‘उपराष्ट्रपतिले जथाभावी बोल्न मिल्दैन’

काठमाडौं, २२ चैत । मधेसी जनअधिकार फोरम नेपालले उपराष्ट्रपति परमानन्द झालाई उच्च गरिमामय दपमा बसेर जथाभावी नबोल्न सुझाव दिएको छ ।

फोरम नेपालले आज राजधानीमा पत्रकार सम्मेलन गरेर उपराष्ट्रपति झाले अनावश्यक सार्वजनिक रुपमा बोल्ने गरेको आरोप लगाएको हो । फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान बन्दैन भनेर बोल्नु उपराष्ट्रपतिको मर्यादा विपरितको अभिव्यक्ति रहेको टिप्पणी गरे ।

उपराष्ट्रपति झाले मुलुकमा जेठ १४ गते भित्र संविधान नबन्ने मुलुकमा अब राजतन्त्र आउन सक्ने भन्ने अभिव्यक्ति दिएका थिए । झा फोरम नेपालका तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यसैबीच अध्यक्ष यादवले पहिचान सहितको संघीयताको माग गरेका छन् । उनले जेठ १४ गते संविधान बन्ने प्रसस्त समय रहेपनि प्रमुख ठूला दलका कारण समस्या आएको आरोप लगाए । उनले भने, ‘संविधान बनाउन प्रसस्त समय छ, ठूला दलका कारण द्वन्द्व निम्तिएको हो ।’

जेठ–१४ गते भित्र संविधान नबने राष्ट्रपति, सरकार र संवैधानिक निकायहरुमा संवैधानिक संकट आउने बताएका अध्यक्ष यादवले दलहरुप्रतिको जनताको विश्वास समेत घटेर जाने दाबी गरे ।

यसैवीच, फोरम नेपालले चैत २४ देखि २६ गते सम्म जनकपुरमा आफ्नो महाधिवेशन गर्ने भएको छ । महाधिवेशनबाट पार्टीको नयाँ नीति तथा कार्यक्रम ल्याउने यादवले बताए ।

प्रतिक्रिया