३२ औषधि पसल बन्द गरिने

काठमाडौं,१७ वैशाख । मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधि पसल नै अवैध तवरले सञ्चालनमा रहेको पाइएपछि सरकारले त्यस्ता ३२ पसललाई बन्द गराउन लगाएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा गैरकानुनी रूपमा सञ्चालनमा रहेको भेटेका ती औषधि पसललाई तत्काल बन्द गराउन लागेको हो । विभागले ती औषधि पसल बन्द गराउनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ ।
विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले ११ जिल्लामा औषधि पसल कानुनविपरीत र मापदण्ड पूरा नगरेको पाइएकाले बन्द गराउन सम्बन्धित जिल्ला प्रशासनलाई पत्राचार गरिसकिएको बताए । विभागले काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, कपिलवस्तु, रूपन्देही, दोलखा, सिन्धुपाल्चोक, पर्वत र बाग्लुङ जिल्लामा अवैध औषधि पसल फेला पारेको हो ।
औषधि पसल दर्ताविनै सञ्चालन गरिएका, नवीकरण पनि नगरिएका, व्यवसायी मान्यता प्रमाणपत्र नभएका, खरिद बिलबिनाका औषधि भेटिएका, भ्याक्सिन सञ्चय नगरिएको  भेटिएको थियो । अधिकारीका अनुसार कानुनी दायरामा नआएका त्यस्ता पसलले गल्ती गरे कारबाहीबाट उन्मुक्ति पाउने भएकाले तत्काल बन्द गराउन लागिएको हो । ‘दर्ता नै नभएका पसलले गल्ती गरे उसलाई कानुनी दायरामा ल्याउन समस्या हुन्छ,’ उनले भने, ‘दर्तै नभई औषधि बेच्नु भनेको मानव स्वास्थ्यमाथि नै खेलबाड गर्नु हो । त्यसकारण त्यस्ता पसललाई तुरुन्त बन्द गराउन भनेका छौँ ।’
बन्द गर्न लागिएकामा काठमाडौंको सामाखुसी टाउनप्लानिङस्थित कान्तिपुर भेटरिनरी क्लिनिक, मनमैजुको दिदीबहिनी भेटरिनरी, गोठाटारको औषधि पसल, पेप्सीकोलाको रञ्जित मेडिकल, जोरपाटीको ऋतु आयुर्वेद फर्मा र कोटेश्वरको चेतना फार्मेसी छन् । भक्तपुरको सूर्यविनायकस्थित बिके क्लिनिक र सल्लाघारीको कुशल फर्मा तथा ललितपुरको रिलिफ फार्मेसी छन् । यसैगरी, अन्यमा कपिलवस्तुको तौलिहवास्थित ओमप्रकाश मेडिकल, पूजा प्राथमिक उपचार क्लिनिक, रोजी हेल्थ क्लिनिक, अग्रहरि एग्रोभेट, हेल्थ केयर सेन्टर र चन्दौटाको निशा हेल्थ क्लिनिक छन् । रूपन्देहीको भगवानपुरस्थित पूजा हेल्थ क्लिनिक, सिद्धार्थ मेडिकल, मणिग्रामको क्रिमसन हस्पिटल, खुदाबजारको सीमा हेल्थ, मुगलहवाको सलाम मेडिकल र लुम्बिनीको रोशनी मेडिकल पनि बन्द गर्न लागिएको छ । त्यस्तै, कास्की हेम्जास्थित अर्याल फार्मेसी, रामबजारको रञ्जित भेटरिनरी, हेमियन होमियो फार्मेसी र दोलखा बगालेटोलस्थित रेग्मी क्लिनिक, मैनापोखरीको दाहाल भेटरिनरी, शान्ति भेटरिनरी, पर्वतको कटुवाचौपारीस्थित सगरमाथा मेडिकल, देवीस्थानको स्वास्थ्य सेवा क्लिनिक, तनहुँको व्यासस्थित दिवस भेटरिनरी, सिन्धुपाल्चोकको साँगाचोक मेडिकल र बाग्लुङको ग्वालीचौरस्थित घिमिरे मेडिकल बन्द गर्न लागिएका छन् ।

प्रतिक्रिया