सोलुमा खुल्लमखुला फ्री–तिब्बत गतिविधि

काठमाडौ, २५ चैत । सोलुखुम्बुको लुक्ला–नाम्चेमा स्वतन्त्र तिब्बत समर्थकहरू ‘फ्री–तिब्बत’ लेखेका टिसर्ट लगाएर खुल्लमखुला हिड्छन् । तैपनि, स्थानीय प्रशासन मौन छ । स्थानीय बासिन्दाले पनि ‘फ्री–तिब्बत’ आन्दोलनकारीलाई सहयोग गरेकाले कारबाही गर्न गाह्रो भएको भन्दै प्रहरी उल्टै लाचारी देखाउछ ।
लुक्ला–नाम्चेको सीमा चीनको स्वशासित क्षेत्र तिब्बतसग जोडिएको छ । सीमाबाट ३० किलोमिटर आसपाससम्म आएर व्यापार व्यवसाय गर्न पाउने कानुनी व्यवस्थाको फाइदा उठाउदै ‘फ्री–तिब्बत’ समर्थकले लुक्ला–नाम्चेलाई आधार बनाएर आन्दोलन चर्काउने तयारी गरिरहेको स्रोतको दाबी छ । विभिन्न राजनीतिक दलका नेताले पनि उनीहरूलाई साथ दिइरहेका छन् ।
दुई साताअघि माओवादी भ्रातृसंगठन वाइसिएलका केन्द्रीय सदस्य घनश्याम नेपाली नेतृत्वको समूहले ‘फ्री–तिब्बत’ लेखेका टिसर्ट लगाएर लुक्ला घुम्दै गरेका पाच आन्दोलनकारीलाई नियन्त्रणमा लिएर टिसर्ट खोसेको थियो । टिसर्ट खोस्ने क्रममा उनीहरूबीच झडपसमेत भएको थियो ।
नेपाली नेतृत्वको समूहले ती आन्दोलनकारीलाई प्रहरीको जिम्मा लगाएको थियो । दुई दिन हिरासतमा राखेर प्रहरीले उनीहरूलाई छाडेको थियो । माओवादी सोलुखुम्बु पूर्वइन्चार्ज राजेन्द्र बस्नेतका अनुसार सुरुमा त प्रहरीले ‘उनीहरूलाई स्थानीय बासिन्दाको पनि सहयोग रहेको’ भन्दै पक्राउ गर्न आनाकानी
गरेको थियो । तर, युवाले दबाब दिएपछि मात्रै पक्राउ गरिएको हो ।
स्रोतका अनुसार पक्राउ परेर छुटेकाहरूकै अगुवाइमा अहिले लुक्ला–नाम्चे क्षेत्रमा खुला चलखेल भइरहेको छ, जसलाई संस्कृतिमन्त्री गोपाल किराती, माओवादी सभासद् आङदावा शेर्पा, माओवादी किरात राज्यसमितिका सचिवालय सदस्य ङिमातेन्डुप शेर्पा, माओवादी सोलुखुम्बु जिल्ला इन्चार्ज क¥याङ शेर्पा, एमाले सोलु जिल्ला अध्यक्ष आङङिमा लामालगायतको साथ रहेको स्रोतको दाबी छ ।
तर, माओवादी जिल्ला इन्चार्ज शेर्पा र एमाले अध्यक्ष लामाले भने ‘फ्री–तिब्बत’को आन्दोलनबारे आफूहरूलाई जानकारी नभएको दाबी गरे । ‘आन्दोलन नै सुरु भएको त मलाई थाहा छैन, सीमाको जिल्ला भएकाले अलिकति त्यस्तो गतिविधि हुन सक्छ,’ माओवादी इन्चार्ज शेर्पाले भने । आफू र आºनो पार्टीले त्यस्ता गतिविधि हुन नदिन सुरक्षा निकायलाई बारम्बार झकझक्याउने गरेको उनले बताए ।
एमाले जिल्ला अध्यक्ष लामाले पनि आन्दोलनप्रति अनभिज्ञता जनाए । ‘त्यस्तो आन्दोलन चलेको त मलाई थाहा छैन त,’ उनले भने । ‘फ्री–तिब्बत’ आन्दोलनकारीलाई राजनीतिक संरक्षण रहेको कुराको पनि उनले खण्डन गरे ।
मन्त्री किराती ‘फ्री–तिब्बत’ आन्दोलनलाई खुला समर्थन गर्ने नेताका रूपमा स्थानीयमाझ चिनिन्छन् । उनकै अग्रसरतामा सशस्त्र द्वन्द्वकालमा माओवादीमा संलग्न भएकाहरूलाई पछि पार्दै ‘फ्री–तिब्बत’ समर्थक आङदावा शेर्पालाई माओवादीले सभासद् बनाएको थियो । आङदावाकी आमा पनि तिब्बतीमूलकै हुन् । सल्लेरी गाविस–८ मा पर्ने च्याल्सा र जुनबेंसी गाविसमा पर्ने चुइङ गुम्बामा तिब्बती शरणार्थीको ठूलो बस्ती छ । च्याल्सामा शरणार्थी जीवन बिताइरहेकी आङदावाकी आमालाई गार्मा गाविस–७ का काजी शेर्पाले बिहे गरेका थिए ।
माओवादी सरकारमा रहेकै बेलासमेत आङदावाले सरकारी दैनिक गोरखापत्रमा ‘फ्री–तिब्बत’ आन्दोलनको समर्थनमा लेखेकी थिइन् । त्यही लेखकै कारण गोरखापत्रको शेर्पा भाषाको संयोजकबाट उनलाई हटाइएको थियो ।
सोलुखम्बुकै सल्लेरी–७ का ङिमातेन्डुप शेर्पा एमाले र शाही शासनकालमा गुम्बा विकास समितिका सदस्य–सचिव थिए । शाहीकालका स्थानीय विकासमन्त्री कृष्णलाल थकालीले उनलाई सदस्य–सचिवमा नियुक्त गरेका थिए । त्यही बेलादेखि उनी ‘फ्री–तिब्बत’ आन्दोलनकारीसग निकट भएको स्रोतले बतायो । उनी काठमाडौंको जोरपाटीस्थित कुनफेन मेडिकल क्लिनिकका सल्लाहकार पनि हुन् । कुनफेन मेडिकल क्लिनिकको नाम ‘फ्री–तिब्बत’ समर्थन गर्नेको अगुवा सूचीमा आउछ ।
गत २९ फागुनमा बसेको सोलुखम्बु जिल्ला परिषद्को बैठकमा पनि माओवादी इन्चार्ज शेर्पा र एमाले अध्यक्ष लामाले च्याल्सास्थित तिब्बती शरणार्थी शिविरभित्रको गुम्बालाई पैसा छुट्ट्याउन माग गरेका थिए । परिषद् बैठकले सो गुम्बालाई रकम छुट्ट्याउन अस्वीकार गरेपछि उनीहरूले सरकारविरुद्ध खेद प्रस्ताव लेखेको स्रोतको दाबी छ । स्रोतका अनुसार ‘फ्री–तिब्बत’ आन्दोलनकारीलाई सहयोग र उनीहरूको मनोबल उठाउन उनीहरूले शरणार्थी शिविरभित्र गुम्बा निर्माणका लागि रकम मागेका थिए ।
एमाले अध्यक्ष लामाले आफूले शिविरभित्रको कुनै गुम्बाका लागि पैसा नमागेको बताए । ‘रोयल्टीबापत जिल्लाले पाउनुपर्ने १८ करोड रुपिया माओवादी सरकारले निकासा नगरेका कारण परिषद् बैठकमा आएका अर्थराज्यमन्त्रीलाई विरोधपत्र बुझाएका हौ,’ उनले भने ।

प्रतिक्रिया