जीवनको संक्षेपीकरण

फ्नाबारे लेख्नु साह्रै गाह्रो काम हो । तर, संसारमा लेखिएका छन् । आफ्नो कुरा लेख्नु जति सजिलो हुन्छ, त्यति नै सही कुरा लेख्न गाह्रो हुन्छ ।
म अरूले आफ्नाबारे लेखेका तिनका आत्मकथाहरू जब पढ्छु तिनका संघर्ष, आदर्श र जीवनमा घटेका अकल्पनीय घटनाहरूले द्रवीभूत हुन्छु । ती कति महान् छन् † संसारका लेखक–कविहरू, कलाकारहरू, वैज्ञानिकहरू, जसले असामान्य परिस्थितिबीच नै आफूलाई सफल बनाएका छन् । ओहो † ती कति प्रेरणादायी † तर मसित त त्यस्तो कुनै सम्झनायोग्य घटना नै छैन । के एउटा असल लेखक हुन सामान्य मानिसको जीवनशैलीभन्दा उसको भोगाइ फरक हुनैपर्छ र ? मलाई त्यस्तो लाग्दैन । एउटा सोझो र सरल मानिस पनि असल स्रष्टा हुन सक्छ । जीवनमा घटेका मसिना घटना पनि महान् सिर्जनाको स्रोत बन्न सक्छन् ।
हरेक मानिसले आफ्नो जन्मका बारेमा सबभन्दा पहिले आफ्नै आमा, हजुरआमा, फुपू र दिदीहरूबाट थाहा पाउँछ । आफ्नो बाल्यकालका अवोध क्रीडा वा स्वभावहरू उनीहरूबाटै कुनै राजकुमार–राजकुमारीको कथाझैँ सुन्ने हो । त्यहाँ सत्यको अंश कति छ ? कथा–नायकले कहिल्यै खोज्दैन । माया, ममता मिसिएर बनेका त्यस्ता कथालाई कथा–नायकले सच्याउँदैन । त्यसैले उसको पूर्वकाल उसकै लागि एक सामान्य विश्वास मात्र भइदिन्छ । मेरो बाल्यकाल पनि त्यस्तै हो । पूर्वी पहाडको भोजपुर जिल्लाको दिल्पा भन्ने गाउँको नागी भन्ने लेकको एक घरमा मकैको थाँक्रोमुनि मेरो जन्म भएको रे † सात महिना मात्रै आमाको गर्भमा बसेर यस धर्तीमा आउँदा खर्कबाट गाई–वस्तुहरू आफैँ गोठ फर्किंदै थिए रे † पहाडको संघर्षमय जीवनबीच आमाले मलाई आँधी–हुरी, असिना–पानीबाट बचाउनुभएछ । त्यो लेकमा ढुकुरको बच्चा, सुँगुरको पाठासँगै म पनि हुर्किएँछु ।
तर, ढुकुरको बच्चाको पखेटाका काइँयो राम्ररी नछिप्पी, सुँगुरको पाठोको थुतुनोले राम्ररी खोर उधिन्न नजान्दै, ढुंगा–माटोमा मेरा कुर्कुचा राम्ररी दर्फरिन नपाउँदै परिवारभित्र घरबाझो भएछ । सासु–बुहारी, लोग्ने–स्वास्नी, जेठानी–देउरानी, नन्द–भाउजूबीच गुज्रिने सामान्य अन्तद्र्वन्द्वलाई मेरी आमाले थेग्न सक्नुभएनछ, हामी छुट्टिएछौँ । कहिले बाबाको होल्र्याङ्गे काँध त कहिले आमाको जब्बर किरात्नी काखमा चचहुई खेल्दै म त उदयपुरको सिरुवानी झोडा फाँड्न पो आइपुगेछु । सायद म चार वर्षको थिएँ । त्यसपछिको स्मृति भने मभित्र छ । यसो भनौँ मेरो बुद्धिको बिउ सायद त्यहीँ रोपियो । त्यो घना जंगलमा आमाले बाबाको दौरा–सुरुवाल लगाई हलो जोतेको, बारीको मकै खान आएर बाँदरले दु:ख दिएको, अज्ञानतावश मैले मेरा सुकुम्बासी बाबा–आमाले बनाएको झुप्रो डढाएको, बजार जानुभएको आमा खोज्न हिँड्दा एक रात जंगलमै हराएको, कसले हो उद्धार गरी मोही र मकैको भात खान दिएको अनि सरकारी हात्तीले सारा बस्ती भत्काएको घटना नै मेरा प्रारम्भिक स्मृतिहरू हुन् । मात्रै अढाई वर्ष गुजारेर हामी पुन: भिजेको बिरालाझैँ घर फर्कियौँ । मलाई याद छ, पहाडको घर पुग्दा हामी असिनापानीले पनि निथु्रक्कै भिजेका थियौँ । खासगरी मलायाबाट छुट्टिमा आउनुभएका बडाबाको कडा आदेशमा हामी भोजपुर घर फर्किएका थियौँ । परिवारमा पुनर्मिलन भयो । आमाले अढाई वर्षपछि घर फर्कंदा आफ्नी सासूलाई डेढ वर्षको माइलो नाति कोसेली चढाउनुभयो । छोटो छुट्टी सकेर बडाबा फेरि परदेश लाग्नुभो । यता फेरि बाबु, आमा र हजुरआमा (बोजू) बीच समझदारी कायम रहेन । हामीले घर छोड्नैपर्ने भयो । हामीले घर मात्रै छाडेनौँ, आमालाई बाबाले पनि छाड्नुभयो । फेरि हाम्रा दु:ख र संघर्षका दिन सुरु भए । बाबाले सानीआमा ल्याउनुभयो । आमा अब कान्छो भाइसितै माइतीको शरणमा जानुभयो । मैले र माइलो भाइले हजुरआमाको शरण पायौँ । झन्डै दस वर्ष आमा चुपचाप माइती बस्नुभयो । यही बेला सायद मैले ‘आमाको सपना’ भन्ने कविताको किताब पढेँछु । म पन्ध्र–सोह्र वर्षे लक्काजवान त्यही कविताको हुरी भएर मावला गएँ । आमाको पाउमा परेँ, रोएँ र हातै समाएर घर ल्याएँ । हर्षले हजुरआमा धर्धरी रुनुभयो र बुहारीलाई ग्वाम्लांग अँगालो हाल्नुभयो । केही समयमै मेरो एसएलसीको रिजल्ट आयो । अनि म आफैँ गोपालप्रसाद रिमाल हुन छिरेँ–काठमाडौं ।
०००
काठमाडौं रिमालको कविताजस्तो सरल र रोमाञ्चक थिएन । स्वयं कवि रिमाल पनि थिएनन् । तर, सपनाहरू सर्वत्र थिए । आज काठमाडौं छिरेको २६ वर्ष बितिसकेछ । यो २६ वर्ष मेरा लागि सपनाजस्तै भएको छ । सुरुका वर्षहरू विद्यार्थी भएर बिते । ०४६ सालको आगमनपूर्वका ती दिनहरू जुलुस, भाषण, गीत, कवितासित गुज्रियो । यही समय भारतको मेघालयबाट नेपालीहरू लखेटिएको विरोधमा विद्यार्थीहरू सडकमा निस्किए । यही घटनामा म पहिलोपल्ट प्रहरीद्वारा पक्राउ परेँ । हनुमानढोकामा दुई रात थुनिएर निस्कँदा आफूलाई ठूलै नेता भएको भ्रम पर्‍यो । तर, त्यो भ्रम धेरै टिकेन । अधिकांश साथीले चाहँदा चाहँदै पनि टीके प्रथाबाट स्ववियुको चुनावमा अर्का मित्रले टिकट उछिट्याएपछि मेरो राजनीतिमा प्रवेश गर्ने सम्भावना सदाका लागि समाप्त भयो । अब मैले आफूलाई पूर्णरूपमा साहित्यको विद्यार्थी बनाएँ ।
गाउँको स्कुलबाटै लेख्न थालेको, ठूला साहित्यकारका प्रसिद्ध कृतिहरू केही छिचोलिसकेको मैले अब ती साहित्यकारलाई यो भीमकाय सहरमा खोज्न थालेँ ।
आफ्नै समकालीन साथीहरूको झुन्ड तयार हुन थाल्यो । सिद्धिचरण, पारिजात, रमेश विकल, तारानाथ शर्मा, मोहन कोइराला, वैरागी काइँला, ईश्वरवल्लभ, तुलसी दिवस, मोदनाथ प्रश्रित, अभि सुवेदी, वासु शशी, माधव घिमिरे, विक्रम सुब्बा, विमल निभा, ध्रुवचन्द्र गौतम, विष्णुविभु घिमिरे, अशेष मल्ल, दिनेश अधिकारी, शैलेन्द्र साकारजस्ता अग्रज स्रष्टासित भेटेपछि मेरा खुट्टाले भुइँ छाड्न थाले । अब मेरो गन्तव्य कवि गोष्ठी, सभा–समारोह हुँदै ती ठूला स्रष्टाका घर–दैलो पनि हुन थाले । अर्कातिर नयाँ–नयाँ साथीसित भेटघाट र चिनजान बाक्लियो । आफ्नै समकालीन साथीहरूको झुन्ड तयार हुन थाल्यो । एक अर्कालाई नयाँ रचना सुनाउन, रक्सी खान र अनुपस्थितिमा छाला काढ्न हाम्रो झुन्ड माहिर भयो । रमेश क्षितिज, रमेश केसी, विप्लव ढकाल, रमेश पौडेल, खुमनारायण पौडेल, पुष्पहरि क्याम्पाराई, शान्तिराम राई र म यस कार्यमा ज्यादै सक्रिय भयौँ । अर्कातिर गीतको दुनियाँ पनि थियो । धेरै गायक–गायिका र संगीतकारसित मैले उठबस र सहकार्य गरेँ । त्यतिबेला रेडियो नेपाल एक मात्र संगमस्थल थियो । आफ्ना काका बुलु मुकारुङको नाम तानेर मैले धेरै गीत बेचँ, जसको परिणामस्वरूप झन्डै अढाई सय रेकर्डेड गीतहरूको स्रष्टा हुने मौका मिल्यो । केही गीतले त चर्चाको सीमा नै नाघ्यो । कुन्तीले गाएको ‘माथि–माथि सैलुङ्गेमा…’, पवित्र सुब्बाले गाएको ‘तिमी तारेभीर…’, शम्भू राईले गाएको ‘बाटो हेरे हुन्छ आमा’जस्ता गीतहरूले मलाई अब परिचयको कुनै कमी भएन । नातिकाजी, शिवशंकर, तारादेवी, अरुणा लामा, नारायणगोपाल, गोपाल योञ्जन, अरुण थापाजस्ता दिवंगत स्रष्टाहरूको समेत कति सजिलै म प्रिय भाइ भएँ ।
लेख्नु मात्रै सबैथोक होइन रहेछ । भेटघाट, छलफल, संवाद र सम्बन्धहरूले पनि एउटा आकार ग्रहण गर्दोरहेछ र त्यसले समाजमा केही न केही सन्देश दिनेरहेछ । अझ एउटा निमार्णाधीन कविका लागि त यो साह्रै ठूलो शक्ति पो हुँदोरहेछ । आफूलाई ‘म के गर्दै छु ?’  ‘कहाँनिर छु ?’ भन्ने बुझ्न र आत्मविश्वास आर्जन गर्न सायद मैले यस्तो सम्बन्ध विस्तार गरेँ ।
मेरो आर्थिकस्थिति कहिल्यै राम्रो भएन । गाउँबाट खर्च आउने कुरै थिएन । केही महिना त काकाजीको शरणमा रहेँ । तर, उहाँकै पनि त स्थिति कमजोर थियो । त्यसैले मैले सानो–तिनो जागिर खान धेरैका ढोका ढकढक्याएँ, सफल भइएन । ०४९ सालमा हुनुपर्छ, एक दिन बाटोमा कविवर मोहन कोइरालासित भेट भयो । नमस्कार गरेँ । उहाँले ‘कता हिँडेको ?’ भनी प्रश्न गर्नुभयो । मैले ‘त्यत्तिकै’ भनेँ, अचानक उहाँले ‘काम गर्छौ ?’ भन्नुभयो । मेरो सातो गयो । भोलिपल्टदेखि नै उहाँको सहायक भई प्रज्ञा भवनमा काम थालेँ । उहाँको अवकाशसँगै मेरो उठिबास भयो । त्यसपछि मैले जागिरको चक्कर त्यागेँ । यसबीचमै मैले काठमाडौं छाड्ने निर्णय गरेँ । गाउँ गएँ । फर्किएँ । जीवन त आरोह–अवरोहले नै सुन्दर हुन्छ कि † आफूलाई परिस्कृत गर्न पनि मलाई मेरो बे–ठेगानीले सघाएको छ भन्ने लाग्छ । हेर्दै जाउँ–अरू के–के भोग्नुछ ।
म र बिसे नगर्चीको बयान
०६२/६३ को जनआन्दोलनताका कविता लेखियो । त्यो पनि ‘स्वतन्त्र रेडियो बचाऊ’ आन्दोलनको करमा । रघु मैनालीको आग्रहमा ‘सिद्धार्थ आर्ट ग्यालरी’मा कविता सुनाउनैपर्ने भएपछि सधँै ‘कति पुरानै कविता सुनाउनु’ भन्ने लागेर राति तीन बजे लेखिसकेँ र बिहान ६ बजे कार्यक्रमस्थल पुगियो । सहरका नामुद कविहरूले सुनाइसकेपछि मेरो पनि पालो आयो । थोत्रो कागजमा साफी नै नगरेको कविता सुनाएँ । कविता के सुनाइसक्नु अग्रज कवि केदार शर्माले हातैबाट कविता खोस्दै भने ‘परिमार्जन त के कमा, पूर्णविराम पनि चलाउन पाउँदैनस् †’ उनैले कविता नेपाल पत्रिकामा पुर्‍याए । कविता तानातान भयो । म बबुरोलाई ठूलो आन्दोलनकारी बनाइयो । गुरुकुलदेखि बानेश्वर, प्रज्ञा भवनदेखि वसन्तपुर डबली हुँदै कतार र हङकङसम्म बिसे नगर्ची सुनाएँ । नेपालमा त कहाँ–कहाँ र कतिपटक सुनाउन पुगियो, हिसाब छैन । यसैबीचमा एउटा ठूलो परिवर्तनपछि तीनवटा प्रज्ञा–प्रतिष्ठान गठन भयो । पहिलो प्राज्ञ–सभा गठनविधि नमिलेको भन्दै खारेज गरियो । दोस्रोपटक गठन भएको संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान सभा–सदस्यमा पुछारतिर मेरो पनि नाम आयो । धेरै साथीभाइ र शुभचिन्तकले बधाई दिए । तर, केही मित्रहरूले आश्चर्य र दु:ख व्यक्त गरे–साहित्यको मान्छेलाई कता संगीत–नाट्यतिर राखेको होला ? अनि केही रहस्यदर्शी मित्रहरूले चाहिँ भने– तिमी त समोसा प्राज्ञ पो भएछौ । मैले कुरा बुझेँ । समोसा प्राज्ञ भनेको वर्षको दुईपल्ट गरिने सभामा जाने ताली पड्काउने समोसा खाने र फर्किने । ठीकै छ । यो धर्तीमा सबै मानिसको भूमिका एउटै भयो भने संसार कसरी चल्छ ? तर, यसको गठनविधिमै पुनर्विचार गर्न जरुरी छ भन्ने आवाज आज सर्वत्र उठिरहेको छ । पञ्चायतकालकै विभेदकारी संरचनालाई आधार मानेर निर्माण भएको ऐनको व्यापक सुधारविना प्राज्ञ हुनुको गौरव कसैले गर्ने देखिँदैन । पहिले राजाले प्राज्ञ बनाउँथे । अहिले नेताले बनाउँछन् । कुन प्राज्ञ कुन नेताको हो ? प्रस्टै चिनिन्छ । त्यसैले प्राज्ञ हुँदा गौरवानुभूति गर्नुपर्ने तर आज कसैले ‘प्राज्ञ’ भनी बोलाउँदा ग्लानी, अल्छी र हीनताबोध पो हुन्छ । तर, ‘कविजी’ भनेर सम्बोधन गर्दा छाती फुलेर आउँछ । किनभने कवि हुनुमा कविले कुनै तिकडम गरेको हुँदैन । त्यसैले म ‘समोसा–प्राज्ञ’ होइन ‘कविजी’ हुँ ।
०००
कवि भई खान कति गाह्रो छ भन्ने बुझ्न उसले विवाह गर्नुपर्ने रहेछ । मैले पनि विवाह गरेँ । छोराछोरी, घरपरिवार सम्हाल्दै कविता लेख्ने पो लेख्ने † संसारका ती महान् तर अव्यावहारिक कवि/लेखकहरू, जसले आफ्नो काव्यकर्मका लागि परिवार, समाज त्यागे । आज मलाई तिनको महानताप्रति शंका गर्न मन लागिरहेछ । यशोधराविनाको बुद्ध के बुद्ध ? भन्ने तर्क मभित्र बलियो हुँदै छ । यो अनुभूति लेखिरहँदा पनि दुई आँखाजस्तै मेरी दुई कलिला छोरीहरूसित कलम, कापी खोसाखोस गर्दै छु । तिनलाई फकाउन सम्भव छैन । त्यसैले तिनलाई रुवाएरै यो लेख लेखिरहेछु । यसरी लेखिसक्दा हुने अनुभूति जसलाई शब्दमा व्यक्त गर्न सकिन्नँ, म त्यस्तो अनुभूतिको पक्षमा छु ।

प्रतिक्रिया