एकताले मात्र उपलब्धिको रक्षा हुने

काठमाडौं, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलबीच सहमति, सहकार्य र सहयोग अपरिहार्य रहेको बताएका छन् ।
जनआन्दोलन दिवसका अवसरमा शनिबार विज्ञप्तिमार्फत कांग्रेस सभापति कोइरालाले दलहरूबीचको एकताले मात्र आन्दोलनका उपलब्धिको रक्षा हुने दाबी गरेका छन् । कोइरालाले सहमति र सहकार्य तोडेर शान्तिप्रक्रिया निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पार्दै विज्ञप्तिमा भनेका छन्, ‘यसतर्फ संवेदनशील हुन म सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैमा अनुरोध गर्दछु ।’
कोइरालाले सबै दलको सहकार्यले मात्र संविधानसभाको थप म्यादमा नया“ संविधान जारी गर्न सकिने उल्लेख गर्दै मुलुक संविधानसभामार्फत ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नया“ संविधान’ निर्माण गर्ने अन्तिम चरणमा प्रवेश गरेको विज्ञप्तिमा जनाएका छन् । सबैको भावना, चाहना र आकांक्षालाई संविधानमा समेट्दै देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रका रूपमा विकसित गर्न लोकतान्त्रिक अधिकार, मानवअधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न र शान्ति–सुरक्षाको प्रत्याभूतिका निमित्त कांग्रेस प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । उनले जनआन्दोलनकै भावना र मर्मअनुरूप संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै क्षेत्र, वर्ग, पेसा–व्यवसाय तथा समुदायको महत्वपूर्ण सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । (सौस)

प्रतिक्रिया