पूर्वराजालाई भेट्नेमा ठूला दलका नेता सम्म

कैलाली, १९ चैत । बिशुद्ध धार्मिक भ्रमण भनेर गत १६ गते सुदूरपश्चिम आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई पनि बराबर निरन्तरता दिएका छन् ।

उनलाई भेटगर्नेमा साना दलदेखि एकीकृत माओवादी, कांग्रेस र एमालेका स्थानीय नेता सम्म छन् ।

दिउँसो पुजापाठमा व्यस्त रहेपनि साँझ, बिहान भने उनी वसेको धनगढीस्थित रुवस होटलमा राजनीतिक दलहरु र समर्थकहरुसंग गोप्य छलफल गर्ने गरेका छन् ।

भेट्न आउनेहरुको नाम लिष्ट बनाई भेटघाटको चाँजोपाँजो मिलाइरहेका राप्रपा
नेपालका नेता तथा मुल स्वागत समारोह समितिका सचिव छत्र शाहीले केही राजनीतिक दलहरुसँग भेटको क्रममा वर्तमान राजनीतिक अवस्था बारेमा छलफल भएको बताए ।

शाहीले पूर्व राजा शाहसँग भेटगर्ने दलका नेता तथा कार्यकर्ताहरुको नाम भने सार्वजनिक गर्न मानेनन् । उनले भने, ‘भेटमा राजनीतिक विषयवस्तु, शान्ति प्रक्रिया, सेना समायोजन र संविधान निर्माणका विषयमा छलफल भएको छ ।’

पूर्व राजा शाहसँग शुभेच्छुकहरुले राजसंस्था र हिन्दु राज्य आवश्यक रहेको भन्दै सक्रिय हुन समेत सुझाव दिएका छन् ।

पूर्वराजा शाहको मूल स्वागत समारोह समितिका सदस्य हरिलाल भट्टराईले आफूहरु पूर्व योजना अनुसार सफल भइरहेको प्रतिक्रिया दिए ।

पूर्वराजा शाहसँग राजनीतिक छलफलका लागि राजसंस्थामा आस्था राख्ने राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, शिव सेना नेपालका जिल्ला तथा

सुदूरपश्चिम क्षेत्रका नेताहरुले बढी सक्रियताका साथ भेट्ने गरेका छन् ।

पूर्वराजा शाहसँग भेटघाटका लागि सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, कञ्चनपुर र कैलालीका अतिरिक्त मध्यपश्चिमका केही जिल्लाबाट पनि नेता तथा शुभेच्छुक कैलालीमा आएका छन् ।

एकीकृत माओवादी, कांग्रेस र एमालेका स्थानीय केही नेताहरुले समेत पूर्वराजालाई भेटेको राप्रपा नेपालका सचिव शाहीले बताए ।

प्रतिक्रिया