जेहेनदार सजु

बुटवलकी सजु शर्मा कक्षा सातमा पढ्छिन् । जेहेनदार छिन्, उत्तिकै अनुशासित पनि । ध्यान दिएर पढाइमा मन लगाउँछिन् । त्यसबाहेक विभिन्न अतिरिक्त क्रियाकलापमा निकै सक्रिय छिन्, राम्रो गर्छिन् । ‘विद्यार्थी सबै कुरामा सक्षम हुनुपर्छ नि,’ उनी भन्छिन् । नाच्न भनेपछि निक्कै रमाइलो लाग्छ रे उनलाई । त्यसो त उनको नाच्ने कला राम्रो छ, विद्यालयमा हुने विभिन्न कार्यक्रममा नाचेर पुरस्कारै पाएकी छन् । विद्यालयबाहेक विभिन्न महोत्सव र प्रदर्शनी कार्यक्रमहरूमा पनि आफ्नो प्रतिभा देखाइसकेकी छिन् ।
लुम्बिनी बोर्डिङ स्कुलमा पढिरहेकी सजुका साथी पनि धेरै छन् । मिलनसार स्वभावले गर्दा नै सबै जना उनीसँग नजिकिएका हुन् । कक्षामा बस्दा अनावश्यक हल्ला गर्दिनन्, शिक्षकले पढाएका कुरा चासो दिएर सुन्छिन् । नजानेका कुरा दोहोर्‍याएर सोध्छिन्, अनि जानेरै छाड्छिन् । पढाइमा छुटेका कुरा साथीसँग सोध्न अप्ठ्यारो मान्दिनन्, घरमा दिदी सबुसँग पनि सिकिरहेकी हुन्छिन् । अनि नजानेकाहरूलाई आफूले जानेका कुरा सिकाउन हिचकिचाउँदिनन् । उनका बुबाको नाम श्याम शर्मा हो भने आमाचाहिँ राधा शर्मा । बुबा, आमा र दिदीको मायाले आफूलाई खुसी दिएको बताउँछिन् ।
उनी कम बोल्छिन् अनि लजालु स्वभावकी छन् । बिहान सबेरै उठ्छिन्, अल्छी गर्दिनन् । कसैले पढ भनेर अह्राउनु पर्दैन । बिहानको नित्यकर्म सकेपछि चियाखाजा खाएर पढ्न बसिहाल्छिन् । ९ बजे त स्कुल जान परिहाल्यो । होमवर्क सबै कम्प्लिट गरिसकेकी हुन्छिन्, त्यसैले शिक्षकशिक्षिकाको गाली खानै पर्दैन । बेलुका स्कुलबाट फर्केपछि खाजा खाएर केहीबेर टिभी हेर्छिन्, अनि पढ्न बसिहाल्छिन् । सजुलाई खाना बनाउन पनि आउँछ । उनले बनाएको खाना मीठो मान्छन्, उनका बुबाआमा र दिदीले ।
नृत्यबाहेक उनका अरू रुचि पनि छन् । भन्छिन्, ‘मलाई चित्रकला र फेसन डिजाइनिङ पनि साह्रै मन पर्छ ।’ उनले राम्राराम्रा चित्रहरू बनाएकी रहिछन् । पढाइदेखि अरू व्यवहार पनि राम्रो भएकाले नै सजुले सबैबाट माया बटुलेकी हुन् । सबैकी प्यारी बन्न सकेकी हुन् । जिन्दगीमा कहिले पनि गलत काम गर्न नहुने उनलाई लाग्छ । त्यसैले उनी आफूजस्ता अरू साथीलाई सधैँ राम्रो बाटोमा मात्र हिँड्न सुझाब दिन्छिन् ।

प्रतिक्रिया