६ ठाउँमा बम राख्ने पूर्व–माओवादी कार्यकर्ता

काठमाडौं, २३ चैत । काठमाडौंसहित आसपासका ६ ठाउमा एकै दिन बम राख्ने व्यक्ति एकीकृत नेकपा (माओवादी)का पूर्वकार्यकर्ता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपाल कम्युनिस्ट पार्टी पिपुल्स वार ग्रुपको नाममा सर्वसाधारणलाई आतंकित पार्न खोज्ने तीन अभियुक्तलाई पक्राउपछि प्रहरीले गरेको पत्रकार सम्मेलनमा उनीहरूले ‘आफूहरू माओवादी कार्यकर्ता’ रहेको बताएका हुन् ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको बालकुमारी–७ का ३० वर्षीय मनीष उपनामका कमल खतिवडा उर्फ रणवीर, नुवाकोटकै हल्दे–८ का २९ वर्षीय रजमान तामाङ र राउतबेशी–६ का ३० वर्षीय चुडाबहादुर मोक्तान छन् । खतिवडा र तामाङ ०५५ सालदेखि माओवादीमा आबद्ध रहेको प्रहरी अनुसन्धानले देखाएको छ भने मोक्तान ०६१ सालमा नुवाकोट जिल्लाका ‘जनसरकार’ प्रमुख थिए ।
महाशाखा प्रमुख एसएसपी देवेन्द्र सुवेदीका अनुसार १६ चैतमा उनीहरूले नेपाल कम्युनिस्ट पार्टी पिपुल्स वार ग्रुप (पिडब्ल्युजी) नामक संगठन खोलेको पाइयो । नवगठित संगठनका खतिवडा महामन्त्री, तामाङ उपत्यका इन्चार्ज र मोक्तान सदस्य हुन् । ‘बम बनाउन पोख्त उनीहरूले सर्वसाधारणलाई त्रसित बनाउने उद्देश्यले विभिन्न स्थानमा बम राखेको देखिन्छ,’ एसएसपी सुवेदीले भने, ‘विगतमा विस्फोटकै कारण खतिवडाको दाहिने हात गुमेको छ ।’
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार पछिल्लो चरण पार्टीमा गुटगत स्वार्थ बढेपछि दिक्क भई उनीहरूले नया संगठन खोलेको देखियो । पत्रकार सम्मेलनमा ‘आफूहरू माओवादीमा अझै कार्यरत रहेको’ स्वीकार गरेका उनीहरूले बयानमा पनि यस्तै बताएको प्रहरीले जनाएको छ ।
गोकर्ण, तिलिङ्गेटार र चाबहिलमा चल्ने बसमा बुधबार उनीहरूले राखेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो । त्यस्तै, धादिङ र नुवाकोटमा पनि सकेट बम फेला परेको थियो । प्रहरीका अनुसार बा.१ख ७१२८ नम्बरको बसमा भेटिएको बम चाबहिलमा, बा.१ख ५१६८ नम्बरको बसमा फेला परेको बम तिलिंगेटारमा, बा.१ख ८४१० नम्बरको बसमा भेटिएको बम गोकर्णमा, बा.१ख ४१२६ नम्बरको बसमा भेटिएको बम धादिङको खानीखोलामा र बा.२ख १०१९ बसमा भेटिएको बम नुवाकोटको त्रिशूलीमा निष्क्रिय पारिएको थियो । उनीहरूले नै काठमाडौं मलको तेस्रो तलाको शौचालयमा पनि बम राखेका थिए ।
ललितपुरको हात्तीवनस्थित लिटल एन्जल्स स्कुलको गेटअगाडि, ओम नर्सिङ होम र दरबारमार्गको केएफसी अगाडिको डस्टबिनमा बम राखेको हल्ला उनीहरूले चलाएका थिए । उनीहरूको साथबाट प्रहरीले बम राख्न प्रयोग गरिएको मोटरसाइकल एक, मोबाइल तीन, सिमकार्ड चार, पेनड्राइभ एक र बम एक थानका साथै पर्चासमेत बरामद गरेको छ ।

प्रतिक्रिया