आज निर्देशकको चुनाव

काठमाडौं : निर्देशकहरूको छाता संगठन निर्देशक समाजको आज हुने कार्यसमिति चुनावमा अध्यक्ष पदका लागि चार प्रत्याशी भिड्ने भएका छन् । निर्देशक केपी पाठक अध्यक्ष रहेको कार्यसमितिको कार्यकाल ६ महिना बाँकी छँदै आज आइतबार संघको डिल्लीबजारस्थित कार्यालयमा चुनाव हुन लागेको हो । ‘आफूले गर्नुपर्ने काम सबै सकिएकाले कार्यसमितिमा बसिराख्नुको औचित्य देखिनँ, त्यसैले चुनाव गराउन लागेका हौँ,’ अध्यक्ष पाठकले भने । कार्यकाल ६ महिना मात्र हुँदाको अवस्थामा जुनसुकै समयमा निर्वाचन गर्न सकिने व्यवस्था समाजको विधानमा रहेको उनले सुनाए । समाजका सदस्य हिमाल उप्रेतीले भने यसपटक अध्यक्ष पदका लागि पाँचजनाले चुनावी स्पर्धा गर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार यसपटक नरेश पौडेल, विमल पौडेल, उदय सुब्बा, दीपक श्रेष्ठ र शैलेश आचार्य अध्यक्षका प्रत्याशी छन् । नरेशले भने उम्मेदवारीमा आफ्नो नाम हल्ला मात्र भएको जानकारी गराएका छन् । परिवारिक समस्याका कारण सधैँ बाहिरै रहने र कार्यसमितिलाई समय दिन नसक्ने भएकाले उम्मेदवारी नदिने, चुनावमा भाग मात्र लिने मनस्थिति रहेको उनले सुनाए । उम्मेदवारी दिने तयारीमा रहेका अन्य चारजना भने मत आफ्नो पक्षमा पार्न व्यापक कसरतमा जुटिरहेको बुझिएको छ । चुनावी मैदानमा खरो उत्रने पूर्वतयारी स्वरूप शनिबार दिनभर पनि उनीहरू निकै व्यस्त देखिन्थे । (सौस)

प्रतिक्रिया