‘दलित माथि हिंसा गर्नेलाई कारबाहीको माग’

काठमाडौं, १९ चैत । महिला बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको ‘जातीय भेदभाव छुवाछूत समस्या र समाधानका उपायहरू’ अध्ययन गर्न गठित उपसमितिले सप्तरीको घटनाका बारेमा छानबिन गरी दोषीमाथि कारबाही गर्न सुझाव दिएको छ ।

सप्तरीको पङ्सेरा गाविस–५ बस्ने २१ वर्षीय शिवशङ्कर दासलाई स्थानीय चौधरी जातीको युवतीसँग प्रेम गरेका कारण युवतीका आफन्तले गत माघ १६ गते निर्घात कुटपिट गरी विष खुवाएर मारेको पीडित परिवारको भनाइ छ ।

घटनापछि आरोपितहरु फरार रहेका र प्रहरीले उजुरी दर्ता गर्न नमानेको आफन्तहरुले जनाएका छन् ।

उपसमितिका संयोजक विनोद पहाडीको संयोजनमा आज सिंहदरबारमा बसेको बैठकमा उपसमितिका सदस्यहरुले तत्काल घटनाको छानबिन गरी, सत्य तथ्य पत्ता लगाइ दोषीलाई कानूनी कठघरामा ल्याउनुपर्ने, पीडितलाई न्याय सहित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग गरे ।

सभासद् गोविन्द नेपालीले दलितसम्बन्धी घटनाका दोषीलाई राजनीतिक दल र त्यसका नेताहरुले संरक्षण दिने गरेको आरोप लगाउँदै घटनाका बारेमा राष्ट्रिय दलित आयोग, दलित गैरसरकारी संस्था महासङ्घ, इन्सेकलगायतको टोलीले स्थलगत अनुगमन गरिसेकेको अवस्थामा घटनाप्रति राज्य बेखबर हुनु दुःखद रहेको बताए ।

सभासद् लीला सुब्बा, अमिलाल झागड, आशाकुमारी सरदार शीला कतिला, विमला नेपालीलगायतले दलितको अत्याचार बढ्दै जाने तर राज्य मौन रहिरहदा दलितहरु चुप लागेर बस्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया