छोरीज्वाइँको चलचित्र हेरिदिनुस्

पोखरा, १८ वैशाख । सुलेमान शंकर ‘इकु’ले आफ्नो चलचित्र इकु ब्याक अगेन हेर्न पोखरेली दर्शकलाई आग्रह गरिरहेका छन् । चलचित्र पोखराको बाराही हलमा प्रदर्शन भइरहेको छ । चलचित्रकी नायिका तथा उनैकी श्रीमती जया शंकर पोखराकै चेली भएको ‘इमोसन’ समात्दै सुलेमान शंकरले पोखरेली दर्शकको मन पगाल्ने प्रयास गरे, ‘जया पोखराकै चेली हुन् र म हजुरहरू सबैको ज्वाइँ, त्यसैले चलचित्र हेरेर छोरीज्वाइँलाई सहयोग गरिदिनुहोला ।’ यो उनको अघिल्लो चलचित्र इकु द जंगल म्यानको दोस्रो संस्करण हो ।
मूलधारका चलचित्रभन्दा फरक शैली बोकेको यस चलचित्रले जंगली मानिसको जीवनशैली, आचरण र नि:स्वार्थता प्रस्तुत गर्न खोजेको छ । चलचित्रका निर्देशक सागर लामिछाने विषयवस्तु र मनोरञ्जनात्मक पक्षका हिसाबले चलचित्र सबल रहेको बताउँछन् । उनले भने, ‘पहिलो भागभन्दा यो धेरै हिसाबले सबल छ, परिवारका सबै सदस्य एकसाथ बसेर हेर्न सक्छन् ।’ चलचित्रमा ओस्कार अवार्डको नोमिनेसनमा परेको चलचित्र ‘क्याराभान’का नायक थिन्ले लोन्डुप राउटेहरूका मुखियाको भूमिकामा देखिएका छन् ।
८ वैशाखदेखि प्रदर्शन भइरहेको यस चलचित्रको कलेक्सन भने सोचेअनुरूप नरहेको बाराहीका सञ्चालक उत्तम द्वा बताउँछन् । ‘पहिलो साताको कलेक्सन त्यति राम्रो छैन,’ उनले भने, ‘हेरौँ, दोस्रो सातामा कस्तो हुन्छ ।’ उनका अनुसार पहिलो साता राम्रो कलेक्सन नगरेका कतिपय चलचित्रले दोस्रो साताबाट पिकअप लिएका उदाहरण पनि थुप्रै छन् ।

प्रतिक्रिया