघि कार्यालयले एकैजना पनि विद्यार्थी नभएका चार सरकारी विद्यालय बन्द गरेको थियो । गोर्खेस्थित सरस्वती निवास प्रावि, श्रीअन्तुस्थित विद्याज्योति प्रावि, लक्ष्मीपुरस्थित गंगादेवी प्रावि र गजुरमुखीस्थित भानुभक्त प्रावि विद्यार्थी नभएपछि बन्द गरिएको हो ।

प्रतिक्रिया