एउटा फोटोग्राफरको फ्ल्यासब्याक जिन्दगी

एक खेल–जस्तै जुवा, जहाँ हार्नेको नाममा आँसु मात्रै पर्छ र जित्नेले संसार जितेको भवभंगिमा देखाउँछ । जिन्दगी पनि खेल हो, जहाँ औसत मान्छेका भागमा आँसु नै आँसु पर्छ । जित्नेहरू त बस् जितिरहन्छन्, जिन्दगी जुवाको खालजस्तै रोमाञ्चक ढंगले बाँच्छन् । ‘जो जीता वही सिकन्दर’ भन्ने कहावतजस्तै छ, सामान्य मान्छेको जीवनयात्रा । यहाँ जित्नेकै राज चल्छ अनि हार्नेको भागमा निराशा बाँकी रहन्छ । संसारलाई दुई चस्माको फ्रेमबाट चियाउने बानी परेका वैकुण्ठबहादुर श्रेष्ठलाई लाग्छ–जीवन बडो लद्दु रहेछ । जीवनरूपी ठूलो पोखरीमा उनले निराशामात्रै भेट्टाएका छन् ।
उमेरले ६ दशक काटिसक्दा पनि उनको जीवनयात्राले भन्छ–यो त दु:ख र हारको लामो लाइन रहेछ । त्यसैले त उनको जीवनबाट आशा र हौसला चन्द्रमाको कालो धब्बाजस्तै गरी बसेका छन् । ‘के गर्ने, मर्नु भएन । नराम्रो काम गरेको होइन । देशलाइ पनि हुने आफूलाई पनि हुने भनेर गरेको हुँ,’ उनी विरक्तिन्छन् । कुनै समय जीवनमा ‘उज्यालो’ मात्रै देखेका वैकुण्ठ जीवनका थुप्रै इन्द्रधनुषी रङहरूबाट कसरी भुइँमा पछारिए ? उनको जीवनयात्राले यसको वर्णन गर्छ ।
अरूको जस्तै वैकुण्ठको जीवनको युवाकाल पनि बडो रोमाञ्चक थियो । त्यसबेला उनी खोलाका ठूला जँघार पनि तर्थे, ‘अग्ला पहाड पनि एकै निमेषमा चढ्छु’, यस्तै सोच्थे । हो, त्यसैबेला उनलाई एउटा भूत चढ्यो–फोटोग्राफीको । जुनबेला नेपालमा फोटोग्राफीबारे साह्रै कमलाई मात्र थाहा थियो, त्यस समयमा उनले कसरी सोचे होलान्–यसैमा करिअर र भविष्य छ । जीवनको ब्ल्याक एन्ड ह्वाइट दौडमा उनी पनि सामेल भए, जीवनजस्तै ब्ल्याक एन्ड ह्वाइट क्यामरा बोकेर–हिमालदेखि पहाड, तराई सबैतिर दगुरे । नेपाल चिनाउने अभियानमा यहाँका सम्पदा, कला, संस्कृति क्यामेरामा कैद गरे । मुलुकलाई आफ्नो क्यामेरामा उतारेर इतिहास जोगाउने सत्प्रयास गरे ।
फोटोग्राफीले वैकुण्ठबहादुरलाई नाम, दाम र माम सबै दियो तर समयको व्यापक भागदौडमा दौडिन उनले सकेनन् । जीवनमा त्यही फोटोग्राफी बनिदियो–नीलकाँडा । त्यसैले दिलायो ऋण । ‘दिन नै बिग्रेपछि ऋणको त के कुरा भयो र,’ उनी भन्छन् । नेपाली समाजलाई ऋणभन्दा दिन ठूलो लाग्छ । ‘दिन बिग्रेन भने जे पनि गर्न सकिन्छ’ भन्ने मान्यताका आधारमा हाम्रो समाजमा कर्मवादले नै प्रश्रय पाएको छ ।
०००
बुढ्यौलीले छोपिसक्यो । आँखा पनि मधुरो हुन थालिसके । अनुहारमा छन्–सैयौं मुजा, समयले पारेका । जुनबेला बाग्मती सङ्लो थियो, उनी पनि हट्टाकट्टा थिए तर अहिले बाग्मती खिइँदै छ, उनको उमेरले पनि डाँडो काट्दै छ । ‘सहरमा नौलो पेसा–फोटोग्राफी’ अँगालेपछि बाग्मतीमा ढल (त्यहाँ पानी बग्न छाडिसक्यो) कति बग्यो, त्यसको हिसाबकिताब उनले गरेका छैनन् । उमेरले साठी काटिसक्यो तर ऋणको भारी खुइलिएको तालुबाट हटेको छैन । चर्को स्प्रिरिटले जस्तो तन र मन खाइरहेको छ–मात्र चिन्ताले । चिन्ता निको पार्ने ओखती कुन पसलमा किन्न पाइएला हँ ? न नीद छ, न भोक । काला केश तिलचामले बनेर पनि झरिसक्यो तर टाउकाबाट ऋण झरेन । ‘बासै उठायो, फोटोग्राफीले’, उनी खुइय्य गर्छन् ।
डिल्लीबजार महाकवि मार्गमा आधा शताब्दीसम्म हिउँद–बर्खा खेपेको पुरानो रङ खुइलिएको घरमा बस्छन् उनी । घरका भित्तामा छन्–हाँसिरहेका सुन्दर हिमाली दृश्यहरू तर हिमालजस्तै मन हाँस्न सकेन  ।
आफँैंले खिचेर, प्रिन्ट गरेर, माउन्ट गरेर तयार पारिएका तस्बिरले उनलाई व्यवसायको असफलता र बाँकी रहेको दायित्व सम्झाइरहेका छन् । बैठक कोठाको बोरामा खाँदिएका उनैले बडो मिहेनतसाथ खिचेका फोटोहरू ‘पोस्टर’ र ‘पोस्टकार्ड’ बनेर कोच्चिएका छन्, कुनबेला संसार नियालूँसरि वैकुण्ठलाई हेर्छन् होला, गुनासाका नजरले । सूचना विभागको प्रेस पासको अभिलेख अनुसार उनी नेपालका पहिलो आधिकारिक फोटोग्राफर हुन् । उनीपछि सयाँैं व्यावसायिक फोटोग्राफर यस क्षेत्रमा आए, अनि सफल पनि भए । कत्ति त जीवनबाटै हार खाएर अलप भए होलान् ।
उनले क्यामेरा समाउँदा नेपालमा भर्खरै फोटो खिच्ने चलन सुरु भएको थियो । व्यावसायिकताको त कुरै थिएन । अहिलेजस्तो ‘क्लिक’ गर्नेबित्तिकै स्क्रिनमा फोटो हेर्न सकिने क्यामेरा पनि थिएनन् । ‘म्यानुअल्ली’ खिच्नुपर्ने श्यामश्वेत फोटोग्राफीको जमाना थियो त्यो ।
०००
वैकुण्ठ हिमालदेखि तराईसम्म घुमेर फोटो खिच्थे, अनि त्यसलाई डार्क रुमबाट फोटो बनाएर निकाल्थे । फोटोग्राफीमा लाग्दालाग्दै सरकारी जागिर खान चलचित्र क्षेत्रमा लागे । तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा एसिस्टेन्ट क्यामेराम्यान भएर काम पनि गरे । त्यसैक्रममा धेरै देशका राजकीय भ्रमणमा सहभागी पनि भए । संस्थानमा जागिर खाँदा नेपाल झल्काउने डकुमेन्ट्री र सिनेमा बनाएका उनले नेपाली कला र सौन्दर्यलाई तस्बिरमा कैद गरेर बेच्न सकिने निष्कर्ष निकाले । अनि सरकारी जागिर च्वाट्टै छोडे । ‘हो, यहीँनेर मैले गल्ती गरेँ’, जीवनको भयानक गल्ती सायद यही भयो ।
जागिर छाड्दा उनीसँग स्टिल फोटोग्राफी र सिनेमा दुवै बनाउन सक्ने क्षमता र ज्ञान थियो । त्यसलाई आफ्नो आर्थिक उन्नतिका लागि प्रयोग गर्न उनले सुरु गरे ‘नेपा : फोटो’ । नेपाली सौन्दर्यलाई फोटोमा उतारेर पोस्टर र पोस्टकार्डको व्यापार सुरु गरे ।
त्यतिखेर नेसनल ट्रेडिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ड्युटी फ्रि सपमा नेपाल चिनाउने उनको पोस्टर र पोस्टकार्ड बेचिदिन्थ्यो । माग पनि थियो त्यसैले ऋण गरेरै उनले लगानी गरे ।
प्हिला–पहिला मद्रास पुगेर पोस्टर छपाउँथे, पछि बंैकक र जापानसम्म पुगे । ‘नेपाल पनि चिनाउने आफू पनि चिनिने’, यही लोभमा आफ्नो सम्पूर्ण जवानीका चर्को जोस खर्चिए वैकुण्ठले । एकैपटक धेरै फोटो पोस्टर र पोस्टकार्डमा छापेर ल्याए । तर, एकाएक यता व्यापार बिग्रियो । अहिले पनि लाखौं पोस्टर थन्केका छन् घरमा ।
बिपी कोइरालाको शवयात्राको वृत्तचित्रदेखि अरू फोटोहरू बेच्ने प्रयास पनि नगरेका होइनन् उनले तर कसले वास्ता गर्छ र ? उनले निवेदन हाले नेपाल पर्यटन बोर्डमा–मेरा केही राम्रा फोटो किनिदिनुस् । तर, दु:खीको जीवनमा आँसु मात्रै आउनेरहेछ, कहाँ किन्थ्यो फोटो ? उल्टै गायब गरिदियो बोर्डले ।
गीतामा श्रीकृष्णले भनेजस्तै–उनले पनि कर्म गरे, फलको आशा नगरी । यो श्रीकृष्णको युग होइन, अहिले त फल नमिले, ऊ कहिल्यै नउठ्ने गरी पछारिन्छ । उनी पनि पछारिए, कहिल्यै उठ्न सकेनन् । सायद, श्रीकृष्ण फ्लप खाए । घरबारै बेच्नुपर्ने भइसक्यो । मानसिक सन्तुलन पनि गुम्ने अवस्था छ । ‘म बिरामी छु’, यति भनेको केही समयमै भन्छन्, ‘मलाई के भएको छ र ?’ तर, यति भन्दा उनको अनुहारका धर्साहरू गुटुमुटु परेका हुन्छन् र आँखाका चेपमा आँसु भरिएका ।
वैकुण्ठको व्यथाले उनी मात्र कहाँ हो र ? सम्पूर्ण परिवारै सिकिस्त छ । श्रीमती पूर्णमाया त दिक्किइसकिन् । ‘अब घरबार सबै बेचेर ऋण चुक्ता गर्छु, म देवघाट गएर काल कुर्छु’, उनको जीवनले यही निचोड फेला पारेको छ ।

प्रतिक्रिया