शिक्षा क्षेत्रको अपमान

भक्तपुर जिल्ला शिक्षा कार्यालयमा शनिबार देखिएको दृश्य आफैँमा लज्जास्पद थियो । जिल्लाको सम्पूर्ण शैक्षिक गतिविधिलाई सुव्यवस्थित, मर्यादित र सम्मानित बनाउने कार्यालयमै भद्रगोल स्थिति रहनु शिक्षा क्षेत्रमै दुर्गति रहेको प्रमाणित हुनु हो । एसएलसी परीक्षाको उत्तरपुस्तिका जाँच आफैँमा गोप्य र भरपर्दो हुनुपर्छ । तर, भक्तपुर जिल्ला शिक्षा कार्यालय हाताभित्रको दृश्यले सम्पूर्ण मर्यादा तोडेर उत्तर पुस्तिका जाँचिन्छ भन्ने प्रमाणित गरेको छ । जाँचकीहरूलाई बसेर काम गर्ने स्थान र वातावरण मिलाउन नसक्ने शिक्षा कार्यालयले उत्तरपुस्तिका र प्रश्नपत्र कसरी सुरक्षित राख्न सक्ला ? शैक्षिक वातावरण कसरी कायम गर्ला ? र, कसरी गोप्यता र मर्यादाप्रति सचेत होला ? स्वाभाविक प्रश्न उठेका छन् ।
गाडीको हुटमा, बरन्डामा, मानिस हिडँ्ने प्यासेज र सार्वजनिक स्थलमा बसेर शिक्षकले एसएलसीको उत्तरपुस्तिका जाँच गरिरहेको दृश्यले विद्यार्थी र अभिभावकको आस्था र विश्वासमाथि गम्भीर आघात पुर्‍याएको छ । एउटा विद्यार्थीले लामो समय र ठूलो धनराशि खर्च गरेर एसएलसी परीक्षा दिएको हुन्छ । उचित प्रतिफलको अपेक्षा गर्दै नतिजाको प्रतीक्षा गरिरहेका विद्यार्थीको तिनै उत्तरपुस्तिकाले भविष्य निर्धारण गर्छ । तर, भक्तपुर जिल्ला शिक्षा कार्यालयको चरम लापरबाही र उत्तरपुस्तिकाको खुला जाँचका कारण ती उत्तरपुस्तिका सुरक्षित रहने सम्भावना कम देखिन्छ । स्थानको अभाव, उत्तरपुस्तिका जाँच गरेर सक्नै पर्ने हतारो, कमजोर व्यवस्थापन, जाँचकीको घुइँचो र लापरबाहीलगायत कारणले त्यहाँ कुनै गोप्यता र सुरक्षा छैन भन्ने स्पष्ट भएको छ । जाँचमा मात्र सुरक्षा र मर्यादाको खोजी गर्ने परम्परा तोड्दै सम्बन्धित निकायले आवश्यक स्थान र कार्यमा पनि त्यसको खोजी गर्नुपर्छ । एसएलसी उत्तर पुस्तिका जाँच्ने कार्यलाई हल्का ढंगले लिन हुँदैन । किनभने यो राष्ट्रको भविष्य निर्माणका लागि योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया हो । तसर्थ उत्तरपुस्तिका जाँच गर्दा जाँचकीहरू तनाबमुक्त र सुव्यवस्थित हुन जरुरी हुन्छ । त्यसका लागि सहज तरिकाले बसेर व्यवस्थित ढंगले काम गर्ने वातावरणको आवश्यकता पर्छ । तर, भक्तपुर जिल्ला शिक्षा कार्यालयको भद्रगोल काम गराइले भने यी सबै आवश्यकतालाई इन्कार गरेको बुझिन्छ ।
नेपालमा सबैभन्दा बढी बजेट प्राप्त गर्ने शिक्षा मन्त्रालय नै हो । यसले विभिन्न विषयमा अनावश्यक क्षेत्रमा अत्यधिक खर्च गर्ने गरेको छ । तर, अन्यत्र खर्च गरे पनि उत्तरपुस्तिका जाँचकीका लागि एउटा गोप्य हलसम्म उपलब्ध गराउन सकेन, जसले गर्दा चारैतिर ‘भक्तपुर घटना’ भइरहेका छन् । यो सामान्य घटना होइन । तसर्थ शिक्षा मन्त्रालय, शिक्षा विभाग, परीक्षा नियन्त्रण कार्यालयलगायत अन्य सम्बन्धित निकायले गम्भीरतापूर्वक सोचेर यस्ता अस्वाभाविक गतिविधि रोक्नुपर्छ । उत्तरपुस्तिका जाँच्ने कार्यलाई मर्यादित र व्यवस्थित गर्ने उपाय तुरुन्त अवलम्बन गर्दै आइन्दा लज्जाजनक जात्रा हुन नदिन नेपाल सरकारले नै ठोस कदम चाल्नु जरुरी छ ।

प्रतिक्रिया