“मलाई गुरुको कलम चोरेको आरोप लगाए”

भाइबहिनीहरू, आज म नेपाली गजलक्षेत्रमा ज्ञानुवाकर पौडेल भनेर चिनिन्छु । कुनै दिन लाग्थ्यो, ‘म पनि के पढ्न सकौँला ? के ‘मान्छे’ बन्न सकौँला र ?’ विक्रम संवत् २००४ सालमा बुद्धजयन्तीको दोस्रो दिन काठमाडौंको गौशालामा जन्मिएको हुँ, माता जगतकुमारी पौडेलको कोखबाट । बुबाको नाम पण्डित डोलकिशोर पौडेल हो । मेरो जन्मसँग एउटा धार्मिक विश्वास जोडिएको छ । मेरो जन्मका लागि आमाबुबाले ललितपुरको लेले र सूर्यविनायकमा गएर पूजा गर्नुभएको थियो रे । जन्मिए पनि मेरो बोली हतपत्ती फुटेन । नौ वर्षको हुँदा मात्रै पहिलोपटक बोल्न सकेको मलाई राम्ररी याद छ ।
मेरो बाल्यकाल भने सुदूरपश्चिमको कैलालीमा बित्यो । राजधानीको वातावरण नराम्रो लागेर बुबाले कैलालीको हासुलिया गाविसस्थित बसौटीमा लिएर जानुभयो । के गरिनँ र मैले सानोमा † त्यति बेलाको उमेर नै बुद्धिले भन्दा मनले काम गर्ने खालको हुँदोरहेछ । तर, मेरो बाल्यकाल तिमीहरूको जस्तो पढाइगुनाइमा बितेन । थारू गाउँमा लडिया
(गोरुगाडा) चढेर, भारतको चन्दनचौकी, खिरी, पिलिभित र लखनउसम्म गएर फिलिम हेरेर पढ्ने–लेख्ने उमेर बिताएको थिएँ ।
बुबाको खल्तीबाट पैसा चोरेर हिन्दी फिल्म हेर्न जान्थेँ । सही सिनेमा हेर्ने बानीले मेरो बौद्धिक विकास मात्र भएन, हिन्दी भाषामा पनि राम्रो दख्खल बनाएँ । पछि त्यही क्षमताका कारण रेडियो नेपालमा हिन्दी समाचार सम्पादकका रूपमा जागिर पाएँ । त्यो २०४६ सालको कुरा हो ।
मेरो पढाइको सुरुआत पनि तिमीहरूलाई अनौठो लाग्ला । पहिलोपटक विद्यालय टेकेको २४ वर्षको हुँदा हो, २०२७ सालमा । त्यसअघि सानैमा पूर्वसभामुख दमननाथ ढुंगानाका पिताजीसँग गौशालाको उहाँकै घरमा गएर ट्युसन पढ्न लागेको थिएँ । अरू साथी पनि आउँथे । एकदिन हाम्रो कक्षाबाट ‘सर’को कलम हरायो । सबैले मलाई ‘चोर’ भने । गर्दै नगरेको आरोप लगाएपछि ग्लानि र लाजले म पढ्नै गइनँ ।
एक दिन पिताजीले मलाई ‘बिग्रियो’ भन्दै आर्मीमा जागिर खान पठाइदिनुभयो । २१ वर्षको थिएँ । २०२५ सालमा आर्मीमा भर्ना भएपछि मलाई बढुवा हुन मन लाग्यो । त्यसका लागि शिक्षा चाहिन्थ्यो, जुन मसँग थिएन । जति पढ्नु घरमै पढेको थिएँ, त्यही आधारमा एकैपटक कक्षा सातमा दरबार हाइस्कुलमा भर्ना भएँ । आर्मीको नियम असाध्यै कडा हुन्थ्यो । मलाई विद्यालय जाने समय दिइएन । कर्णेलसँग झगडै पर्‍यो । जर्नेल भएर रिटायर्ड भएका गीतकार राजेन्द्र थापा मभन्दा पछि आर्मीमा भर्ना भएका थिए । त्यो जागिर छाडिदिएँ । त्यसपछि सोल्टी होटलमा जागिर खाएँ । सँगसँगै रत्नराज्यलक्ष्मी क्याम्पसबाट आइए र त्रिचन्द्र क्याम्पसबाट २०३५ सालमा बिए पास गरेँ ।
आज मैले लेखेको गजल ‘ओइली झरेछ फूल टिपेर हेरेँ, के रै’छ र जिन्दगी सोचेर हेरेँ’ बिएको कोर्समा पढाइ हुन्छ । मेरै अर्को गजल ‘छाडी जाँदै छु म सहर पर्ख दुईचार दिन, थाल्दै छु म अर्को सफर पर्ख दुईचार दिन’ बिएडमा पढाइ हुन्छ । मोतीराम भट्टको देहावसानपछि किनारा लागेको नेपाली गजल लेखनको यात्रालाई फेरि मूलबाटोमा फर्काउन सक्रियता देखाएँ । गजल लेखनको बाँझो खेतमा मैले लेखनको उर्वर डोजर चलाएँ ।
भाइबहिनीहरू, जागिरकै सिलसिलामा सिप्रदी ट्रेडिङले मलाई भारतको कलकत्ता पठायो, २०४० सालमा । त्यहाँ बसेर साहित्य लेखनलाई थप उर्वर बनाउने मौका पाएँ किनकि त्यहाँ मेरो संगत भारतीय साहित्यकार सिभाष्कर राव, जयनन्दन, निमाई भट्टाचार्य, ईश्वरलाल नेवासँग भयो । उहाँहरूले मेरो साहित्यप्रतिको लगावलाई थप मलजल गर्ने काम गरिदिनुभयो ।
त्यसो त मैले २०३० सालमै वासु रिमाल ‘यात्री’को ‘विदेह’, अनि ‘जुरेली’ पत्रिकामा एकदुई अंक बिराएर आफ्ना रचना छपाउन सुरु गरिसकेको थिएँ । २०३५ देखि नगेन्द्रराज शर्माको ‘अभिव्यक्ति’ साहित्यिक पत्रिका र त्यही सालको ‘रूपरेखा’मा गजल छाप्न सुरु गरेको थिएँ । २०३७ सालदेखि हरेक दुई अंक बिराएर मेरो रचना छापिन थालेको हो । मैले आफ्नो गजल लेखनमा नारीको कुर्कुच्चा, ओठ, आँखाको वर्णन मात्रै होइन, समाजको पीडा, दु:ख, आँसु, हाँसो, चेतनाबोधका भावना अटाउनुपर्छ भनेर नयाँ शिल्पीको प्रयोग थालेँ । त्यति बेला मेरो आलोचना पनि भयो ।
आज मेरा ‘अवतार विगठन २०४४’ संयुक्त उपन्यास, ‘निर्वासित मन २०४७’ मुक्तकसंग्रह, ‘खण्डहर नयाँ–नयाँ २०४८’ र ‘जिन्दगी छैन जिन्दगी जस्तो २०६८’ गजलसंग्रह प्रकाशित भइसकेका छन् । मैले पहिलो झलक देख्दैमा मन परेकी नागपोखरीकी त्रिपुरा रेग्मीसँग विवाह गरेँ । आज पनि मलाई बल्यकालमा जिस्किएका कैलालीका थरुनी केटी साथीहरू याद आउँछन् । कलकत्तामा जागिर खाँदा माया बसेकी केटी सम्झनामा आउँछिन् ।
उमेर धेरै गइसकेपछि पढाइ सुरु गरे पनि मलाई पढाउने गुरुहरूले समेत विद्यार्थीलाई मेरा गजल  पढाएको देख्दा खुसी लाग्छ । लेखनकै कारण मैले रूस सरकारबाट ‘एलेक्जेन्डर पुस्किन’ पदक पाएँ । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता सम्मान हात पारेँ । राष्ट्रिय प्रतिभा पुरस्कार २०५८ बाट मलाई राज्यले सम्मान गर्‍यो । वसुन्धरा मानश्री पुरस्कार, सूर्योदय सम्मान, सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कार, नेपाल सांस्कृतिक संघ पुरस्कार आदि दर्जनौँ सम्मान र पुरस्कार पाएको छु । रेडियो नेपालको २० वर्षे जागिरबाट बिदा लिइसकेपछिको मेरो काम देश घुम्ने र सम्मान थाप्ने जस्तो भएको छ । आज मलाई लाग्छ– आँटेर नयाँ काम गर्‍यो भने त्यस्तो मान्छेलाई पूरै देशले सम्मान र माया गर्दो रहेछ । मैले जिन्दगीको निष्कर्ष यस्तो निकालेको छु, ‘जिन्दगी हिलोमा फूल्ने कमलको सुन्दर फूल हो, यसलाई फुलाउन सक्नुपर्छ ।’
प्रस्तुति : शिवराज योगी

प्रतिक्रिया