कान्छी मन्त्री

भनिन्छ, दक्षिण एसियाको राजनीतिमा वृद्ध–तन्त्र हाबी छ । राजनीतिमा लागेर जवानी खर्चिएका नेताले बुढ्यौली पनि राजनीतिमै बिताउन खोजेपछि यस क्षेत्रका युवाको राजनीतिक ‘स्पेस’ साघुरो बनेको गुनासो गरिन्छ । तर, यही साघुरो ‘स्पेस’भित्रै रहेर अगथा सङ्गमाले भारतीय राजनीतिमा दिनप्रतिदिन ‘तरक्की’ गरिरहेकी छिन् ।
जुलाई २४, १९८० मा जन्मिएकी अगथा भारतकी सबैभन्दा कान्छी सांसद हुन् । मेघालयबाट सांसद चुनिएकी उनी राष्ट्रवादी कंग्रेस पार्टी (एनसिपी) को छातामुनि रहेर राजनीति गरिरहेकी छिन् । राज्य सरकारको मन्त्रिपरिषद्मा ग्रामीण विकासमन्त्रीको हैसियतले काम गर्ने उनी भारतकी सबैभन्दा कान्छी मन्त्री पनि हुन् ।
परिवारका अभिभावक राजनीतिमा लागेकै भरमा भारतका युवा नेता राजनीतिमा जमिरहेका छन् भन्ने आरोपबाट अगथा पनि जोगिन भने सकेकी छैनन् । उनी भारतीय लोकसभाका पूर्वसभामुख पिए सङ्गमाकी छोरी हुन् । बाबु राजनीतिक रूपमा निष्क्रिय भएपछि राजनीतिमा दत्तचित्त भएर लाग्ने ढोका उनीसामु खुलेको थियो । सन् २००८ मा भएको १४औं लोकसभा उपनिर्वाचनमा उनी विजयी भइन् । २९ वर्षको उमेरमै उनी मन्त्री बनेकी थिइन् ।
नया“दिल्लीमा जन्मिएकी उनको बाल्यकाल भने मेघालयमा बितेको थियो । उनका दाजु कन्राद सङ्गमा पनि अहिले प्रतिपक्षी दलमा रहेर मेघालयमै राजनीति गरिरहेका छन् ।
पुने विश्वविद्यालयबाट एलएलबी गरेकी उनी दिल्ली उच्च न्यायालयको बार सदस्य भएकी थिइन् । बेलायतस्थित नोट्टिनघम विश्वविद्यालयबाट उनले वातावरण व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया