अँध्यारोले नकआउटको रि-म्याच


विराटनगर, २० चैत । विराटनगरमा जारी रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत हङकङ-नेप्लिज र मनाङ-मस्र्याङ्दीबीच सोमबार भएको खेलको विजेताको टुंगो मंगलबार बिहान मात्र लाग्ने भएको छ । अतिरिक्त समयमा पनि खेलको निर्णय नआएपछि टाइब्रेकरमा पुग्न लाग्दा रात परेकोले खेल रोकिएपछि निर्णय आउन नसकेको हो  ।
आयोजकले मंगलबार बिहान ८ बजे सो खेल पुनः सञ्चालन हुने जनाएको छ । नकआउट प्रतियोगितामा जित वा हारको नतिजा आउने भएकोले बराबरीको स्थितिमा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म पुग्ने गर्दछ ।
मनाङ र हङकङबीचको खेल निर्धारित समयमा २-२ ले बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले थप गोल गर्न सकेनन् । स्थानीय सहिद रंगशालामा भएको सो खेलमा अतिरिक्तका रूपमा २० मिनेट समय थपिएको थियो ।
आयोजकले पेनाल्टी सुटआउटमा विजयी घोषित गर्ने तैयारी गरे पनि झमक्क साँझ परेकोले खेल अगाडि बढ्न नसकेको हो । खेल सुरु भएको १०आंै मिनेटमा मनाङले सुरुआती अग्रता लिएको थियो । तर, गोल खाएलगत्तै आक्रामक बनेको हङकङ २०औं मिनेटमा बराबरीमा आइपुग्यो ।  विशाल राई ‘ए’को गोलमार्फत बराबरीमा आइपुगेको हङकङले त्यसको पाँचांै मिनेटमै २—१ ले अग्रता लिएको थियो ।
तर खेलमा फकर्ंदै मनाङले ३४आं मिनेटमा एम्वाइलको गोलमा खेललाई २—२ गोलको बराबरीमा ल्याइपुर्‍याएको थियो ।
दोस्रो हाफमा दुवै टिमका खेलाडीले टिमलाई अग्रता दिलाउन गोल गर्ने प्रयत्न गरे तर सफल भएनन् । दुवै टिमको पटक-पटकको प्रयास खेर गएको थियो । दोस्रो हाफको सुरुमा मनाङले खेलमा दबाब कायम राखेको भए पनि २०औं  मिनेटपछि हङकङले दबाब बनाउन भरमग्दुर प्रयास गरेको थियो । मनाङका अमितकुमार श्रेष्ठले २० यार्डबाट गरेको बलियो प्रहार हङकङका गोलकिपर मीन बस्नेतले सुन्दर बचाउ गरेका थिए ।

प्रतिक्रिया