‘संघीयता नभए आगो बाल्छौ’

काठमाडौं, १८ चैत । मधेसी दलहरूले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गरेका छन् । जुलुस र मोटरसाइकल र्‍यालीपछि खुलामञ्चमा आमसभा गर्दै उनीहरूले संघीयता नल्याए ‘आगो बाल्ने’ चेतावनी दिए ।
आमसभामा मधेसी मोर्चामा आबद्ध पाचवटै दलका अध्यक्षहरू विजयकुमार गच्छदार, महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र यादव र राजेन्द्र महतोले सम्बोधन गरेका थिए । यसैगरी, काठमाडौंका नेवार समुदायका अगुवा मल्ल के सुन्दर, आदिवासी जनजाति नेता पर्शुराम तामाङ र थारू नेता सुरेन्द्र चौधरीले पनि मन्तव्य राखेका थिए । आदिवासी, जनजाति नेताले नेपाली भाषामा र मधेसी नेताले नेपाली, मैथिली र हिन्दी भाषामा बोलेका थिए ।
आदिवासी जनजाति नेताले पनि मधेसी नेताकै शैलीमा संघीयताको वकालत गरेका थिए । उनीहरूले संघीयताबाटै राष्ट्रियता बलियो हुने जिकिर गरे । सभामा पहाडी समुदायका व्यक्ति पनि उल्लेख्य मात्रामा सहभागी थिए । उनीहरूले पनि मधेसी कार्यकर्तासगै नाराबाजी गरे ।
लोकतान्त्रिक फोरमका अध्यक्ष तथा गृहमन्त्री विजय गच्छदारले संघीयतासहितको संविधान जारी नभए मधेसी जनजाति, दलित, थारू र मुस्लिम समुदाय एक ठाउमा उभिएर संविधानलाई लत्याउने र आफै संविधान जारी गर्ने चेतावनी दिए । ‘मैले सम्माननीय राष्ट्रपतिदेखि माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनालसम्मलाई संघीयतासहितको संविधान नभए यो देशमा आगो बल्छ भनिसकेको छु,’ गच्छदारले भने, ‘संघीयता भएन भने त्यस्तो संविधान कसैले मान्दैन ।’
माओवादी, कांग्रेस र एमालेका संघीयता पक्षधर सभासद्लाई पार्टीको ह्विप उल्लंघन गरेर भए पनि संघीयताको पक्षमा आउन उनले आग्रह गरे । आमसभामा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले आक्रामक भाषण गर्दै सर्वोच्च अदालत मधेसविरोधी भएको आरोप लगाएका थिए । ‘सर्वोच्च अदालत मधेसीविरोधी भएको छ । उसले गर्ने हरेक निर्णय मधेसीविरोधी छन्,’ ठाकुरले भने ।
आफूहरू पहाडियाभन्दा बढी नै राष्ट्रवादी भएको जिकिर ठाकुरको थियो । उनले भने, ‘मधेस त हाम्रै हो । मधेस त हामी लिन्छौ–लिन्छौ । सिंगो नेपाल पनि हामी नै लिन्छौ ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संघीयताले राष्ट्रियता झनै बलियो हुने बताए । ‘संघीयताले देश टुक्रन्छ भनेर जनतालाई भ्रम दिने दिन गए । संघीयताले राष्ट्रियता झनै बलियो हुन्छ । संघीयता नभए बरु देश तोडिन सक्छ,’ महतोले भने । संविधानसभाको म्याद थप गर्ने अब कुनै आधार नरहेकाले १४ जेठभित्रै संघीयतासहितको संविधान जारी गर्नुको कुनै विकल्प नभएको
उनले बताए ।
आमसभा सुरु हुनुभन्दा पहिले मधेसी मोर्चाका कार्यकर्ताले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली निकालेका थिए । पाचवटै पार्टी विभिन्न ठाउबाट जुलुस निकाली खुलामञ्चमा भेला भएका थिए । आमसभामा लोकतान्त्रिक फोरमका नेता शरत्सिंह भण्डारी उपस्थित थिएनन् । भण्डारी पक्षधर नेता प्रमोद गुप्ता, कौशल यादवलगायत नेता भने आमसभा सिद्धिने बेला आएर एउटा कुनामा बसी नेताहरूको भाषण सुनेका थिए । जनपरिचालनका संयोजक गणेश लामा सुरुदेखि नै निकै सक्रिय देखिन्थे ।
यसअघि ०४७ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीले काठमाडौंको खुलामञ्चमा आमसभा गरेको थियो । त्यसबेला आमसभामा मधेसी नेताहरूले हिन्दी भाषाबाट भाषण गर्न खोज्दा उनीहरूमाथि ढुंगामुढा भएको थियो ।

प्रतिक्रिया