एक करोडको टाउको

इस्लामावादः अमेरिकाले पाकिस्तानमा सक्रिय चरमपन्थी संगठन जमात उद दावाका प्रमुख हाफिज सइदको टाउकाको मूल्य एक करोड अमेरिकी डलर तोकेको छ । हाफिजलाई पक्राउ गर्ने अथवा उनलाई पक्राउ गर्न सूचना दिएर सहयोग गर्नेलाई अमेरिकी सरकारले एक करोड डलर दिने घोषणा गरेको छ ।
अमेरिकाले टाउकाको मोल तोकेर इस्लाम र मुसलमान समुदायप्रति पुनः हमला गरेको प्रतिक्रिया जमात उद दावाले दिएको छ । भारतविरोधी बयान दिदै आएका हाफिज चरमपन्थी संगठन लस्कर–ए–तोइबाका संस्थापक हुन् । उनीमाथि भारतीय सहर मुम्बईमा भएको आतंकवादी हमलाका योजना बनाएको आरोप लगाइएको छ । आक्रमणमा परी एक सय ६० जनाको मृत्यु भएको थियो ।
अमेरिकाले संसारमा ‘आतंकवादका लागि जिम्मेवार’ व्यक्तिको सूची जारी गर्ने क्रममा हाफिजको टाउकाको मोल तोकेको हो । अमेरिकाले जारी गरेको सूचीको दोस्रो नम्बरमा हाफिजको नाम परेको छ । भारत भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री बेंडी शरमनले भारतीय अधिकारीहरूसमक्ष हाफिजका साला तथा लस्करका सहसंस्थापक अब्दुल रहान मक्कीको टाउकाको मोल दस करोड भारतीय रुपिया“ तोकिएको जानकारी दिइन् । चरमपन्थी संगठन अल कायदाका नेता अयमान अल जावाहिरीको टाउकोको मूल्य सबैभन्दा बढी दुई करोड ५० लाख अमेरिकी डलर तोकिएको छ । अलकायदाका नेता ओसामा बिन लादेन अमेरिकी सैनिकको कारबाहीमा परी गत वर्ष मारिएपछि जवाहिरी अलकायदा प्रमुख बनेका छन् । अमेरिकी सूचीको दोस्रो नम्बरमा हाफिज साइदसहित अबु दुआ र तालिबानका मुल्ला उमरजस्ता चरमपन्थी नेताको नाम छ ।
टाउकाको मोल तोक्ने अमेरिकी कदमको भारतले स्वागत गरेको छ । उसले हाफिजविरुद्ध कारबाही गर्न अग्रसर हुन अमेरिकासग आग्रहसमेत गरेको छ । भारतीय विदेशमन्त्री एसएम कृष्णाले ‘अमेरिकाले हाफिजविरुद्ध कारबाही गरे भारत ज्यादै प्रसन्न हुने’ बताए । मुम्बई हमलाका हाफिजकै हात रहेको बताउदै उनले आतंक मच्चाउनेलाई त्यसै छोड्न नसकिने धारणा व्यक्त गरे । हाफिजदले पाकिस्तानी भूमिमा आश्रय दिएको आरोपसमेत उनले लगाए । ‘उनी पाकिस्तानमा कतै सुरक्षित रहेका होलान् । आतंकवादीमाथि निगरानी राख्ने अमेरिकाले हाफिजमाथि पनि निगरानी राखेकै होला,’ उनले भने । (एजेन्सी)

प्रतिक्रिया