डेढ लाख पर्यटक भित्रिए

काठमाडौं, २० चैत । सन् २०१२ को पहिलो तीन महिनामा करिब डेढ लाख विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको तथ्यांकअनुसार जनवरी, फेब्रुअरी र मार्च महिनामा १ लाख ४८ हजार ५ सय ४६ पर्यटक नेपाल भित्रिएका हुन् ।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । पर्यटन वर्ष २०११ को पहिलो तीन महिनामा १ लाख १६ हजार ९ सय ८९ पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । पर्यटन वर्षमा गरिएको प्रचारप्रसारका कारण पर्यटक आगमन बढेको सरकारी अधिकारीको भनाइ छ । व्यवसायीका अनुसार यो ट्रेकिङको सिजनमा नेपाल आउने पर्यटकमध्ये अधिकांश टे«किङमा जाने गर्छन् । तीनमहिने अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट आएको तथ्यांक छ । भारतबाट हवाई मार्ग हु“दै ३७ हजार ५ सय ४३ पर्यटक आएका छन् । भारतपछि बढी पर्यटक आउने मुलुकमा चीन, अमेरिका, बेलायत, जापान, जर्मनी र कोरिया छन् ।
पहिलो तीन महिनामा सार्क क्षेत्रबाट ४४ हजार पर्यटक आएका छन् भने अन्य एसियाली मुलुकबाट ३५ हजार २ सय ७२ पर्यटक आएको तथ्यांक छ । युरोपियन मुलुकबाट ३९ हजार पर्यटक भित्रिएका छन् भने अमेरिकी पर्यटक १२ हजार आएका छन् ।
यो वर्षको मार्च महिनामा ६३ हजार ७ सय ९९ पर्यटक भित्रिएको अध्यागमन कार्यालयको तथ्यांक छ । यो महिना सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । गत वर्षको मार्चमा ९ हजार ६ सय २८ भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएकोमा यस वर्षको मार्चमा यो संख्या १६ हजार २ सय ३४ पुगेको छ ।
सार्क मुलुकका पर्यटक ६१.४ प्रतिशतले बढेका छन् भने एसियाली मुलुकका पर्यटकको आगमन वृद्धिदर २१.५ प्रतिशत छ । त्यस्तै युरोपियन पर्यटक ४२ प्रतिशतले बढेका छन् । यो महिना पर्यटक आगमन वृद्धिदर ३७ प्रतिशत छ । नेपाल भित्रिने पर्यटकको संख्या सन् २००९ जुनदेखि नै बढ्दो क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया