सहकारी विशेष

राजेन्द्रप्रसाद पाण्डे
अध्यक्ष
स्वास्थ्य केन्द्रीय सहकारी संघ

स्वास्थ्य केन्द्रीय सहकारी संघ देशभर छरिएर रहेका स्वास्थ्य सहकारी संस्थाको छाता संस्था हो । सहकारीमार्फत स्वास्थ्य क्षेत्रको विकास तथा स्वस्थ्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्न सरकारलाई नीतिगत दबाब दिनकै लागि संघ स्थापना भएको हो । अहिले मुलुकभर ६१ वटा प्रारम्भिक स्वास्थ्य सहकारी संस्था सञ्चालनमा छन् । सहकारीलाई माध्यम बनाएर स्वास्थ्य क्षेत्रमा विद्यमान समस्या समाधान गर्ने तथा विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य संस्था सञ्चालन गर्ने कार्यक्रम संघले सुरु गरेको छ । २६ असार २०६८ मा स्थापना भएको संघले गत भदौ २४ गते प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ । संघमा हालसम्म २८ वटा स्वास्थ्य सहकारी संस्था आबद्ध छन् । काठमाडौंको स्वयम्भूमा कार्यालय रहेको सो संघले स्थापनादेखि नै स्वास्थ्य क्षेत्रको विकास र नीतिगत परिवर्तनका काम सुरु गरिसकेको छ । ५५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा पनि स्वास्थ्य केन्दि्रत कार्यक्रम गर्ने र विभिन्न अस्पतालमा रक्तदान गर्नेलगायतका कार्यक्रम संघले गर्ने भएको छ ।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०१२ को अवसर पारेर संघले सहकारीमार्फत नै तीन सय शय्याको मनमोहन मेमोरियल अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सो अस्पतालमा गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्ने तथा गरिब जनतामा समेत सेवा विस्तार गरिने संघको कार्यक्रम छ । स्वास्थ्य सेवाका नाममा भइरहेका अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने तथा हुनेखाने र विपन्न वर्गका बीचमा देखिएको स्वास्थ्य सेवाको खाडललाई पुर्दै गरिब जनताको स्वास्थ्य अधिकार स्थापित गर्ने कार्यक्रम संघले सुरु गरेको छ । समाजमा धनी र गरिबका बीचमा देखिएको स्वास्थ्य पहुँच र विभेदलाई अन्त्य गर्दै स्वास्थ्य सबैको अधिकार भन्ने अभिप्रायः राखेर यो संघ स्थापित भएको हो । ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्‍याउने र यसले दुर्गम गउँसम्म सहकारीका माध्यमले स्वास्थ्यसेवा विस्तारमा जोड दिने, अहिले देखिएका विद्यमान स्वास्थ्य समस्यालाई नीतिगत रूपमा सुधार गर्न सरकारलाई दबाब दिन र यसको दीर्घकालीन महत्त्व स्थापित गर्ने रणनीति लिएको छ । नीतिगत सुधार नगरी स्वास्थ्य क्षेत्रका समस्या अन्त्य नहुने भएकाले नै सरकारसँग सहकार्यसमेत गर्दै तिनको सुधार गर्न संघले कार्यायोजना तयार पारेको छ ।
प्रस्तुतिः किरण ढकाल

सहकारीमा राजनीति गर्नु भएन

केशव बहादुर थापा

प्रमुख, डिभिजन सहकारी कार्यालय काठमाडौं

 

अन्तर्राष्ट्रिय सहकारी वर्ष र राष्ट्रिय सहकारी दिवसलाई देशका सबै सहकारी संस्थाहरू मिलेर मनाउनु पर्छ । यसलाई सहकारी भावनाअनुसार नै मनाउन उचित हुन्छ । यतिखेर विभिन्न सहकारी संस्थाहरू मिलेर सीतापाइलामा विभिन्न कार्यक्रम गर्दै छन् । तिनमा अन्तर्त्रिmया, र्‍याली, शुभकामनालगायत रहेका छन् । यस्ता कार्यक्रम सरकारले भन्दा पनि सहकारी अभियानले आफं अग्रसर भएर गर्नु राम्रो हो भन्ने लाग्छ ।

सहकारीमा आबद्ध व्यक्तिले राजनीति गर्नु हुँदैन । पछिल्लो समयमा सहकारीमा राजनीतीकरण भएको छ । सहकारी मूल्य-मान्यता र सिद्धान्तअनुरूप सञ्चालन गर्नु पर्छ । काठमाडौंमा मात्र करिब चार हजार सहकारी संस्था दर्ता भएका छन् । नेपालको सबैभन्दा बढी सहकारी र कारोबार पनि काठमाडौं जिल्लामै रहेको छ

‘सूचना केन्द्र स्थापनाको तयारीमा छौं’

विष्णुहरि ढकाल
अध्यक्ष, नेपाल केन्द्रीय सञ्चार सहकारी संघ

नेपाल केन्द्रीय सञ्चार सहकारी संघ सहकारीमार्फत आर्थिक विकासका मुद्दाहरू आमसञ्चार माध्यममा लैजाने तथा विश्वको सहकारी आन्दोलनलाई सञ्चार माध्यमकै क्षेत्रबाट उठाउँदै लैजाने उद्देश्यले स्थापना भएको हो । सहकारीका माध्यबाट आर्थिक विकास र स्वरोजगार सिर्जना गर्न नीति निर्माण तहमा दबाब सिर्जना गर्ने कामसमेत संघले गर्दै आएको छ ।
यही उद्देश्यले गत साउन १६ गते विधिवत स्थापना भएको संघमा अहिले ४० वटा सञ्चार सहकारी आबद्ध छन् । मुलुकभर हालसम्म ६० वटा सञ्चार सहकारी रहेका छन् । आर्थिक समृद्धि र दिगो विकासको माध्यम सहकारी नै हो भन्ने कुरा आमजनतामा पुर्‍याउने तथा यसका लागि नीति निर्माणमा सहयोग र सहभागिता जनाउने काम संघले गर्ने गर्दछ । राष्ट्रिय सहकारी विकास बोर्डले अहिले सहकारी नीति निर्माण गरिरहेकाले त्यहाँसमेत आफ्नो दरिलो सहभागिता संघले जनाएको छ । यसका लागि केकस्ता विषयहरू समेट्नु पर्ने तथा मुलुकको आर्थिक विकासको आधार सहकारी हो कि होइन भन्ने विषयमा सरकार र विभिन्न निकायसँग अन्तर्त्रिmया गर्ने कार्यक्रम संघले गर्दै आएको छ । केन्द्रीय सहकारी संघले समेत अहिले सहकारीका माध्यमबाट दिगो विकास सम्भव छ भन्ने उद्देश्यले तयार पारिरहेको रणनीतिक योजनामा बलियो उपस्थिति संघले जनाएको छ । सहकारी आन्दोलनलाई मजबुत बनाउन आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भएकाले सहकारीका गतिविधि सञ्चार माध्यममा बढीभन्दा बढी लैजान पुलको कामसमेत संघले गर्दै आएको छ ।
यसलाई अझ प्रभावकारी बनाउन सहकारी सूचना केन्द्र सुरु गर्ने तयारीमा संघ रहेको छ । सन् २०१२ अन्तर्राष्ट्रिय सहकारी वर्ष रहेकाले त्यसको प्रचार-प्रसारका लागि विश्वको सर्वोच्च शिखर सगरमाथामा अन्तर्राष्ट्रिय सहकारी वर्षको लोगो र झन्डा फहराउने कार्यक्रमसमेत संघले अघि बढाएको छ । विश्वलाई सहकारीप्रति ध्यान केन्दि्रत गर्न संघले सो कार्यक्रम गर्न लागेको हो ।

संघमा आबद्ध संस्था सक्षम छन्

खेमबहादुर पाठक-अध्यक्ष
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड

देशभर करिब तनि हजार पाँच सय कृषि सहकारी संस्था छन् । यसमा साढे पाँच लाख मानिसआबद्ध छन् । सदस्यता बढाउनभन्दा पनि आबद्धसंस्थालाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्ने भन्नेमा हामी लागेका छौं । जति आबद्ध छन् तिनीहरू सक्षम र सवल छन् भन्ने मलाई लाग्छ । कृषि क्षेत्रको विकास, व्यावसायिकीकरण, वैज्ञानिकीकरण र बजारीकरण गर्न विभिन्न कार्यहरू गर्नु आवश्यक छ । कृषकहरूको ज्ञान सीप र प्रविधिमा विकास गरी उत्पादन एवं उत्पादकत्वमा वृद्धि गर्ने काम संघले गर्दै आएको छ । हाल कृषि सहकारी संस्थामा ६ अर्बको लगानी छ ।
कृषिको पहिलो प्राथमिकता पशुमा रहेको छ । मासुजन्य र दूध व्यवसायका लागि बढी लगानी छ । १५ अर्बको मासु आयातलाई प्रतिस्थापन गर्न र दूधको संकट रहेकाले यसको परिपूर्ति गर्न कृषिमा लगानी बढाउनु आवश्यक छ । जसका लागि सहकारी उपयुक्त माध्यम हो । सहकारीमा लाग्ने मानिस बढिरहेका छन् । लगानीअनुसार उत्पादन पनि राम्रै छ । उत्पादित वस्तुलाई बजारीकरण राम्रो तरिकाले गर्ने हो भने कृषि सहकारी फस्टाउने थियो । सरकारले काठमाडौंमा एउटा कृषि सहकारी, किसानको छुट्टै बजार स्थापना गरिदिने पर्‍यो । कालीमाटी बजार भनेको त्यो व्यापारीहरूको मुठीभित्रको बजार हो ।

‘७० जिल्लालाई नेटवर्किङ गर्ने योजना छ’

केबी उप्रेती
प्रबन्ध सञ्चालक
राष्ट्रिय सहकारी बैंक

बैंक स्थापनाको उद्देश्य के हो ?
२०६० साल असार २५ गते सहकारी विभागमा राष्ट्रिय सहकारी बैंक दर्ता भएको थियो । बैंकको स्थापना देशभरका सहकारीकर्मीको माग र दबाबबाट भएको हो । आर्थिक कारोबार भने २०६१ साउनदेखि सुरु गरेको थियो । गत वर्ष मात्र नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति पनि पाएको छ । नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ, विषयगत केन्द्रीय सहकारी संघहरू, जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाहरू यसका सदस्य बन्न सक्छन् । सदस्यहरूको वित्तिय आवश्यकता पूरा गर्न विभिन्न बचत तथा निक्षेप योजनाहरू आकर्षक ब्याजदरका साथ सञ्चालन गर्नु, समयसापेक्ष ब्याजदरमा कर्जा उपलब्ध गराउनु बैंकको उद्देश्य हो ।
बैंकले गर्ने मुख्य-मुख्य काम के-के हुन् ?
शाखा विस्तार गर्दै सदस्य संख्या, चुक्तापुँजी र निक्षेप कारोबार बढाएर लाभांश बढाउँदै लैजाने कार्यक्रम बैंकले सञ्चालन गरिरहेको छ । ग्रामीण एवं साना मझौला र ठूला उद्योगमा समेत लगानी गर्ने बैंकको नीति छ । ग्रामीण तथा सहरी क्षेत्रमा बैंकिङ कारोबार गर्ने, सदस्य सहकारी संघसंस्थाको निक्षेप व्यवस्थापन र उपयुक्त लाभ उपलब्ध गराउने काम बैंकले गरिरहेको छ । साथै स्वदेशी तथा विदेशी सहकारी तथा निजी क्षेत्रसँगको संयुक्त लगानीमा सहकारी विकासका लागि आवश्यक काम गर्ने तथा निक्षेप सेयर, तथा अन्य पुँजी व्यवस्थापनमा वृद्धि गर्दै थप बैंकिङ कारोबार गर्ने योजना बैंकको छ ।
बैंकले हालसम्म हासिल गरेका उपलब्धि के-के हुन् ?
आर्थिक वर्ष २०६७/६८ को नाफाबाट १० प्रतिशत लाभांश वितरण गरेका छौँ । शाखाहरूको विस्तार हुनाका साथै सदस्य संघसंस्थाको सहभागितामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा ९० करोड रुपियाँ निक्षेप संकलन गर्ने लक्ष्य रहेकामा एक अर्ब २३ करोड रुपियाँ संकलन भएको छ ।

प्रस्तुतिः लक्ष्मीप्रसाद खतिवडा

आठ लाख संगठित छन्

मीनराज काडेल, अध्यक्ष
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)

अन्तर्राष्ट्रिय सहकारी वर्षका अवसरमा बचत तथा ऋण सहकारीको शिखर गोष्ठी माघ २८ र २९ गते सम्पन्न गर्‍यौं । गोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । जारी घोषणापत्र कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं । गोष्ठीमा करिब चार सय सहकारीको सहभागिता रहेको थियो । संघको यसै वर्ष स्वर्णवर्ष परेकाले यी दुवैलाई लक्षित गरी थप कार्यक्रम घोषणा गरी मनाउँदै छांै ।  हामी संघआबद्ध रहेका सबै संघ/संस्थाहरूलाई सहकारी वर्ष अवधिभरिमा एउटा न एउटा नयाँ कामको थालनी गर्न आग्रह गरेका छौं । यो बचत तथा ऋण सहकारी संघ/संस्थाको प्रतिनिधिमूलक संघ हो । यसको स्थापना २०४५ साउन ३२ गते र दर्ता भने २०५० साल भदौ २९ गते भएको हो । संघले एसियाली ऋण महासंघ र सोमार्फत विश्वऋण परिषद्सँग आबद्धता कायम गरेको छ । अहिले ४० वटा जिल्ला संघ र ११ सय ४७ संस्थाहरू यसमा आबद्ध छन् भने आठ लाख मानिस संगठित छन् । २२ अर्ब सेयर पुँजी रहेको छ ।

 

“हाइड्रोमा लगानी गर्ने योजना छ”

विन्देश्वर श्रेष्ठ, प्रमुख
संकटा बचत तथा ऋण सहकारी संस्था

संकटा बचत तथा ऋण सहकारी संस्था २०५६ सालमा स्थापना भएको हो । सो संस्थाको चुक्ता पुँजी पाँच करोडभन्दा बढी पुगिसकेको छ । करिब ६० लाख रुपियाँ लगानी रहेको संकटामा करिब २२ सय सदस्य छन् । सहकारीको माध्यमबाट रोजगारी सिर्जना गर्ने अभियान सुरु गरेको संकटाले सवारी चालकलाई सवारीधनी बनाउने अभियानसमेत चलाएको छ । सो अभियानअन्तर्गत अहिले पनि एक सय ५० भन्दाबढी सफा टेम्पोमा वित्तीय सहयोग रहेको जनाइएको छ । ठूलो संख्यामा सवारी चालक सवारी धनी भइसकेको संकटाको तथ्यांक छ । निम्नवर्गीय मानिसका लागि रोजगारमूलक अभियान सञ्चालन गरेको छ संकटाले । यस्तै, सुपथ मूल्यको डिपार्टमेन्ट स्टोर सञ्चालनसमेत गरेको छ । सो स्टोरमा सबै प्रकारका उपभोग्य वस्तु पाइन्छन् । उत्पादनमुलक क्षेत्रमा लगानी तथा महिलाका लागि स्वेटर बुनाइ तालिमलगायत कार्यक्रम गर्दै आएको छ ।

 

‘सदस्यता विस्तार गर्नेछौं’

गणेश बस्नेत, अध्यक्ष
नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लि
सहकारिताका माध्यमबाट नेपालमा मौरीपालक र तिनको महउत्पादनको व्यावसायिकीकरण र बजार व्यवस्थापन गर्नकै लागि नेपाल मौरीपालक केन्द्रीय सहकारी संघ लि स्थापना भएको हो । विसं २०६४ मंसिर ५ गते यो संघ गठन भएको हो । मौरी व्यवसायसँग सम्बन्धित गरिब, पिछडा, महिलाहरूलाई सहकारीमा आबद्ध गराई आर्थिक विकास गर्नमा संघको भूमिका रहेको छ । मौरी व्यवसायमा १५ हजार किसान सक्रिय छन् । व्यावसायिक रूपले एकदेखि सवा लाखभन्दा बढी मौरीका घार रहेका छन् भने ४७ सहकारी संस्था संघमा आबद्ध छन् । सहकारी वर्ष सुरु भएपछि संघले चार संस्था थप गरिसकेको छ । पर्वत, रसुवा, दैलेखलगायतका जिल्ला गरी सहकारी वर्षभरमा ८० को हाराहारीमा सदस्यता बनाउने लक्ष्य संघको रहेको छ । संघले मौरीपालन तथा मौरीजन्य व्यवसायको प्रवर्द्धन, मह प्रशोधन केन्द्र स्थापना, आम सदस्यहरूमा सहकारी शिक्षा तथा सीप, चेतना प्रदान गर्नेलगायतका उद्देश्य राखेको छ ।

 

‘बहुउद्देश्यीय केन्द्रीय संघ आजको आवश्यकता’
सुरेन्द्र भण्डारी
अध्यक्ष
प्रस्तावित नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ अहिले दर्ता प्रक्रियामा अघिबढिरहेको छ । ३ असोज २०६८ मा संघको दर्ता प्रक्रिया सुरु भएको हो । करिब ६ महिनाअघि दर्ता प्रक्रिया सुरु भए पनि विभिन्न कारणले संघले दर्ता प्रमाणपत्र पाएको छैन । अन्य विभिन्न केन्द्रीय संघ जस्तै बहुउद्देश्यीय सहकारीको पनि छाता संस्था स्थापना हुनुपर्छ भनेर सो संघ दर्ता प्रक्रियामा आएको हो । अहिले मुलुकभर चार हजार दुई सय बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा छन् । ती संस्थाको कारोबार ३० अर्बबढी छ । बहुउद्देश्यीय सहकारीमा १० लाख सदस्य छन् । उनीहरूको छाता संस्थाको रूपमा नै संघ स्थापना हुन खोजेको भए पनि सहकारीभित्र देखिएको राजनीतिकै कारण प्रक्रिया ढिलो भएको हो । यसैबीचमा १० जिल्लामा बहुउद्देश्यीय सहकारी जिल्ला संघसमेत गठन भइसकेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, चितवन, धादिङ, नुवाकोट, मकवानपुर, रसुवामा जिल्ला संघ गठन भइसकेको छ ।

 

 

‘अन्तरलगानीमा जोड दिएका छौं’

रामशरण घिमिरे, अध्यक्ष
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ

३ कात्तिक, २०५० मा संघ विधिवत दर्ता भएको हो । सत्रौं वाषिर्क साधारणसभा पछिको नयाँ सञ्चालक समितिमा १३ जना सञ्चालक रहेका छन् । समितिमा युवा सहकारीकर्मीको प्रतिनिधित्व छ । यो वर्ष सहकारी वर्ष हो । संघले वर्षभरि नै विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छ । ललितपुरमा धेरैजसो ग्रामीण क्षेत्र रहेकाले सो क्षेत्रमा सहकारी चेतना फैलाउने कार्यक्रम तय गरेका छौं । गत वर्ष अन्य जिल्लाका तुलनामा ललितपुरको उत्कृष्ट कार्यक्रम भएको थियो । यो सालको सहकारी दिवसमा सञ्चालक समितिको बैठकले बृहत् रक्तदान कार्यक्रम तय गरेको   छ । दिवसकै दिन चाहिँ बृहत् रक्तदान कार्यक्रम गर्न लागेका छौं । संघको तीनवर्षे कार्यकालमा अन्तरलगानीको कारोबारलाई ७० लाखबाट तीन करोड रुपियाँ पुर्‍याउने, सहकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, भ्रमण तथा अन्तर्त्रिmया कार्यक्रम आयोजना गर्ने रहेको छ ।

‘उपभोक्तालाई सहुलियत कार्यक्रम गर्दै आएका छौं’
दीपकराज पौडेल, अध्यक्ष
केन्द्रीय उपभोक्ता सहकारी
संघ लिमिटेड

केन्द्रीय उपभोक्ता सहकारी संघ लिमिटेड सहकारीमार्फत उपभोक्तालाई सहुलियत मूल्यमा उपभोग्य वस्तु बिक्रीवितरण गर्ने तथा उत्पादित वस्तुको बजारीकरण गर्ने उद्देश्यले स्थापित भएका उपभोक्ता सहकारी संस्थाको छाता संगठन हो । ३ भदौ ०५० मा स्थापना भएको संघमा अहिलेसम्म एक सय १४ वटा उपभोक्ता सहकारी आबद्ध छन् । थप ३० वटा उपभोक्ता सहकारीहरू संघमा आबद्ध हुनका लागि अन्तिम तयारीमा पुगेका छन् । आगामी २० चैतमा हुन गइरहेको ५५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा संघले सहकारी व्यवसायमार्फत ‘समृद्ध नेपालको निमार्ण’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ । देशभरका उपभोक्ता सहकारीहरूले आफ्नो व्यावसायिक विकासमा थप सशक्त भएर लाग्ने प्रण गर्दै र्‍याली तथा सभा-सम्मेलन गर्दै छन् ।                     प्रस्तुति : किरण ढकाल

प्रतिक्रिया