तीन महिनामा दुई हजार कामदार जाने

काठमाडौं, २२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०११ मा भएको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका दुई हजार कामदार रोजगारीका लागि कोरिया गएका छन् । रोजगारदाताले पठाएको मागअनुसार २०१२ सुरु भएपछि उनीहरू रोजगारीमा गएका हुन् ।
सन् २०१२ को मार्चसम्ममा दक्षिण कोरियाले करिब ६ हजारको श्रमकरार (लेबर कन्ट्र्याक) पठाएको छ । यसमध्ये सो अवधिमा उत्पादनमूलक क्षेत्रमा एक हजार पाच सय र कृषि क्षेत्रमा पाच सय कामदार गइसकेको इपिएसका निर्देशक महेश आचार्यले जानकारी दिए । जनवरीपछि प्रतिमहिना दुई हजारभन्दा बढीको श्रमकरार आइरहेको उनको भनाइ छ ।
अहिले श्रमकरार आइसकेका कामदार केही महिनाभित्रै कोरिया गइसक्ने पनि आचार्यले बताए । ‘कोरियाले तीन महिनाको अवधिमै करिब ६ हजारको श्रमकरार पठाइसकेको छ,’ उनले भने, ‘उनीहरू चाडै रोजगारीका लागि त्यहा“ जानेछन् ।’ आचार्यका अनुसार सन् २००८ पछि इपिएसअन्तर्गत कोरिया जानेको संख्या ११ हजार पाच सय पुगेको छ ।
इपिएसअन्तर्गत २०११ मा भएको भाषा परीक्षा उत्तीर्ण भएका १५ हजारलाई कोरियाले रोजगारीका लागि रोस्टरमा राखेको थियो । सन् २००७ मा नेपाल र दक्षिण कोरियाबीच कामदार लैजाने सम्झौता भएपछि २००८ बाट नेपाली युवाले कोरियामा रोजगारीको अवसर पाएका हुन् ।
पहिलोपटक सन् २००८ मा भएको भाषा परीक्षामा ६ हजार पा“च सय ८६, २०१० मा चार हजार ९६ र २०११ मा उत्पादनमूलक र कृषि क्षेत्रमा गरी १५ हजार युवालाई कोरियाले रोस्टरमा राखेको थियो । कोरियाले निजी क्षेत्रबाट कामदार नलिने भएकाले इपिएसअन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरे पछिमात्र कामदार त्यहा जान पाउछन् । तीनपटक भएको भाषा परीक्षामा उत्तीर्ण भएमध्ये अहिलेसम्म करिब चार सय कामदार स्वेच्छाले कोरिया नगएको इपिएसले जनाएको छ । पहिलोपटक भएको भाषा परीक्षा उत्तीर्ण कामदारले कोरिया जान लामो समयसम्म रोस्टरमा बस्नु परे पनि सन् २०११ मा भएका उत्तीर्णले भने यस वर्षभित्रै कोरिया जान पाउने इपिएसले जनाएको छ ।
इपएिसअन्तर्गत दक्षिण कोरिया रोजगारीमा जाने कामदारले उत्पादन क्षेत्रमा भए सातामा ४० घन्टा काम गर्नुपर्ने छ । तर, अन्य क्षेत्रमा गएकालाई भने रोजगारदाताले आपसी समझदारीमा काम गर्ने समयावधि तोक्ने गरेको आचार्यले बताए । यस वर्षदेखि कोरियाले कृषिक्षेत्रमा समेत कामदार लैजान सुरु गरेको र कामदार गएपछि रोजगारदातासगको सहमतिमा काम गर्नुपर्ने नियम रहेको उनले जनाए ।
पछिल्लो समय दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार थलो बनेको छ । कोरियाले नेपाललगायत १५ मुलुकबाट इपिएसअन्तर्गत कामदार लिने गरेको छ । सन् २००७ अघि निजी क्षेत्रबाट समेत नेपाली युवा रोजगारीका लागि कोरिया जाने गरेका थिए ।

प्रतिक्रिया