म मान्छे कुट्ने कुट–नीतिज्ञ

भूषण दाहाल, निर्देशक/कार्यक्रम प्रस्तोता

काठमाडौंमा ०२३ सालमा जन्मिएका भूषण दाहाल परिवारका एक्लो सन्तान हुन् । कान्तिश्वरी, बूढानीलकण्ठ हुंदै सेन्ट जेभियर्स स्कुलबाट उनले स्कुले शिक्षा सिध्याए । घरमा साइन्स पढ्ने प्रेसर थियो, पढे पनि । तर, साइन्सले उनलाई पत्याएन या उनले साइन्सलाई । र, पढे मानविकी  । सधँ फरक दुनियाँका सपना देख्ने उनका चम्किला आँखाले नेपाली टेलिभिजन दुनियाँमा तहल्का मच्चायो (मच्चाइरहेको छ) । ‘कागबेनी’ जस्तो फरक धारको सिनेमा निर्देशन गरेर रंगीन काँचको संसारमा आफ्नो छुट्टै छवि स्थापित गरेका दाहाल बोल्ड ‘क्यारेक्टर’ हुन् । ‘बोल्ड’ यस मानेमा कि उनले निर्देशन गरेको म्युजिक भिडियो जहिल्यै सहरको हटकेक बन्छ । टेलिभिजनस्टार भूषण दाहालको आत्ममूल्यांकन :

यसरी भएँ चर्चित
२५ वर्षदेखि टेलिभिजनको क्षेत्रमा खटिरहेको छु । सोचेका र लेखेका कुरालाई दृश्यमा अनुवाद गर्छु । दर्शकहरूले मन पराइदिनुभएको छ । म्युजिक भिडियो निर्देशनसँगै संगीत क्षेत्रमा पनि लागिरहेको छु । यिनै संलग्नताले चर्चामा छु ।
आत्मदृष्टि
निकै भाग्यमानी मान्छे हुँ । कति कुराहरू अरूको सहयोगविना एकल प्रयासमै गर्न सक्ने भएको छु । कसैको भर नपरी व्यक्तिगत तागतबाट मात्रै पनि थुप्रै कुरा गर्न सक्ने आँट छ । म जुन क्षेत्रमा छु, मेरो पालामा टेलिभिजनकर्मीबीच यस्तो प्रतिस्पर्धा थिएन ।
जिन्दगीका सुखदु:ख
आफन्तको मृत्युमा सबैभन्दा बढी दु:ख लाग्दो रहेछ । दुई वर्षअघि बुबालाई गुमाएँ । प्रार्थना गर्न मन लाग्छ– यस्तो पीडा कसैले भोग्न नपरोस् । तर, दु:खको डटेर सामना गर्नुपर्छ, जिन्दगीको नियमै हो । जन्म अनि परिचयहरूले कायम गरेका सम्बन्धहरू कुनै मोडमा गएर छुट्दा चित्त दुख्छ । फेरि सानासाना चिजबाटै खुसी पनि पाउँछु । आफूभन्दा तल्लो हैसियतका साथीहरूको खुसी देख्दा मेरो मनै रमाइलो भएर आउँछ । आफूभन्दा माथिका मानिसलाई हेरेर घाँटीमा पासो लगाउनुभन्दा तलका मानिसको खुसीमा रमाएर मीठो निद्रा निदाउन सक्नुमा ठूलो आनन्द छ । निद्रा जीवनको सबैभन्दा ठूलो सुख हो ।
बाल्यकाल   
बाल्यकालका स्मृतिहरू दिमागमा अझै रहलपहल छन् । त्योबेला सानासाना कुरामै पनि रमाइलो लाग्थ्यो । निकै सुखद अनुभूति ।
स्वभाव निर्माणमा प्रभाव पार्नेहरू
बुबा अनि थुप्रै साथीभाइको संगतले दिएअनुसारको स्वभाव मैले पाएँ । स्वभाव निर्माणमा यस्तै पक्षहरूले प्रभाव पारेछन् ।
मेरो स्वभावको बलियो पक्ष
त्यसरी आत्ममूल्यांकन गरेकै छैन । यत्ति हो आफ्नो दृष्टिकोण कसैका सामु प्रस्तुत गर्नुअघि उसका विचारहरू धैर्यसाथ सुन्न सक्छु ।
घमन्डी छैन म
मसँग के छ र घमन्ड गर्न ? केचाहिँ हो भने म सबै व्यक्तिसँग सुरुमै सजिलै खुल्न सक्दिनँ । खुलिसकेपछि ह्वाङ्गै खुल्छु । यस हिसाबले ‘घमन्डी’ मलाई फिट हुने शब्द हो/होइन, अरूले भन्ने कुरा हो ।
मेरा कमजोरी
तापक्रमविना नै पग्लन्छु । मानिसहरूको संवेदनाले चाँडै पगाल्छ । यो बानीले धोका पनि पाएको छु ।
अरूलाई यसरी हेर्छु
यस्तो दृष्टिकोण भेटिने मान्छेको व्यवहारले निर्धारण गरिरहेको हुन्छ । कसैलाई भेट्नुअघि ऊ मेरो आवश्यकता हो कि म उसको आवश्यकता भन्नेबारे सोच्छु । त्यसै आधारमा कुरा गर्छु । भेटघाटलाई सहज पार्छु । यही समाजमा हुर्के बढेको मानिस, आमजनमानसलाई कडा दृष्टिले कसरी हेर्न सक्छु र ?
मेरो भावुकता
प्राय: भावुक नै रहन्छु । देशको प्रगतिका बाधक तत्त्वहरूले थप भावुक बनाउँछन् ।
मेरो क्रोध अनि उत्तेजना
उचाइविनाको गहिराइहरूलाई जुन बेला भेट्छु, बडो उत्तेजित र क्रुद्ध हुन्छु । निकै रिस उठ्छ । चाहे त्यो विचार आदानप्रदानका क्रममा होस् वा अन्य व्यवहारमा ।
म रोएको छु आँसु त्यति सस्तो हँदैन । यो लाजको प्रतीक हो । त्यसैले त वयष्क मानिसहरू खुला रुँदैनन् । १८ वर्षअगाडि बिहे हुँदा मेरी श्रीमतीकी मुमाले उनको हात मलाई सुम्पिँदै ‘पाले पुण्य, मारे पाप’ भन्नुभयो । त्यसबेला वरिपरिका मानिस अनि श्रीमतीको भावुकता देखेर म पनि रोएछु । हातमा रुमालको पोको भएकाले आँसु पुछ्न पाइनँ, झरिहाल्यो । अरूबेला पनि नरुनेचाहिँ होइन । सिनेमा हेर्दा, किताब पढ्दा अनि बिरामी देख्दा पनि कहिलेकाहीँ आँसु झर्छ ।
यसरी बितोस् जीवन
२५ वर्षअघि नेपाल टेलिभिजनमा काम गर्दा सिक्ने चाहना थियो मनभरि । यो जिन्दगीको प्रोसेसको कुरा हो । मैले चिच्याई–चिच्याई भन्ने आफ्नो ठोस दृष्टान्त केही भएजस्तो लाग्दैन । नेपाल र नेपाली भनेपछि अनौठो ऊर्जा जागिरहन्छ मनभित्र । यसरी नै जीवन बितोस् ।
निजी जीवन
व्यक्तिगत जिन्दगी सुखी छ, सायद अरूकै कारणले तर मेरा कारणले अरूचाहिँ सुखी छन्/छैनन्, भन्न सक्दिनँ । तर, परिवारको कारणले नै म निकै खुसी  छु ।
निकै पढन्ते म
म प्रशस्तै पढ्छु । पढ्न थालेपछि खाना खानै बिर्सन्छु । कहिले त पढ्दापढ्दै बिर्सेर दिउँसो ४ बजे अफिस आइपुगेको छु । मलाई जीवन अनि जगत्सम्बन्धी किताब बढी मन पर्छ ।
आत्मवादी म
मलाई अरू कुनै वाद मतलब छैन । आत्मवादमा विश्वास गर्छु । आफ्नो जीवनका सही पक्षहरू अरूलाई बाँड्नु नै आत्मवाद हो ।
मेरा प्रतिस्पर्धी
समकालीनहरूको क्षमता बुझ्न अरूले बनाएका राम्रा/नराम्रा टेलिभिजन सामग्री नियाल्न सक्ने क्षमता राख्नुपर्छ । यसर्थमा व्यक्तिगत, संस्थागत र व्यावसायिक रूपमा सबैतिर प्रतिस्पर्धी मात्रै देख्छु । आफूभन्दा राम्रो मान्छे आए आफ्नो अस्तित्व समाप्त हुन्छ । त्यस कारण प्रतिस्पर्धी छैनन् भनेर चुप बस्ने अवस्था छैन ।
मेरो विश्वास
मैले जानेको टेलिभिजन कर्म हो । यो कर्ममा विभिन्न किसिमका संगत गर्ने मौका पाएँ । ती संगतले सिकाएका लाभकारी कुराहरू यही मुलुकका लागि प्रयोग गर्न पाए आनन्दानुभूति हुन्थ्यो ।
आत्मालाई सुन्छु
हार्डवर्किङ र इन्टेलिजेन्ट स्वभावको छु । काम पनि त्यस्तै गर्छु । मन परेको काम राक्षसजसरी गर्छु । आत्माले नगर भनेको काम गर्दै गर्दिनँ ।
मान्छे कुट्थेँ
पहिलेपहिले मेरो मुखभन्दा हात अगाडि चल्थ्यो । आफूले सोचेजस्तो नभए मान्छे कुट्न मन लाग्थ्यो । त्यस हिसाबले म कुट–नीतिज्ञ हुँ तर अहिले त्यस्तो छैन । वास्तविक कूटनीतिचाहिँ समयले सिकाउँछ । आमजीवनमा धेरै डिप्लोम्याटिक हुनु जरुरी छ जस्तो लाग्दैन । कहिलेकाहीँ आफ्नो औपचारिक भूमिका निर्वाह गर्दा कूटनीतिज्ञ हुनुपर्दो रहेछ ।
मलाई मन पर्ने मान्छे
भिजुअल एडिटर रवीन्द्र पाण्डे, टेलिभिजन लेखक श्रीवत्स राणा । राजनीतिज्ञमा नामै लिनुपर्ने गरी मन परेका कोही छैनन् ।
फुर्सदमा
फुर्सदमा केही नगरेरै बिताउँछु । बिदाको दिन आफू भएर बाँच्न मन लाग्छ । कहिलेकाहीँ नुहाउँदै नहुहाई, कपालै नकोरी, सुत्दा लगाएको कपडै नफेरी, दाँतै नमाझी, फिल्म मात्रै हेरेर बसाँजस्तो लाग्छ ।
आफूलाई कसैसँग दाँज्दिनँ
आफूलाई आमममानिससँग दाँज्दिनँ । आमजीवनमा धेरै विलक्षण प्रतिभा लुकेर बसेका हुन्छन्, जुन परिचित नहुन सक्छ । आमजीवन रमाइलो छ, जुन मैले पाउन सकेको छैन ।
शून्य सेलिब्रिटी
मलाई सेलिब्रिटी शब्द नै खास मन पर्दैन । समाजमा चिनिँदा फाइदै छ तर व्यक्तिगत स्वतन्त्रतचाहिँ शून्यमा पुग्छ ।
सपना
मेरो निर्दिष्ट र पुरानो सपना त्यस्तो केही छैन । सपना प्रतिदिन परिवर्तन हुँदै जान्छन् । सपना पूरा गर्न सपनाकै बाटामा हिँड्नु पर्छ । सपना एकातिर बाटो अर्कातिर भयो भने त्यो विन्दुमा पुग्न सकिँदैन तर समाजमा गहकिलो तरिकाले केही काम गर्न सकूँजस्तो लाग्छ ।
कमाइ
कमाइ पुग्दो हुन्छ । टेलिभिजनका सुरुका दिनमा प्रतिदिन २० रुपियाँ ज्यालादारीमा काम गर्थें । त्यतिबेला पनि पुगेकै थियो । अहिले आमटेलिभिजनकर्मीभन्दा राम्रो तलब खाइरहेको छु । यसले पनि पुगेको मात्रै छ ।
प्रस्तुति : रामहरि पाण्डे

प्रतिक्रिया