अस्ट्रेलिया-इन्डिज सृंखला बराबर


बर्बडोस, १८ चैत । दोस्रो खेलमा १४ रनको जित हात पार्दै वेेेस्टइन्डिजले अस्ट्रेलियाविरुद्धको दुई म्याचको ट्वान्टी-२० क्रिकेट शृंखलामा १-१ को बराबरी गरेको छ । शुक्रबार राति भएको खेलमा १ सय ६१ रनको लक्ष्य पाएको अस्ट्रेलिया फिडेल एडवार्ड्स र मार्लन स्यामुयल्सको धारिलो बलिङका सामु निरीह हुँदै नौ विकेट गुमाउँदै १ सय ४६ रनमा सीमित भयो ।
एडवार्ड्स र स्यामुयल्स दुवैले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर तीन विकेट लिए । ड्वायन ब्राभोले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए । अस्ट्रेलियाका डेविड वार्नरले ४३ बलमा ५८ रन जोडे । जर्ज बेलीले १८ बलमा २४ रनको योगदान गरे । बार्बडोसमा भएको खेलमा वार्नरबाहेक अस्ट्रेलियाका अन्य ब्याट्सम्यान कमजोर सावित भएपछि अस्ट्रेलियाका लागि अन्तिम पाँच ओभरमा ५० रन तथा अन्तिम ओभरमा १९ रन आवश्यक थियो । तर अन्तिम ओभरमा ब्राभोले दुई विकेट लिएपछि त्यो लक्ष्य सम्भव भएन ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले म्यान अफ द म्याच ड्वायन स्मिथको ६३ रनको योगदानमा १९.४ ओभरमा अलआउट हुँदै १ सय ६० रन जोडेको थियो । ओपनर स्मिथले जेभिएर डोहार्टीको बलमा आउट हुनुअघि ३४ बलको सामना गर्दै ६ चौका र चार छक्का प्रहार गरे । सानदार सुरुआत गरेको वेस्टइन्डिजका अर्का ओपनर जोन्सन चाल्र्सले २१ बलमा ३७ रन प्रहार गरे । चाल्र्स सेन वाटनसको बलमा आउट भएपछि यी दुईको साझेदारी ७२ रनमा टुटेको थियो । ड्वायन ब्राभोले २३ रन जोडे ।
अस्ट्रेलियाका ब्रेट लीले ३.४ ओभरमा २३ रन खचिर्ंदै तीन विकेट लिए । क्लिन्ट मकायले चार ओभरमा २४ रन खर्चेर दुई तथा सेन वाटसनले २६ रन खर्चेर दुई विकेट लिए । महँगा सावित जेम्स प्याटिन्सनले दुई ओभरमा ३४ रन खर्चे । स्मिथले उनको एकै ओभरमा २० रन प्रहार गरेका थिए । स्मिथले ३० बलमा अर्द्धशतक प्रहार गरेका थिए । उनी आउट भएपछि वेस्टइन्डिजले अन्तिम १० ओभरमा ५० रन जोड्दै सात विकेट गुमाएको थियो ।

प्रतिक्रिया